NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

हारको धङधगी : नेइमारले डोनारुमालाई दोष थोपरेपछि…

काठमाडौं । स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टफाइनलबाटै बाहिरिएको छ । यससँगै अहिले पिएसजीका खेलाडीको आलोचना भइरहेको छ ।

बिहीबार राति रियल म्याड्रिडसँग पराजित भएसँगै ड्रेसिङ रुममा जाने क्रममा टनेलमै खेलाडीहरूबीच झगडा भएको स्पेनिस मिडियाहरूले जनाएका छन् ।

फरवार्ड नेइमार र गोलकिपर जियानलुइजी डोनारुमाबीच भनाभन भइरहेको भिडियो केही मिडियाले सार्वजनिक गरेका छन् । जसमा नेइमारले डोनारुमालाई गाली गरिहेको देख्न सकिन्छ ।

डोनारुमाको गल्तीका कारण करिम बेज्नेमाले पहिलो गोल गरेको नेइमारले आरोप लगाए । सोही गोलपछि पिएसजीले लय गुमाएको भन्दै यसको जिम्मेवार डोनारुमा रहेको बताएका थिए । त्यसपछि डोनारुमा पनि आक्रोसित भएका थिए । त्यसपछि दुईबीच भनाभन भएको थियो ।

यस घटनालाई लिएर नेइमार र डोनारुमा सामाजिक सञ्जालको च्याटमा पनि झगडा गरेको विषय बाहिरिएको छ ।

त्यस्तै, पिएसजीका अध्यक्ष नासेर अल–खेलाइफी र मिडिफिल्डर लियान्द्रो परेडेस पनि खेल सकिएपछि रेफ्रीमाथि खनिएका थिए । रेफ्रीका कारण पिएजी हारेको उनीहरूको भनाइ थियो ।

आक्रोशित भएका उनीहरूले रेफ्रीको सामान तोडफोड गरेका थिए ।

अन्तिम १६ को दोस्रो लेगमा पिएसजी स्पेनिस क्लब रियलसँग बुधबार राति ३–१ ले पराजित भएको छ । पहिलो लेगमा भने पिएजी १–० ले अगाडि थियो ।

रियलले समग्रमा ३–२ ले खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।