NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

युद्धबाट रुस र युक्रेन बर्बाद, अमेरिका मालामाल

काठमाडौं । रुस–युक्रेन युद्धबाट यतिबेला कुनै राष्ट्रलाई फाइदा भइरहेको छ भने त्यो अमेरिका र चीनलाई भइरहेको छ । अहिले रुसले युद्धका लागि दैनिक करोडौं डलर खर्च गरिरहेको छ । १६ दिन बितिसक्दा पनि युक्रेनमाथि कब्जा जमाउन नसकेको रुसका लागि युद्ध जति–जति लम्बिँदै गइरहेको छ, उति–उति खर्चको पारो चढ्दैछ ।

यतिबेला रुसमाथि अमेरिका र युरोपलगायतका पश्चिमा मुलुकहरूले आर्थिक, बैंकिङ र व्यापारिक प्रतिबन्ध लगाएका छन् । यही कारण रुसी मुद्रा रुबलको भाउ पचास प्रतिशतभन्दा तल घटिसकेको छ । यसले रुसलाई विस्तारै कमजोर बनाउँदैछ । भू–राजनीति र भू–रणनीतिका ज्ञाता विश्लेषक अरुणकुमार सुवेदीका शब्दमा रुस कमजोर हुनु भनेको चीन र अमेरिकालाई फाइदा हुनु हो ।

‘रुस कमजोर हुनासाथ चीनले आफूसँग भएको युआन र डलर सञ्चितीबाट सहजै रुसको तेल र ग्यास किन्नसक्छ । रुससँग जोडिएका सीमामा चीनको सुरक्षा बजेटमा पनि कटौती हुनसक्छ । किनकि, रुस कमजोर हुनासाथ चीनमाथिको उसको सामरिक र रणनीतिक दबाब कमजोर हुन्छ । यसबाट दक्षिण चीन सागर र पूर्वी चीन सागरमा चीन बढी केन्द्रित हुन पाउनेछ,’ सुवेदी भन्छन् ।

युद्ध लम्बिँदै जाने हो भने युक्रेन ध्वस्त हुनेछ, रुस आर्थिक रूपमा निकै कमजोर हुनेछ र यसको समष्टिगत फाइदा अमेरिकालाई र रहल पहल फाइदा चीनलाई हुनेछ

अमेरिका र पश्चिम युरोप पहिलेदेखि नै रुसलाई कमजोर भएको हेर्न चाहन्थे । अमेरिका बितेका तीन दशकमा युद्ध राजनीतिमा अलमलियो । इराकदेखि अफगानिस्तानसम्म युद्धमा अल्झिँदा अमेरिकाले धेरै जनधनको क्षति व्यहोर्नुपर्‍यो । राष्ट्रपति जो बाइडेन प्रशासनले युद्धमा अल्झिनुभन्दा अरूको युद्धमा रमिते बनेर लाभ लिनु नै फाइदाजनक हुने नीति लिएको देखिन्छ ।

यसै कारण अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लग्यो, अहिले रुस–युक्रेन युद्धमा पनि अमेरिका भौतिक होइन, मौखिक ‘युद्ध’मै सीमित छ । यसले गर्दा नाटो राष्ट्रहरूप्रति युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीमा एकखालको आक्रोश पनि देखिन्छ ।

अमेरिका मालामाल

रुस–युक्रेन युद्धबाट अमेरिकालाई भने लाभै–लाभ भइरहेको छ । अमेरिकी रक्षा कम्पनीहरू हतियार आपूर्ति गरेर अर्बौैं डलर कमाइरहेका छन् । ‘एसिया टाइम्स’को रिपोर्ट अनुसार, यो युद्धबाट रक्षाको क्षेत्रमा ठूलो खर्च सुरु भएको छ । युरोपियन युनियनले हालै ४५ करोड युरोको हतियार खरिद गर्ने र युक्रेनलाई दिने घोषणा गरेको छ ।

उता, अमेरिकाले पनि युक्रेनलाई ३५ करोड डलरको अतिरिक्त सैन्य सहयोग गर्ने बताइरहेको छ । यसअघि अमेरिकाले ६५ करोडको सैन्य सहायता युक्रेनलाई दिएको थियो । यसरी हेर्दा अमेरिका र नाटो देशले १७ हजार एण्टी ट्यांक हतियार र २ हजार स्टिंगर एण्टी एयरक्राफ्ट मिसाइल पठाउँदैछन् । युक्रेनका लागि नाटो देशले खरिद गर्ने हतियार आपूर्तिका लागि अमेरिकी रक्षा कम्पनीलाई भ्याई नभ्याई छ । आखिर, फाइदा कसलाई ? अमेरिकालाई ।

यति मात्र होइन, युक्रेनमा रुसविरुद्ध विद्रोही गुट जन्माउन ब्रिटेन, अस्ट्रेलिया, टर्की र क्यानाडाको नेतृत्वमा एक अन्तर्राष्ट्रिय गठबन्धन हुँदैछ । यी सबै तयारीबाट विश्वका दिग्गज हतियार निर्माता कम्पनी मालामाल हुँदैछन् । अमेरिकी कम्पनी रेथियान स्टिंगर मिसाइल बनाउँछ । यसका साथै रेथियान लकहिट मार्टिनसँग मिलेर जेवलिन एण्टी ट्यांक मिसाइल पनि अमेरिकी कम्पनीले नै बनाउँछ, जुन मिसाइल अमेरिका र अन्य नाटो देशले युक्रेनलाई दिएका छन् ।

युक्रेनमाथि रुसको आक्रमणलगत्तै लकहिट र रेथियान मिसाइलको शेयर मूल्य १६ प्रतिशतसम्म वृद्धि भएको छ । यस अतिरिक्त ब्रिटेनको कम्पनी ‘बिएई सिस्टम’को शेयर मूल्य पनि २६ प्रतिशतले बढेको छ । यी कम्पनीहरू अब आफ्ना निवेदकलाई सम्भावित आम्दानीबारे जानकारी दिइरहेका छन् ।

रेथियान कम्पनीले २५ जनवरीमै घोषणा गरेको थियो कि युएईमा ड्रोन हमला र साउथ चाइना सीमा तनावको ख्याल गर्र्दै रक्षा खर्च बढाउन गइरहेको छ, जसबाट कम्पनीलाई फाइदा हुनेछ । युक्रेनमा युद्ध सुरु भएपछि जर्मनी र डेनमार्क दुवैले रक्षा बजेट बढाउने घोषणा गरिसकेका छन् । रक्षा बजेट बढ्नुको अर्थ हो, हतियार खरिदको क्रम बढ्नु । हतियार खरिद बढ्नु भनेको अमेरिकी रक्षा कम्पनी मालामाल हुनु हो ।

हतियार उद्योगको कुरा गर्ने हो भने अमेरिका विश्वमै सबैभन्दा अग्रपंक्तिमा छ । सन् २०१६ देखि २०२० सम्म विश्वमा बिक्री भएका कुल हतियारमध्ये ३७ प्रतिशत अमेरिकाले बेचेको थियो । यसपछि रुसको २० प्रीतशत, फ्रान्सको ८ प्रतिशत, जर्मनीको ६ प्रतिशत र चीनको ५ प्रतिशत हतियार बिकेका थिए ।

यी निर्यातकर्तामध्ये अन्य कतिपय देश छन्, जो यो भिषण युद्धमा मजाले कमाइ गरिरहेका छन् । यसमा टर्की सबैभन्दा अगाडि छ । रुसको आपत्तिपछि पनि टर्कीले युक्रेनलाई आफ्नो घातक हमलावर ड्रोन विमान पठाइरहेको छ । यसबाट टर्कीको हतियार उद्योग चम्किरहेको छ । त्यसैगरी इजरायलको रक्षा उद्योगले पनि जमेरै कमाइरहेको छ ।

रुसलाई व्यापक क्षति

उता, रुसलाई यो युद्धबाट झड्का लागेको छ । पश्चिमा देशहरूको प्रतिबन्धका कारण रुसको रक्षा उद्योगले धेरै क्षति भोग्नुपर्नेछ । रुसबाट भारतले लगातार आफ्ना हतियार खरिद घटाइरहेको छ । अमेरिकाले पनि भारतमाथि दबाब दिइरहेको छ कि रुसबाट हतियार खरिदलाई भारतले अझ कम गरोस् । यस्तोमा रुसलाई हतियारका लागि कच्चा माल खोज्न पनि निकै मुस्किल परिरहेको छ । रुसी हतियारको कमीबाट अब हतियार बजारमा अमेरिका र पश्चिमी देशको कब्जा बढ्न सक्नेछ ।

यति मात्र होइन, अमेरिकी प्रतिबन्धका कारण रुसलाई अमेरिकाको शरणमा जान बाध्य हुनुपर्नेछ । यसबाट रुस बेइजिङको ‘जुनियर पार्टनर’ बन्नेछ । यसका अतिरिक्त चीन अब खाडी देशमा हतियारको बिक्री बढाउन सक्नेछ । हालै चीनले युएईबाट हतियारको ठूलो अर्डर पाएको छ । यसरी हेर्दा यो युद्धबाट युक्रेन र रुस बर्बाद भइरहेका छन्, उता पश्चिमी मुलुक र चीन मालामाल हुँदैछन् ।

युक्रेन युद्धका क्रममा रुसको हतियार कमजोर देखिँदैछ । अमेरिकी जेवलिन मिसाइलले रुसी ट्यांकलाई सहजै शिकार बनाइरहेका छन् । यसैगरी स्टिंगर मिसाइलचाहिँ रुसी फाइटर जेटको काल बनिरहेका छन् । रुसी हतियारको यसखालको घटिया प्रदर्शनबाट यसको कारोबारमा मन्दी आउने खतरा बढेको छ ।
यति मात्र होइन, रुसी हतियारमा निर्भर भारतमा पनि चिन्ता बढेको छ । चीन र पाकिस्तानजस्ता शत्रुबाट घेरिएको भारतलाई आफूले आयात गर्ने रुसी हतियारको कमजोर अवस्थाबाट चिन्ता बढ्नु स्वभाविक हो ।

‘एसिया टाइम्स’का अनुसार रुस विश्वभर गहुँ, तेल, प्राकृतिक ग्यास र हतियारको मुख्य निर्यातकर्ता हो । युक्रेन युद्धअघि रुसको हतियारको बिक्री उत्कर्षमा थियो र ऊसँग ५५ अर्ब डलरको अर्डर पनि थियो । पश्चिमी देशको तुलनामा रुसले निकै सस्तोमा कैयौं देशलाई हतियार दियो । जसमा एस–४०० जस्ता हतियार पनि थिए, जुन प्रतिस्पर्धामा अगाडि थिए । तर युक्रेन युद्धपछि रुसको हालत बदलिएको छ ।

रुसको ट्यांक, फाइटर जेट, हेलिकोप्टर र मोबाइल एयर डिफेन्स सिस्टम अहिले युक्रेनी आक्रमणबाट सहजै ध्वस्त भइरहेका छन् । युक्रेनमा रुसी हतियारको यस्तो बर्बादीलाई मस्कोबाट हतियार किन्ने देशहरूले निकै सजगताका साथ हेरिरहेका छन् । यसबाट अब रुसी हतियारको बिक्रीको सपनामा रुसलाई ठूलो झड्का लाग्दैछ । यसअघि रुसी हतियारयुक्त आर्मिनियाले अजरबैजानको हाइब्रिड सेनासँग हारेपछि पुटिन सरकार कमजोरीको आरोपबाट बल्ल–बल्ल मुक्त भएको थियो ।

अजरबैजानको सेनालाई रुस, इजरायल र टर्की तीनवटै देशले हतियार आपूर्ति गरेका थिए । नगर्नो कराबाखको युद्धमा इजरायली र टर्की हतियार र बमबाट लेस ड्रोनले
आर्मिनियाको एयर डिफेन्स सिस्टम, राडा र मिसाएल लञ्चरलाई बर्बाद गरिदिएको थियो ।

आर्मिनियाका धेरैजसो हतियार रुसबाट आयातीत थिए । यो युद्धपछि मानिसहरूलाई लागेको थियो, युक्रेन युद्धका क्रममा रुसले ड्रोनविरुद्ध आफ्नो रक्षा तयारीलाई बलियो बनाउनेछ । रुसले युक्रेनका केही ड्रोन विमानहरूलाई खसालेको भए पनि ठूलो संख्यामा ड्रोनहरूले रुसी सेनामा बिध्वंश मच्चाइरहेका छन् । पाकिस्तानले पनि अब टर्कीबाट टिबी–२ नामक ड्रोन विमान किन्दैछ ।

यसरी हेर्दा रुसी हतियार कमसल सावित हुँदै जानु, रुस आफैं युद्धमा होमिनु र उता अमेरिकाका हतियारहरूको कारोबार बढ्दै जानु । सम्भवत यसै कारण चीन र अमेरिका दुवै यो युद्ध लम्बियोस् भन्ने चाहन्छन् ।

अमेरिकाको पुरानै धन्दा

हतियारको कारोबार अमेरिकाको पुरानै धन्दा हो । अमेरिका यस्तो देश हो, जो विभिन्न बहानामा विश्वका विभिन्न मुलुकमा युद्ध मच्चाउँछ र हतियारको कारोबार गर्छ । इराकमा ‘जैविक हतियार’को आशंकामा अमेरिकाले युद्ध रचायो । हजारौं मानिस मरे, शहरहरू ध्वस्त भए । सद्दाम हुसेनलाई मृत्युदण्ड दिइयो । तर न त जैविक हतियार फेला पर्‍यो, न अमेरिकाले इराकमाथिको आक्रमणको औचित्य सावित गर्‍यो ।

बरु, हतियार कम्पनीहरू मालामाल भए । यद्यपि, मान्छेको मृत्युको बदला कमाएको पैसा अमेरिकालाई फापेन । अमेरिकाभित्रै अहिले अन्तर्विरोधहरू चर्किएको छ । अमेरिकी समाज एकखालको मानसिक तनाव र द्वन्द्वमा फसेको छ ।

तैपनि, अहिले पनि अमेरिकाको आर्थिक आयको ठूलो हिस्सा हतियार बिक्री नै हो । स्विडेनस्थित सोध संस्थान सिपरी (स्टकहोम इन्टरनेशहनल पीस रिसर्च इन्स्टीच्युट) का अनुसार सन् २०१५ देखि २०१९ को अवधिमा हतियारको बिक्रीमा बितेका पाँच वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ । विश्वभरि हतियार बिक्रीको ३६ प्रतिशत अमेरिकाकै कम्पनीबाट भयो । अमेरिकाले ९६ देशलाई हतियार बेच्यो ।

सबैभन्दा बढी हतियार खरिद गर्ने देश साउदी अरब थियो, जसले कुल व्यापारको १२ प्रतिशत हतियार किन्यो । सिपरीका वरिष्ठ रिसर्चर पिटर वेजमनले भनेका छन्, ‘बितेका पाँच वर्षमा हतियारको बिक्रीमा नियमित वृद्धिसँगै अमेरिकाको प्रभुत्त्व बढ्दै गएको छ । अमेरिका नै अहिले विश्वमा हतियारको मुख्य आपूर्तिकर्ता हो ।’

अमेरिकी हतियार बिक्रीको आधा हिस्सा पश्चिम एसियाली मुलुकमा गयो, जहाँ एक्लै साउदी अरबले २० प्रतिशत अमेरिकी हतियार किन्यो । साउदी अरबबाहेक बेलायत र फ्रान्सले पनि हतियार किने । पिटर वेजमेनका अनुसार बितेका पाँच वर्षमा अमेरिकी हतियारको केही महत्त्वपूर्ण आपूर्तिको सम्झौता अमेरिकी राष्ट्रपति बाराक ओबामाको पालामा भएको थियो ।

तर, २० प्रतिशत बिक्रीका साथ अहिलेसम्मको विश्वकै दोस्रो ठूलो हतियार निर्यातक रुसचाहिँ पछि पर्दै गइरहेको सिपरीको रिपोर्टमा उल्लेख छ । सन् २०१० देखि २०१४ को बीचमा रुसी हतियारको बिक्रीमा १८ प्रतिशत गिरावट आएको छ । पाँच वर्षको अवधिमा रुसले ४७ देशलाई हतियार बेच्यो, जुन भारत, चीन, अल्जेरिया निर्यात गरियो ।

तर केही समयदेखि रुसको हतियारको कारोबारमा आएको मन्दीका कारण हतियार कारोबारमा अमेरिकाकै एकछत्र रजगज हुने देखिन्छ, जसलाई रुस–युक्रेन युद्धले अझ बढाइदिएको छ । युद्ध लम्बिँदै जाने हो भने युक्रेन ध्वस्त हुनेछ, रुस आर्थिक रूपमा निकै कमजोर हुनेछ र यसको समष्टिगत फाइदा अमेरिकालाई र रहल पहल फाइदा चीनलाई हुनेछ ।