NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कांग्रेसमा ७७ वटै जिल्लामा एकसाथ सुरु हुँदै चुनावी अभियान

काठमाडौं । कांग्रेसले आजबाट ७७ वटै जिल्लामा एक महिने चुनावी अभियान सुरु गर्दैछ । आजबाट चैत २९ सम्म कांग्रेसले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्ने तयारी स्वरुप अभियान गर्न लागेको हो ।

कांग्रेसले यसपटकको अभियानलाई घरघर जाऔं, कांग्रेस जिताऔं नाम दिएको छ । जुन कार्यक्रम अनुसार प्रदेशदेखि टोलसम्म नेता कार्यकर्ता पुगेर पार्टीका पक्षमा माहोल बनाउने कांग्रेसको भनाई छ ।

दिउसो १ बजे सभापति शेरबहादुर देउवाले केन्द्रबाट यो कार्यक्रमको सुरुवात गर्ने जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।

कांग्रेसले केन्द्रीय प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्रीय समिति, प्रदेश क्षेत्र, पालिका, वडा र टोलसम्मकै कार्यसमितिहरूलाई जिम्मेवारी दिएरै अभियानमा उतार्ने भएको छ ।

यसका लागि कांग्रेसले घोषित रुपमा कार्यक्रम घोषणा गरेर जनताको घरदैलोसम्मै पुग्ने रणनीति लिएको प्रवक्ता महत बताउँछन् ।

अभियान अन्तर्गत अघिल्लो सरकारले गरेका गलत कदमको भण्डाफोर, कांग्रेस सरकारले गरेका प्रभावकारी कामको प्रचार, स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने आधार, एमसिसीबारे सकारात्मक पक्ष बुझाउनेसहितका कार्यक्रम समेटेको छ ।

पार्टीले केन्द्रीय नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर जिल्ला जिल्ला खटाएको हो । जिल्लाबाट आउँदा उनीहरूले प्रतिवेदनसमेत बुझाउनुपर्नेछ ।