NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आत्मविश्वास बढाउने उपाय

हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुन चाहन्छ । सफल हुन आत्मविश्वास उच्च हुनुपर्छ । कुनै काम गर्न होस् या कुनै विषयमा निर्णय लिनका लागि मानिसको मनोबलले महत्वपूर्ण भूमिका खेल्छ । यदि व्यक्तिको आत्मविश्वास बलियो छ भने जुनसुकै काममा सफलता हात पर्न सक्छ । आत्मविश्वास बढाउन निम्न उपाय अपनाउन सकिन्छः

१) नकारात्मक विचारबाट टाढा रहने
आत्मविश्वास बढाउने उपायमा सबैभन्दा पहिला आउँछ सकारात्मक विचार । मन नकारात्मक विचारले भरियो भने आत्मबल कमजोर हुन थाल्छ । जीवनका केही घटना जस्तैः सम्बन्ध टुट्नु, लामो समयसम्म बिरामी हुनु, जागीर नहुनु, यी सबैले नकारात्मक विचार आउन सक्छ । यस्तो परिस्थितिमा आफू भित्र सकारात्मक विचार ल्याउने प्रयास गर्नुपर्छ ।

२) मनोबल बढाउने व्यक्तिको संगत गर्ने
आफू जोसँग सहज भइन्छ उसैसँग समय बिताउनुपर्छ । यसले मनोबल उच्च राख्न सहयोग पुर्याउँछ । यस्तो अवस्थामा आफ्नो नकारात्मक विचारसँग पनि लड्न सहयोग पुग्छ । धेरै गाली गर्ने, निच देखाउने, अपमान गर्ने किसिमका मानिसबाट टाढा रहनुपर्छ । यस्ता व्यक्तिको कुरा सुनेर आत्मविश्वास घट्छ ।

३) आफ्नो क्षमता चिन्ने
हामी सबैमा केही न केही क्षमता अवश्य हुन्छ । मात्र यसको पहिचान गर्न सक्नुपर्छ । आत्मविश्वास घट्नुको मुख्य कारण हामी स्वयंलाई खराब सम्झिनु पनि हो । यसबाट बाहिर निस्किनका लागि आफ्ना राम्रा गुण चिन्न सक्नुपर्छ ।

४) उपलब्धि याद गर्ने
जीवनमा हासिल भएका उपलब्धि सम्झिँदा यसले हाम्राे आत्मबल बढाउन सहयोग गर्छ । व्यक्तिले आफ्नो मूल्य बुझ्छ । एक डायरीमा आफ्ना उपलब्धि र यससँग सम्बन्धित तस्बिर राख्नुपर्छ र जतिबेला आत्मविश्वास कम भएको जस्तो महसुस हुन्छ त्यतिबेला तपाई डायरी हेर्न सक्नुहुन्छ ।

५) गल्ति गर्न नडराउने
गल्ति गर्न कुनै अपराध होइन । यसकारण गल्ति भए आत्तिनु हुँदैन । कोही व्यक्ति पहिलोपटक कुनै काम गर्छ भने उसबाट गल्ति हुनु स्वभाविक हो । यसकै कारणबाट गल्ति गर्न नडराउनुहोस, मानिसले गल्तिबाटै सिक्ने हो । एकपटक भएको गल्ति पटक पटक दोहोर्याउनु हुँदैन ।

६) ज्ञान बढाउने
आत्मविश्वासका लागि ज्ञान अत्यावश्यक  छ । जुन विषयमा जति ज्ञान हुन्छ त्यति नै हाम्राे आत्मबल बढ्छ । ज्ञानका लागि किताब, म्यागजिन, पत्रिका वा इन्टरनेटको सहयोग लिन सकिन्छ । विशेष गरी आफ्नो करिअर बढाउने सम्बन्धमा पनि ज्ञान बढाउन सकिन्छ । अनुभव र ज्ञानको आधारमा आत्मविश्वास विकसित हुन्छ । यो तरिका आत्मविश्वासका लागि निकै काम आउन सक्छ ।