NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

नेपालको जितमा कसको कति योगदान ?

काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

२०५ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ ४ बल बाँकी छँदै पूरा गरेको हो ।

यसअघि पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०४ रनको मध्यम लक्ष्य दिएको थियो ।

कसले कस्तो खेले ?

नेपालको जितमा ब्याटिङतर्फ रोहित पौडेल नेपालको सर्वाधिक रनकर्ता बने । उनले ८५ बल खेल्दै ४ चौकाको मद्दतमा अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । रोहित खेलको प्लेयर अफ दि म्याचसमेत भए ।

यस्तै, आरिफ शेखले पनि अर्धशतकीय पारी खेल्ने क्रममा २ चौकासहित ५३ रन जोडे । उनले ८१ बल खेले ।

नेपाललाई जित दिलाउन अन्तिम छक्का प्रहार गरेका करण केसीले २५ बलमा २९ रन बनाए । सोक्रममा उनले २ छक्का र १ चोका हिर्काए ।

यस्तै, ओपनर आसिफ शेखले ४० बलमा १ चौकासहित १६ रन बनाए भने विनोद भण्डारीले ११ रन जोडे ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ८ रनको योगदान दिँदा ज्ञानेन्द्र मल्लले ४ रन जोडेका थिए ।

यसअघि, ओपनर कुशल भुर्तेल १ रनमै आउट भएपछि नेपाल दबावमा परेको थियो । त्यसलाई रोहित र आरिफले सम्हालेका थिए ।

यसैगरी, करण र सोमपालले अन्तिम समयमा नेपालको जितको आशा जीवितै राखेका थिए । करणले अन्तिमसँग टिकेर नेपाललाई जित दिलाएका थिए ।

१० औँ क्रममा क्रिजमा आएका कप्तान सन्दीप लामिछानेले भने कुनै बल खेल्न पाएनन् । तर उनले करणलाई स्ट्राइक दिन सहयोग गरेका थिए ।


बलिङतर्फ सोमपाल चम्किए । उनले ३ विकेट लिए । यस्तै, आरिफ, सन्दीप र ज्ञानेन्द्रले समान १ विकेट लिए ।

दीपेन्द्रले सबैभन्दा किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् ।

पपुवा न्युगिनीविरुद्ध नेपालको रोमाञ्चक जित