NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

चुनाव नजिकिंदै गर्दा देउवा, प्रचण्ड र नेपालबीचको छलफलमा के–के भयो ?

काठमाडौं । चुनावी रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बसेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

प्रेस सेन्टर लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको चुनाव हुँदैन कि भन्ने भ्रम हटेको बताए ।

‘सरकारले वैशाख ३० मा स्थानीय चुनावको मिति तय गरेपनि चुनाव हुँदैन कि भन्ने केही संशय देखिएको थियो । आज बिहान म, माधवजी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थियौं’, छलफलबारे प्रचण्डले भने, ‘हामी त पूरै चुनावी तयारीमा जुटिसक्या छौं । बाहिर केही साथीहरूले चुनाव हुँदैन भन्ने हल्ला गरेका छन् । के त्यस्तै अवस्था हो भनेर मैले शेरबहादुरजीलाई भनें । जवाफमा प्रधानमन्त्रीले चुनावको दिनसम्म पनि चुनाव हुँदैन भनेर हल्ला गर्छन् । हामी भ्रममा पर्नु आवश्यक छैन भने ।’

छलफलमा चुनावी तालमेलबारे कुनै सहमति हुन नसकेको प्रचण्डले संकेत गरेका छन् । प्रधानमन्त्रीजीलाई भेटेपछि चुनाव हुँदैन कि भन्ने भ्रम हटेको उनले बताए । ‘हामी आवश्यकता अनुसार गठबन्धन दलहरूसँग चुनावी तालमेल गर्छौं’, उनले भने, ‘तर पुरै गठबन्धनको भर नपरी आफ्नै क्षमतामा उभिन सक्नेगरी चुनावी तयारीमा जुट्नोस् ।’

प्रचण्डले कांग्रेसले लखेट्न खोजे वामगठबन्धन बनाएर चुनावमा भाग लिन सक्ने संकेत देखाएका छन् ।

कांग्रेसभित्र चुनावी तालमेललाई लिएर समान मत छैन । संस्थापन पक्षले चुनावी तालमेलको पक्षमा छ । तर डा. शेखर कोइराला पक्षले केन्द्रले निर्णय गरेर तालमेल गर्न नहुने मत राख्दै आएको छ । स्थानीय आवश्यकताका आधारमा कतै तालमेल गर्न सकिए पनि सबैतिर तालमेल गर्न नहुनेमा उनीहरूको जोड छ । तर यस अघिको चुनावमा पराजित भएका नेताहरू ताममेल गरेर जानुपर्ने पक्षमा छन् ।

नेकपादेखि एमाले विभाजनसम्म आइपुग्दा चुनावलाई लिएर सबैभन्दा बढी तनाव माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई छ । नयाँ सांगठनिक तयारीको लागि थोरै मात्रै सयम पाएका यी दुई दल ठूला पार्टीसँगै तालमेलको पक्षमा छन् । पहिलो प्राथमिकतामा यी दुवै दलले कांग्रेसलाई राखेका छन् । नभए कांग्रेसको विकल्पमा एमालेसँग मिलेर अघि बढ्ने संकेत माओवादी अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनले दिइसकेका छन् ।