NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिका ६ शर्त

काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्तिवार्ताका लागि ६ शर्त अगाडि सारेका छन् ।

उनले त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका ६ विषय भन्ने गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ विषय छन् ।’

उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका छन् ।

रूसले यूक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटक पटक भएको वार्ता परिणाममूखी हुन भने सकेको छैन । वार्ताको शिलशिला भने जारी नै रहेको छ ।

पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो । सो वार्ता भिडियोमार्फत् भएको थियो । त्यसको दुई दिनपछि यूक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए ।

गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए ।

दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ६ शर्त अगाडि सारेको हो ।

रूस र यूक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी छ देशको अनुरोधपछि बैठक बोलाइएको हो ।