NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कहाँ छ अमेरिकाबाट ल्याएको साँढे ?

काठमाडौं । अमेरिकाको सिकागोबाट हवाईजहाजमा ल्याइएका सात वटा साँढे नेपाल पशु प्रजनन केन्द्र पोखरामा २१ दिने क्वारेन्टाइनमा राखिएका छन् ।

तीन दिनको जहाज यात्राबाट फागुन ११ गते काठमाडौं ल्याइएको साँढे फागुन १४ गते पोखरा लगिएको थियो । ती साँढेलाई गाईको नश्ल सुधार तथा दूध विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खरिद गरेको हो ।

नेपाल ल्याइएका साँढेहरूमध्ये दुई वटा शतप्रतिशत शुद्ध होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत शुद्ध जर्सी ।

नौ महिना उमेर समूहका साँढेलाई अब एक वर्ष पालेपछि बीर्य उत्पादनका लागि योग्य हुन्छन् ।

केन्द्रका सूचना अधिकारी डा. जगतबन्धु नेपालीले २१ दिने क्वारेन्टाइनमा राखिएको साँढेको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

साँढेको नियमित चेकजाँच गरिएको र २१ दिनपछि अरू साँढेसँग राखिने गोरखापत्र दैनिकमा खबर छ । सो केन्द्रमा हाल ३७ साँढे छन् । केन्द्रमा रहेका साँढेबाट साताको दुई पटक बीर्य निकाल्ने गरिन्छ ।