NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

युक्रेन युद्धले श्रीलंका गम्भीर आर्थिक संकटमा

काठमाडौं । आर्थिक संकट झेलिरहेको श्रीलंका अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग राहत प्याकेज मागेको छ । यसको घोषणा राष्ट्रपति  गाेटाबय राजपाक्षेले बुधबार गरेका छन् ।

राष्ट्रपतिले आइएमएफसँग सहयोग माग्नुभन्दा अगाडि सर्वसाधारणले अत्यावश्यक वस्तुमा भएको महंगीको विरोधमा राष्ट्रपति कार्यालयबाहिर विरोध गरेका थिए । राजपक्षेले आर्थिक संकट बढेका कारण इन्धन र बिजुलीको खपत सीमित गर्न आग्रह पनि गरेका छन् ।

सन् १९४८ मा स्वतन्त्र भए यता दक्षिण एशियाली मुलुक श्रीलंकाको अर्थव्यवस्था सबैभन्दा खराब स्थितिमा गुज्रिरहेको छ । आर्थिक समस्याका कारण मानिसहरु सडकमा निस्किएर सरकारको विरोध गरिरहेका छन् ।

यो मुद्दा युक्रेन युद्धभन्दा पनि धेरै अगाडिको हो तर इन्धनको बढ्दो मूल्यले हालैका सातामा श्रीलंकाको आर्थिक स्थिति थप बिग्रिएको छ ।राजपाक्षेले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘सम्भव भएसम्म इन्धन र बिजुलीको प्रयोग सीमित गर्न सबै जनतासँग अपील गर्छु । चुनौतीपूर्ण समयमा सबैले आफ्नो जिम्मेवारी सम्झनेछन् भन्ने अपेक्षा गरेको छु ।’

श्रीलंकाको विदेशी सञ्चिति अहिलेसम्मकै न्यून रहेकोले आयात खर्च तिर्न संघर्ष गरिरहेको छ । इन्धन अभावले देशभित्र अत्यावश्यक आपूर्ति लगायतका यातायातमा रोक लगाएको छ र दैनिक घण्टौं लामो बिजुली सेवा कटौती भएको छ ।

वित्तीय संकटको सामना गर्दै, श्रीलंकाको केन्द्रीय बैंकले गत हप्ता राष्ट्रिय मुद्रा जारी गरेपछि परिणामस्वरूप यसको अवमूल्यन ३६ प्रतिशत भयो र मूल्यमा थप तीव्र वृद्धि भयो । विदेशी मुद्राको बहिर्गमनलाई रोक्न अधिकारीहरूले कार, भुइँ टाईल र अन्य उत्पादनहरूको आयातमा भइरहेको विद्यमान प्रतिबन्धमा केही फलफूल र दूधलाई समावेश गरेर आयात प्रतिबन्धलाई थप विस्तार गरेका छन् ।

देशका राजनीतिक दल र नागरिक समाजले आर्थिक संकटका लागि सरकारलाई जिम्मेवार ठहर्याएका छन् । देशभर ठुलो संख्यामा विरोध प्रदर्शन भइरहेको छ । प्रभावशाली राजपक्षे परिवारका आलोचकले राष्ट्रपतिका दाइ प्रधानमन्त्री महिन्दा राजपक्षे, वित्त मन्त्री बासिल राजपक्षेमाथि भाइ-भतिजावादको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दलले खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिलाई लिएर राष्ट्रपतिको राजीनामा माग गर्दै राष्ट्रपति कार्यालय अगाडि ठूलो प्रदर्शन गरेको छ। २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाका लागि बढ्दो मुद्रास्फीति नयाँ समस्या बनेको छ ।