NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

शक्तिहीन पथमा शक्तिशाली प्रचण्ड : अभिव्यक्तिमा कुण्ठा र निराशा, छैन अडान

काठमाडौं । कुनै बेला विश्वशक्ति राष्ट्र अमेरिकाकोसमेत टाउको दुःखाइ बनेकोे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय निराश र निरीह देखिएका छन् ।

माओवादी १० वर्षे सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रचण्डको अभिव्यक्तिमा आजभोलि कुण्ठा, आक्रोश, निराशा र बेचैनी बढेको देखिन्छ । अभिव्यक्ति र अडानमा छिन्–छिन्मा परिवर्तन देखिएको छ । उनले कहिले पार्टीभित्र एक्लिएको त कहिले देशी–विदेशी प्रतिक्रियावादी शक्तिको घोराबन्दीमा परेको टिप्पणी गर्ने गरेका छन् ।

०६६ को सेनापति प्रकरणमा प्रधानमन्त्रीबाट राजीनामा दिएका प्रचण्ड त्यसपछिका दिनमा उनको शक्ति निरन्तर कमजोर हुँदै गएको छ । ०६९ असारमा भएको पार्टी विभाजनले ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्वनाक हार ब्यहोर्यो ।

पुसमा काठमाडौंको कमलादीमा भएको पार्टीको आठौं महाधिवेशनपछि पार्टीलाई नयाँ विचार र पार्टी बनाउने उद्घोष गरेका प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीमा खेलेको भूमिकाबाट पार्टीभित्र र बाहिर उनको निकै आलोचना भएको छ । पार्टीभित्र र बाहिर सबैतिरबाट एक्लिँदै गएको महशुस उनले गर्न थालेका छन् ।

त्यस्तै ०७४ को स्थानीय तह चुनावमा अनपेक्षित परिणामले तर्सिएका प्रचण्ड ०७५ मा एमालेसँग पार्टी एकता गरी आफूलाई पुनः शक्तिमा फर्काउने योजनामा थिए । तर नेकपाभित्रको विवादले उग्ररूप लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ मा हठात संसद् विघटन गरी मध्यावधी चुनाव घोषणा गरे ।

सो कदम अलोकतान्त्रिक र प्रतिगामी भएको निष्कर्ष निकाल्दै प्रचण्डले माधवकुमार नेपालसँग मिलेर ओलीलाई पार्टीबाट निष्कासन गरे ।

नेकपाभित्र दुई–तिहाइभन्दा बढी केन्द्रीय सदस्यको र संसदीय दलका बहुमत सदस्यको साथ पाएर हौसिएका प्रचण्ड ओलीलाई निष्कासन गरी नेकपा कब्जा गर्ने रणनीतिमा थिए । प्रचण्डको योजना सफल नहुँदै फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदियो । उक्त फैसलाबाट निकै निराश र हतास देखिए उनी । त्यसयता प्रचण्डको हरेक भाषणमा आक्रोश, कुण्ठा, निराशा, निरीहता भरिएको अभिव्यक्ति आउन थालेको छ ।

शक्तिशाली प्रचण्ड कसरी भए शक्तिहीन ?

वामपन्थी नेता विश्वभक्त दुलाल आहुति शक्तिशाली प्रचण्डमा पछिल्लो समय उदासिनता बढ्नुमा उनको आफ्नो कर्मको फलको रूपमा चित्रण गरेका छन् ।

‘उहाँले युद्धका बेला दलित, उत्पीडित, जनजाति, मधेसी, महिला, पिछडीएका जनताहरूलाई आश्वासन बाडेर युद्धमा होम्नुभयो । तिनकै बलमा शक्ति आर्जन गर्नुभयो । आफ्नो स्वार्थ पूरा भएपछि बीचबाटोमा अलपत्र पार्नुभयो’, उनले भने, ‘कहिले शान्ति र कहिले विद्रोहका कुरा गरेर कार्यकर्तालाई अलमलमा पर्नुभयो । कुनै अडानमा टिक्नुभएन । त्यसकै दुर्दशा अहिले भोगिरहनुभएको छ ।’

आहुतिले चित्रण गरेजस्तै प्रचण्डको अभिव्यक्तिलाई नेता तथा कार्यकर्ताले विश्वास गर्न छाडेका छन् । आफ्नै सहकर्मी र विपक्षी दलहरूले समेत प्रचण्डलाई अडान नभएका विश्वास गर्न नसकिने बेतुकको नेता भनेर टिप्पणी गरेका छन् ।

उनका पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड महाविपत्तिमा फसिसकेकाले उनीबाट केही आस गर्न नसकिने टिप्पणी गरेका छन् ।

‘उहाँ युद्धकालमा परिवर्तनगामी उत्पीडित, जनजाति, मधेसी, महिला, दलितलगायत सर्वहारा वर्गको साथमा रहनुभएको थियो । त्यसैले उहाँ शक्तिशाली हुनुहन्थयो,’ कपिलबस्तुस्थित आफ्नै घरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अहिले प्रचण्ड परिवर्तगामी जनतालाई विश्वास गर्नुहुन्न । पूर्वलडाकु, जनमुक्ति सेना, घाइते, अपाङ्गता भएका व्यक्तिहरूलाई विश्वास गर्नुहुन्न । उहाँ अहिले साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरूको घेरामा फसिसक्नुभएको छ । उहाँ अहिले महापतनको बाटोमा हुनुहुन्छ ।’

०६२ को चुनवाङ बैठकपछि १२ बुँदे सहमतिमार्फत सशस्त्र विद्रोह त्यागी शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड ०६३ असार २ मा सार्वजनिक हुँदा निकै शक्तिशाली देखिन्थ्ये । उनको क्रेज ह्वात्तै बढेको थियो । उनको हरेका बोली नेता तथा कार्यकर्ताका लागि क्रान्तिको विगुल सरह थिए । विपक्षी दलहरू उनको विरुद्धमा बोल्ने हिम्मतसमेत राख्दैनथ्ये । पुराना शक्तिशाली मानिएका संसदवादी प्रमुख राजनीतिक दल कांग्रेस र एमाले निरीह देखिन्थ्ये । देशभर सात ठाउँमा उनैले बनाएका हतियारधारी जनमुक्ति सेना थिए । ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीले २३८ सिट जितेको थियो । दुईतिहाइभन्दा बढी वामपन्थीको समर्थनमा गणतन्त्र नेपालका शक्तिशाली प्रधानमन्त्री बनेका थिए उनी । विद्रोही नेता एउटै देशमा राज्यका सेना र विद्रोही सेनाका प्रमुख हुने उनी विश्वकै दुर्लभ नेता मध्येका एक थिए ।

प्रचण्डबारे टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सेतापतिलाई गिजोल्नु नै प्रचण्डका पतनका दिनगन्ती सुरूभएको बताएका थिए ।

‘प्रचण्ड वामपन्थीको समर्थनमा शक्तिशाली प्रधानमन्त्री भएका थिए । राज्यको सेनालगायत सम्पूर्ण संयन्त्र उनको हातमा थियो । देशभर शिविरमा उनले प्रशिक्षित ३५ हजार हतियारधारी सेना थिए । घरविदामा बस्न लागेका सेनापतिलाई हटाएर गिजोल्न खोजे । पशुपतिका भट्टलाई हटाएर हिन्दूहरूको आस्थामाथि चोट पु¥याए । आफ्नै सेनालाई अयोग्य घोषणा गरी हतियार खोसे । कसैले नमागिकनै प्रधानमन्त्रीबाट राजीनामा दिए । नेकपाका शक्तिशाली अध्यक्ष भएको व्यक्ति विघटन गरे । कस्ता प्रचण्ड आफ्नै बुद्धिले दाह्रा–नङ्ग्रा झिकिएका सिंहजस्ता भए । उनले विद्रोह गर्छु भनेर कसले पत्याउने ? शक्तिहीन भएका व्यक्तिले विद्रोहको धाक दिएर जनताले पत्याउनेवाला छैनन् । त्यस्ता धम्कीले कोही डराउँदैन । उनले सबै प्रक्रियालाई मिलाउन जानेका भए धेरै शक्तिशाली हुन्थ्ये’, गतवर्ष संसद् विघटनपछि काठमाडौंमा आयोजित कार्यक्रम ओलीले प्रचण्डमाथि टिप्पणी गरेका थिए ।

पुसमा काठमाडौंको कमलादीमा भएको पार्टीको आठौं महाधिवेशनपछि पार्टीलाई नयाँ विचार र पार्टी बनाउने उद्घोष गरेका प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीमा खेलेको भूमिकाबाट पार्टीभित्र र बाहिर उनको निकै आलोचना भएको छ । पार्टीभित्र र बाहिर सबैतिरबाट एक्लिदै गएको महशुस उनले गर्न थालेका छन् ।

‘प्रचण्डलाई देशको भन्दा पनि आफू र आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्ता छ । आफू असुरक्षित भएको आभाषमा उनको आत्मा भड्किएको छ’, वाम विश्लेषक मुमाराम खनाल भन्छन्, ‘उनको आत्मालाई शान्त पार्ने सुरक्षित र भरपर्दो व्यवस्था नभएसम्म उनको आत्मा भड्किरहन्छ । उनले त दुःख पाउँछन् नै, उनको कारणले मुलुकले समेत दुःख पाउँछ ।’

बिहीबार वैचारिक तथा राजनीतिक प्रशिक्षणका लागि सुदूरपश्चिम प्रदेश पुगेका प्रचण्डले आफूलाई सिध्याउन देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति लागिरहेको आरोप लगाए ।

‘माओवादी केन्द्र र प्रचण्डलाई सिध्याउन देशी–विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । माओवादी आन्दोलनबाट देशमा आएको परिवर्तन उनीहरूलाई मनपरेको छैन’, उनले भने, ‘कहाँबाट प्रचण्डलाई सिध्याउन सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् । सम्पूर्ण माओवादी शक्तिहरू पुनः एकजुट भएर उभिन आवश्यक छ ।’

तर प्रचण्डको अभिव्यक्तिलाई लिएर वाम विश्लेषक मुमाराम खनालले व्यक्तिगत असुरक्षाको कारणले उनकोे आत्मा भड्किएको टिप्पणी गरेका छन् ।

‘प्रचण्डलाई देशको भन्दा पनि आफू र आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्न सकिन्छ भन्ने चिन्ता छ । आफू असुरक्षित भएको आभाषमा उनको आत्मा भड्किएको छ’, उनले भने, ‘उनको आत्मालाई शान्त पार्ने सुरक्षित र भरपर्दो व्यवस्था नभएसम्म उनको आत्मा भड्किरहन्छ । उनले त दुःख पाउँछन् नै । उनको कारणले मुलुकले समेत दुःख पाउँछ ।’

माथिका यी सबै परिदृष्यबाट प्रचण्ड पछिल्लो राजनीति अवस्थाबाट निकै चिन्तित भएको बुझ्न सकिन्छ । बन्दुकको नालबाट राज्यसत्ता परिवर्तन गर्न हिडेका प्रचण्ड उनकै कारण कलिला युवा–युवती मार्न र मर्न तयार भए । करिब १७ हजार मानिसको ज्यान गयो । हजारौं घाइते–अपाङ्गता भएका भए । माओवादी सशस्त्र विद्रोहको जगमा मुलुकमा संघीय गणतन्त्र स्थापना भयो । समावेशी, धर्मनिरपेक्ष र राज्यको हरेक निकायमा समावेशी प्रतिनिधित्व भयो । तर आमुल परिवर्तनका लागि विद्रोहमा होमिएका निमुखा जनताको अवस्थामा केही परिवर्तन भएन । पहिले माओवादी विद्रोहमा डराएकाहरू नै अहिले माओवादीविरुद्ध हाकाहाकी प्रतिरोधमा उत्रिन लागेको संकेत स्वयम् प्रचण्डले महशुस गरिरहेका छन् ।

व्यक्तिगत सुरक्षा र माओवादी भविष्य

विश्लेषक खनालले टिप्पणी गरेजस्तै प्रचण्ड आफ्नो भविष्यलाई लिएर निकै चिन्तित देखिएको देखिन्छन् । संसदीय राजनीतिमा कांग्रेस–एमालेभन्दा निकै कमजोर देखिएका प्रचण्ड आगामी चुनावको परिदृष्य त्यति राम्रो देखेका छैन । एमसिसीलाई लिएर पार्टीभित्रै विद्रोहको सामना गरिरहेका उनले माओवादी परित्याग गर्नेको संख्या ह्वात्तै बढेको छ । एकातिर प्रतिस्पर्धी एमाले सशक्तरूपमा चुनावी कार्यक्रम लिएर गाउँकेन्द्रीत रहेको छ ।

अर्कोतर्फ गठबन्धन बनाएर चुनावमा जानेबारे कांग्रेसभित्र तीव्र मतभेद देखिन्छ । चुनावी तालमेलमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा सकारात्मक भएपनि पार्टीभित्र प्रभावशाली नेताहरू तालमेलको विपक्षमा छन् । माओवादी आधार क्षेत्र रहेको कर्णाली र लुम्बिनी प्रदेशमासमेत चुनाव जित्न नसकिने अवस्था रहेको छ । माओवादी आन्दोलनबारे अध्ययन गरिरहेका दिनेश रावलका अनुसार पूर्वी र पश्चिम रुकुममा ०७४ चुनावमा एक–दुई वटा वडाबाहेक ‘क्लिनस्विप’ गरेको माओवादीले आगामी चुनावमा जित्न भने मुस्किल छ ।

‘माओवादी आधार क्षेत्र रहेको कर्णाली र लुम्बिनीमा यसपटक चु्नाव जित्न मुस्किल छ । अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माको व्यवहारले त्यहाँका जनता माओवादी केन्द्रप्रति रुष्ट छन्’, उनले भने, ‘अब प्रचण्डकै नेतृत्वमा माओवादी पुर्नगठन गर्न सम्भव छैन । माओवादी पुर्नस्थापनाका लागि नयाँ नेतृत्व तयार हुन आवश्यक छ ।’

तत्कालीन नेकपा माओवादीले ०५२ मा सशस्त्र युद्ध सुरू गर्नु १५ दिनअघि माघ २२ मा तत्कालीनन संयुक्त जनमोर्चाका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाएका थिए । जनमोर्चाका मागबारे देउवाले वार्तामार्फत हल खोजिने प्रतिबद्धता जनाएका थिए । तर कार्यान्वायनमा कुनै चासो देखाएनन् । अन्ततः १ फागुन, ०५२ मा नेपालमा १० वर्षे लामो हिंसात्मक सशस्त्र विद्रोहको बिजारोपण भयो ।

सशस्त्र विद्रोहमार्फत मुलुकमा आमुल परिवर्तन गर्ने वाचासहित युद्धमा होमिएको माओवादीको नेतृत्व प्रचण्डले गरेका थिए । भट्टराई, मोहन वैद्य, सिपी गजुरेल, रामबहादुर थापा बादल, विप्लवलगायत नेताहरू उनका सारथि थिए ।

०५७ (माघ २६– फागुन १)मा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डलाई विश्व चर्चित कम्युनिस्ट नेता माक्र्स, लेनिन, माओको दर्जामा प्रचण्डपथलाई पनि राखिएको थियो । ०५८ मा गठन भएको माओवादी जनमुक्ति सेनाका सर्वोच्च कमाण्डरसमेत रहेका प्रचण्ड विश्वकै शक्तिशाली व्यक्तित्व गनिएका थिए । भूमिगत कालमा रहस्यमय पात्र रहेका प्रचण्ड कुनै बेला उनको नाम लिँदासमेत विरोधीहरूको सातो जान्थ्यो ।

विश्वबाट कम्युनिस्ट आन्दोलन पलायन भएको अवस्थामा नेपालमा माओवादी विद्रोहले गति लिएपछि सशंकित रहेको अमेरिकाले सन् २००२ मा माओवादीलाई आतङ्ककारीको सूचीमा राख्यो । आज तिनै शक्तिशाली प्रचण्ड शक्तिहीन अवस्थामा कांग्रेस–एमालेसँग सहकार्य नगरी चुनाव जित्न नसक्ने अवस्थामा पुगेका देखिन्छन् । ओरालो लागेका मृगलाई बाच्छालेसमेत लखेट्छ भने झैं प्रचण्ड अहिले पार्टीभित्र र बाहिरी लखेटाइको परेको अनुभूति प्रत्येक दिनको उनकै अभिव्यक्तिमा देखाउँछ ।