NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

काठमाडौं (एजेन्सी) । अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने भएको छ ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन–अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो ।

उनीहरूले महिलालाई रोजगारीसमेत गर्न प्रतिबन्ध लगाएका थिए । तर सर्वत्र आलोचनापछि उक्त निर्णय फिर्ता लिइएको छ ।

तालिवान सरकारका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार, यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन हुनेछ ।

आलोचना, आग्रह र दबाबका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्र संघले धन्यवाद ज्ञापन गरेको छ ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका हुन् ।

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गरेका छन् ।

तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले “महत्वपूर्ण र स्वागतयोग्य” भनेका छन् ।

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरूको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने आशा उनले व्यक्त गरे ।

बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् ।