NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पानी लिन तीन घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता

तुलसीपुर । स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३का आधा दर्जन गाउँ काकाकुल हुन्छन् ।

धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ । खोलामा पनि पालो पाउन गाह्रो पर्छ । धारामा कहिले आउँछ, कहिले आउँदैन, अम्वास निवासी शशिकला विकले भनिन्, धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।

सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो थियो । घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि मात्र खाना पकाउने तयारी हुन्छ, विकले भने, तर कहिले १२ बजेसम्म पनि पानी ल्याई नपुर्याउँदा त्यतिबेलासम्म खान पकाउन सकिँदैन ।

गाउँका सबै मान्छे २/३ घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाइँदैन । मुहान सानो भएकाले पहिले गएकाले मात्र पानी पाउँछन् तर पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको अर्का स्थानीयवासी सावित्रा विकले बताइन् ।

पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ । त्यहाँ थापानी र घुटघुटेबाट पानी ल्याउने गरिएको छ । त्यहाँ गाउँका दुईवटा ट्याङ्की छन् । तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बासमा पानी पठाउने गरिन्छ ।

हिउँदमा पानी नपाउने समस्याले वर्षौंदेखि आफूहरु आजित भएको स्थानीयवासी मालबहादुर वलीले बताए । पटक-पटक निर्वाचनको समयमा पानी ल्याइदिने आश्वासन दिने गर्छन्,उनले भने, त्यसपछि फर्केर पनि नआउने अवस्था छ, अब निर्वाचन हुन लाग्यो नेताहरुले पानी, सडक, विद्युत्लगायत सपना बाँढ्न थालेका छन् ।

अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ । विद्युत् पनि वर्षा लाग्ने बित्तिकै जाने गर्छ । दुई वर्ष अघि यहाँ विद्युत् जडान गरिए पनि बेलाबखत बत्ति जाने, आउने समस्या भइरहन्छ । कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, शीतधारालगायत गाउँमा खानेपानी लागि पहल थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताए ।