NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।

रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०÷१३२ केभी क्षमताको सबस्टेशन प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।

माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सबस्टेशन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२।४ मेगावाट क्षमताको लिखू चौथो र २४।२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ ।

त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ ।

ढल्केबरबाट मुलुकभित्र खपतका लागि पूर्व-पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ ।

नयाँ खिम्ती सबस्टेशनबाट ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ केभी सबस्टेशन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ ।

नयाँ खिम्ति सबस्टेशनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्विचगियर बे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्विचगियर बे छन् । साथै, सबस्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभिए क्षमताको चारवटा पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहेको सबस्टेशनमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ ।

दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई ठूलो मद्दत पु¥याइरहको छ ।

वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत् ऊर्जा थप हुनेछ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रतियुनिट औसत ४.०६ रुपैयाँ विद्युत् खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनाका साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन उद्घाटन भई सञ्चालनमा आएको हो । विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो ।

रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा हब सबस्टेशनका रूपमा विकास हुनेछ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेशनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणको छ । माथिल्लो तामाकोसीको झन्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ ।