NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
स्थानीय तह निर्वाचन विशेष-४

बुटवल उपमहानगर : एमाले ढुक्क, विभाजनको फाइदा उठाउने दाउमा कांग्रेस

स्थानीय तहको मिति घोषणा भएसँगै बुटवलको चुनावी माहोल तातेको छ । यसअघि कांग्रेस र माओवादी गठबन्धन हुँदा पनि बुटवलमा एमालेले मेयर, उपमेयरसहित अधिकांश पद हात पारेको थियो । १९ वडा रहेको बुटवलमा तीन वडाध्यक्ष र चार वडा सदस्यबाहेक सबैमा एमालेले जित निकालेको थियो । ती पदमा कांग्रेस विजयी भयो भने माओवादीले एउटै जनप्रतिनिधि जित्न सकेन । बुटवलमा अहिले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति, राप्रपा, विवेकशील साझा पार्टी, नेमकिपालगायत दल क्रियाशील छन् । बुटवलमा धेरै दल रहे पनि मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच नै हुने अनुमान गरिएको छ ।

अघिल्लो चुनावको परिणाम

२०७४ को निर्वाचनमा ६६ हजार ६ सय ६३ मतदाता रहेकोमा ४५ हजार नौ सय ६१ मत खसेको थियो । त्यतिबेला एमालेका शिवराज सुवेदीले कांग्रेसका खेलराज पाण्डेयलाई दुई हजार तीन सय ९८ मतले हराएका थिए । सुवेदीले २३ हजार दुई सय ४९ र माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेसका पाण्डेयले २० हजार आठ सय ५१ मत पाए ।

राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापामगरले एक हजार एक सय ५१, राप्रपाका टीका पौड्यालले एक सय ७९ र राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्माले एक सय ७३ मत पाएका थिए ।

बुटवल क्षेत्रमा एमालेले वर्चस्व स्थापित गरेको छ । बुटवल रहेको संसदीय क्षेत्रबाट एमाले नेता विष्णु पौडेलले २०६४, २०७० र २०७४ सालमा भारी मतका साथ चुनाव जिते । २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेका शिवराज सुवेदी बुटवलको मेयर बने

यस्तै, उपमेयरमा पनि एमालेकै गुमादेवी आचार्यले २५ हजार तीन सय एक मतसहित जित निकालिन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार सात सय ९२ मत ल्याए । नेकपा विभाजनपछि पोखरेल एमालेमै बसेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका धनी आलेले एक हजार पाँच सय ६ मत ल्याए । बुटवलमा प्रमुख तीन दलबाहेक अन्यको उपस्थिति निकै कमजोर देखिन्छ । १९ वटा वडा रहेको बुटवलका १६ वडामा एमालेले अध्यक्ष जितेको थियो भने वडा नम्बर १३, १८ र १९ मा मात्रै कांग्रेसले जित निकाल्न सक्यो ।

बुटवलको चुनावी इतिहास

प्रजातन्त्र स्थापनापछि भएको आमनिर्वाचनमा बुटवल क्षेत्रमा कांग्रेस निकै बलियो थियो । ०४८ सालको आम चुनावमा बुटवल रहेको संसदीय क्षेत्रबाट कांग्रेस नेता बालकृष्ण खाणले चुनाव जितेका थिए । ०४९ मा भएको स्थानीय निर्वाचनमा पनि तत्कालीन बुटवल नगरपालिकामा कांग्रेसकै सूर्यप्रसाद प्रधान चुनाव जितेर मेयर बने । तर, त्यसपछिका चुनावमा भने एमाले विस्तारै बलियो बन्दै गयो । ०५१ सालको मध्यावधि निर्वाचनमा बुटवल रहेको क्षेत्रबाट एमालेका मोदनाथ प्रश्रित सांसद बने । ०५४ सालको स्थानीय चुनावमा प्रधानलाई हराउँदै एमालेका भोजप्रसाद श्रेष्ठ बुटवलको मेयर बने । तर, एमाले विभाजन भएपछि ०५६ सालमा भएको संसदीय निर्वाचनमा भने एमालेका विष्णु पौडेललाई झिनो मतान्तरले हराएर सूर्यप्रसाद प्रधान सांसद बने । त्यसबेला मालेले एमालेका मत काटेकाले मात्रै कांग्रेस चुनाव जित्न सफल भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला राप्रपाका पुनाराम पोखरेल मेयरमा मनोनीत भए भने दलहरूले बहिष्कार गरेको शाही निर्वाचनमा राप्रपाका रूपसिंह थापा मेयर बने । तर लोकतन्त्र पुनर्बहालीपछि त्यो खारेज भएकाले थापा र पोखरेलले मान्यता पाएनन् ।

त्यसपछिका सबै निर्वाचनमा बुटवल क्षेत्रमा एमालेले वर्चस्व स्थापित गरेको छ । बुटवल रहेको संसदीय क्षेत्रबाट एमाले नेता विष्णु पौडेलले २०६४, २०७० र २०७४ सालमा भारी मतका साथ चुनाव जिते । २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेका शिवराज सुवेदी बुटवलको मेयर बने ।

सम्भावित समीकरण र परिणाम

बुटवल उपमहानगरमा गत निर्वाचनमा एमाले र कांग्रेसबीचको मतान्तर धेरै नभएकाले आगामी चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । एमाले पुरानै वर्चस्व कायम राख्ने प्रयासमा छ । उपाध्यक्ष विष्णु पौडेलको चुनावी क्षेत्रसमेत रहेकाले उसले बुटवलको मेयर जित्नुपर्ने दबाब छ ।  बलियो सांगठनिक आधारका कारण पनि चुनाव जित्नेमा एमाले ढुक्कजस्तै देखिन्छ । बुटवलमा एमालेलाई हराउन सत्ता गठबन्धनकारी दल मिलेर मात्रै पर्याप्त नहुन सक्छ । यद्यपि, यसपटक एमाले विभाजन भएकाले कांग्रेस पनि कम उत्साहित छैन । बुटवल क्षेत्रमा विभाजनको प्रभाव सामान्य मात्रै छ । राजु गुरुङलगायत केही नेता–कार्यकर्ता एकीकृत समाजवादीतिर लागेका छन् ।

दलहरूबीच कस्तो समीकरण बन्छ ? एकीकृत समाजवादीले कति मत लैजान्छ ? यिनै दुई विषयले नै आगामी चुनावमा बुटवलको परिणाम निर्धारण गर्न सक्नेछ ।

बलियो सांगठनिक आधारका कारण पनि चुनाव जित्नेमा एमाले ढुक्कजस्तै देखिन्छ । बुटवलमा एमालेलाई हराउन सत्ता गठबन्धनकारी दल मिलेर मात्रै पर्याप्त नहुन सक्छ

किनकि, गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दासमेत कांग्रेसले मेयर, उपमेयरसहित अधिकांश वडा गुमाएको थियो । तर, यसपटक एमालेमा आएको विभाजन कांग्रेसका लागि फाइदाजनक हुनसक्छ । अर्कातिर अहिलेका मेयरले उल्लेखनीय काम गर्न नसकेकाले पनि कांग्रेस बढी हौसिएको छ । माओवादीलाई उपमेयर र एकीकृत समाजवादीलाई केही वडाध्यक्ष दिएर गठबन्धन बनाउने कांग्रेसको तयारी छ ।

एकीकृत समाजवादीको बुटबलमा बलियो प्रभाव नभए पनि केही हजार भोट काट्न सक्ने कांग्रेसको आकलन छ । त्यसैले पनि उसले हाल केन्द्रमा रहेको सत्ता गठबन्धनलाई सँगै लिएर चुनावमा जाने रणनीति बनाएको छ । हिजो सँगै पार्टी काममा खटेका साथी विपक्षी गठबन्धनमा लागेर चुनावमा जाँदा एमालेका लागि चुनौती हुनसक्छ । तर, संगठित कार्यकर्ता, चुस्त कमिटी र आम जनतामा राम्रो प्रभाव भएकाले बुटवलमा एमालेलाई हराउनु कांग्रेसलाई सहज भने हुने छैन । यसमा कुन दलले कस्तो उम्मेदवार अघि सार्छन् भन्ने विषयले पनि केही हजार मत तलमाथि हुनेछन् ।

पौडेल र खाणको प्रतिष्ठाको लडाइँ

हिजो सँगै पार्टी काममा खटेका साथी विपक्षी गठबन्धनमा लागेर चुनावमा जाँदा एमालेका लागि चुनौती हुनसक्छ । तर, संगठित कार्यकर्ता, चुस्त कमिटी र आम जनतामा राम्रो प्रभाव भएकाले बुटवलमा एमालेलाई हराउनु कांग्रेसलाई सहज भने हुने छैन

एमाले उपाध्यक्ष विष्णु पौडेल र कांग्रेस नेता बालकृष्ण खाणको गृहजिल्ला हो, रुपन्देही । बुटवल रहेको संसदीय क्षेत्रबाट पौडेलले निरन्तर चुनाव जित्दै आएका छन् । अहिले पनि उक्त क्षेत्रमा पौडेलको निकै राम्रो प्रभाव छ ।

खाणको चुनाव क्षेत्र नभए पनि बुटवललाई उनले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । स्थानीय तहको निर्वाचनमा बुटवलमा एमाले पराजित भए संघीय निर्वाचनमा पनि प्रभाव पर्ने निश्चित छ । आफूलाई समेत समस्या पर्ने भएकाले बुटवलमा पार्टीलाई जसरी पनि जिताउनुपर्ने उपाध्यक्ष पौडेलका सामु दबाब छ ।

गृहमन्त्रीसमेत रहेका खाण आफ्नो निर्वाचन क्षेत्र नभए पनि बुटवल जितेर जिल्लामा शक्तिशाली हुन चाहन्छन् । उनकै कारण गत चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । २०७४ सालमा सफल हुन नसकेका खाण अहिले एमाले फुटेको मौकामा बुटवलमा एमालेको वर्चस्व भत्काउने रणनीतिमा छन् । तर, खाणलाई अर्को समस्या छ । उनी पार्टीमा संस्थापन पक्षका हुन् । तर, रुपन्देहीमा संस्थापनइतरको बाहुल्यता छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी बुटवलमा एमालेले हार्छ भन्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताउँछन् । बुटवलमा एमालेको संगठन बलियो रहेको र पार्टी विभाजनले खासै असर नगरेकाले जित निश्चित रहेको उनको दाबी छ ।

कांग्रेस बुटवलका सभापति खेलराज पाण्डेय यसपटक बुटवलमा कांग्रेस हार्ने छुट नभएको बताउँछन् । विगतमा भएका कमीकमजोरी सुधार गर्दै बुटवलमा कांग्रेसले जित्ने उनको दाबी छ । यी दाबीबीच कसले बाजी मार्छ त्यो हेर्न भने चुनावको परिणामसम्म पर्खनै पर्छ ।