NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
स्थानीय तह निर्वाचन विशेष–५

कांग्रेस एक्लैले जितेको ललितपुर महानगरमा अब कसले मार्ला बाजी ?

३० वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढ्दो छ । सार्वजनिक स्थानमा चुनावी छलफल हुन थालेको छ । दलहरूबीच चुनावी तालमेल र भागबन्डाको हिसाबकिताब पनि भइरहेको छ । चुनावमा टिकट पाउनका लागि नेताहरूको दौडधुप पनि बढेको छ । राजधानी उपत्यकामा रहेको ललितपुर महानगरपालिकामा पनि विस्तारै चुनावी चहलपहल बढेको छ । ललितपुरमा विगतको नतिजा र भावी परिणाम कस्तो हुन सक्ला भन्ने आकलन पनि सुरु भएको छ ।

२०७४ को नतिजालाई फर्केर हेर्दा

२०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन तीन सय २६ मतको झिनो मतान्तरले विजयी भए । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याए भने राप्रपासँगको तालमेलमा उम्मेदवार बनेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार तीन सय १६ मत पाए । स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साझा पार्टीका रमेश महर्जनले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पारे । गरगहनाको व्यवसाय गर्ने रमेशले १३ हजार चार सय ५८ मत ल्याउँदा माओवादीका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत पाए ।

यस पाँच वर्षमा राजनीतिक रूपमा धेरै परिवर्तन भइसकेको छ । गत निर्वाचनमा धेरै स्थानीय तहमा कांग्रेस र माओवादीबीच समीकरण बनेको थियो । तर, ललितपुरमा भने एक्लै लडेर पनि कांग्रेस विजयी भयो । आगामी चुनावमा दलीय समीकरण कस्तो बन्छ, त्यसकै आधारमा ललितपुरको परिणाम पनि तय हुने देखिन्छ

महानगरको उपप्रमुखमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार आठ सय १९ मत प्राप्त गरी विजयी भइन् । उपमेयरमा साझा पार्टीकी शोभा शाक्य १४ हजार दुई सय ४० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् । कडा प्रतिस्पर्धाबीच कांग्रेसले मेयर र उपमेयरमा बाजी मारे पनि साझा पार्टीले पाएको मतले ललितपुर चर्चामा रह्यो । उपमेयर एमालेले राप्रपालाई दिएको थियो । तर, राप्रपाका उम्मेदवार बाबुकाजी प्रधान १० हजार पाँच सय ४० मत ल्याएर चौथो स्थानमा आए । उनीभन्दा अगाडि माओवादीका उम्मेदवार हसिना शाक्यले १२ हजार नौ सय ७९ मत ल्याइन् । तत्कालीन नयाँ शक्तिका सजनी महर्जनले पनि एक हजार तीन सय ८० मत पाइन् ।

मेयर र उपमेयर गुमाए पनि वडामा भने एमालेले बढी स्थान जित्यो । कुल २९ वडामध्ये १४ वटामा एमालेका अध्यक्ष निर्वाचित भए । कांग्रेसले १० वटा वडा जित्यो । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए । एमाले २, ३, ४, ५, ११, १२, १५, १७, १८, १९, २३, २४, २५ र २९ नम्बर वडामा चुनाव जित्न सफल भयो । कांग्रेसले १, ६, ७, ८, ९, १३, १४, १६, २० र २७ नम्बर वडा जित्यो । माओवादीले भने २१, २२, २६ र २८ नम्बर वडामा वर्चस्व कायम गर्‍यो ।

२०४८ यताका चुनावमा राज्यकोषबाट भएका खर्चको नालीबेली

१० नम्बर वडामा स्वतन्त्र उम्मेदवार विजयी भए । अधिकांश वडामा पनि कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखियो । माओवादीले एउटा वडा दुई मतको अन्तरले मात्रै जितेको थियो ।

भावी परिणामको आकलन

यस पाँच वर्षमा राजनीतिक रूपमा धेरै परिवर्तन भइसकेको छ । गत निर्वाचनमा धेरै स्थानीय तहमा कांग्रेस र माओवादीबीच समीकरण बनेको थियो । तर, ललितपुरमा भने एक्लै लडेर पनि कांग्रेस विजयी भयो । आगामी चुनावमा दलीय समीकरण कस्तो बन्छ, त्यसकै आधारमा ललितपुरको परिणाम पनि तय हुने देखिन्छ ।

संसद्को सबैभन्दा ठूलो दल एमाले विभाजित भएको छ । ललितपुरमा राम्रै मत ल्याएको साझा पार्टीको अवस्था पनि अहिले पहिलेको जस्तो छैन । त्यो पार्टी पनि टुटफुट र विवादबाट अघि बढेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएको छ । राप्रपा पनि फुटेर कमल थापाको नेतृत्वमा राप्रपा नेपाल बनेको छ ।

सङ्घीय सरकारमा अहिले गठबन्धनको सरकार छ । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन मिलेर चुनाव लडे ललितपुरमा एमाले संकटमा पर्ने देखिन्छ । किनकि विगतको मतपरिणाम हेर्दा पनि कांग्रेस र माओवादी मिल्दा अत्यधिक मत भएको छ । यसबीचमा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी बनेको छ । यो पार्टीले पनि एमालेका केही हजार मत लैजाने अनुमान गरिएको छ । तर, बढेका मतदातामध्ये धेरैले कता साथ दिन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

विगतकै मतका आधारमा हेर्दा यदि संघीय सरकारमा जस्तै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल भयो भने ललितपुर एमालेका लागि फलामको चिउराजस्तै हुन सक्छ । तालमेल भएन र यी दल एक्लाएक्लै मैदानमा गए भने एमालेको सम्भावना हुनेछ । किनकि थपिएका मतदातामध्ये धेरै आफ्नो पक्षमा रहेको उसको आकलन छ ।

त्यसबाहेक विगतमा भन्दा जनाधार बढेको र विवेकशील साझा पार्टी निकै कमजोर देखिएकाले उसका धेरै भोट पनि आफूले पाउन सक्ने एमालेको आकलन छ । तालमेल भएन भने विगतमा झिनो मतान्तरको हारको बदला एमालेले लिन सक्ने सम्भावना छ । तर, त्यसका लागि उसले राप्रपासँग भने तालमेल गर्नुपर्नेछ । महानगरमा राप्रापाका पनि केही हजार मत छन् । चुनाव जितेर पनि उल्लेख्य काम गर्न नसकेकाले कांग्रेसलाई विगतको मत कायम राख्न भने मुस्किल छ ।

माधवकुमार नेपालले नयाँ पार्टी बनाए पनि नेता–कार्यकर्ताको ठूलो हिस्सा एमालेमै छ । त्यसले एमालेलाई कति असर गर्छ अहिले नै आकलन गर्न कठिन छ ।

तर, प्रतिस्पर्धी दलमा आएको विभाजन ललितपुरजस्तो स्थानमा कांग्रेसका लागि फाइदाजनक हुन सक्छ । त्यसबाहेक एमालेसँग तालमेल गरेको राप्रपा पनि विभाजन हुनु कांग्रेसका लागि थप सहज अवस्था हो ।

२०७४ को चुनावमा मेयरका उम्मेदवारले पाएको मत हेर्ने हो भने एमाले र विवेकशील साझाको मत जोड्दा ३७ हजार सात सयभन्दा बढी हुन्छ । यो कांग्रेसले पाएको मतभन्दा १३ हजारभन्दा बढी हो । अब विवेकशील साझाले कुन दलसँग तालमेल गर्छ ? एक्लै लड्दा उसले गुमाउने मत कता जान्छ भन्ने विषयले पनि चुनावी परिणाम प्रभावित हुन सक्छ ।

महानगरमा २०७४ को चुनावमा एक लाख १२ हजार नौ सय २२ मतदाता थिए । अहिले मतदाता बढेका छन् । बढेका मतदाताको सङ्ख्या निर्वाचन आयोगले अपडेट गरिसकेको छैन । तर, थपिएका दसौँ हजार नयाँ मतदाता पनि चुनावमा निर्णायक बन्न सक्नेछन् । यसबाहेक दलहरूले छान्ने उम्मेदवारले पनि ठूलो अर्थ राख्छ । नेवार समुदाय बाहुल्य रहेको ललितपुरमा जातिगत अवस्थाले पनि परिणाम तलमाथि हुन सक्छ । नेवार समुदायमा पनि महर्जनको सङ्ख्या महानगरमा अत्यधिक छ । त्यसैले गत चुनावमा मेयरमा पाँचजना महर्जन उम्मेदवार थिए । तर, एमालेले भने व्यञ्जनकारलाई उम्मेदवार बनाएपछि केही मत चिरीबाबु महर्जनतिर गएको विश्लेषण गरिएको थियो । आगामी निर्वाचनमा पनि महर्जन जातिबाटै उम्मेदवार बनाउन दलहरूले प्रयास गर्ने निश्चित छ । तर, समग्रमा ललितपुरको चुनावी परिणाम भने दलहरूबीचको समीकरणले नै तय गर्नेछ ।

ललितपुर महानगर– चिरीबाबुको मोनोरेल पनि कागजमै, विवादमा बित्यो कार्यकाल