NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

युक्रेन युद्धः पोल्यान्ड जाँदै अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले नेटो र युरोपेली संघका सहयोगीसँग बैठक बसेपछि राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्यान्ड भ्रमणमा जाने जनाएकाे छ ।

बाइडेन युक्रेनमा जारी युद्धमा मानवीय अवस्थाबारे वार्सामा पोल्यान्डका राष्ट्रपति आन्द्रेजेज डुडासँग वार्ता गर्न जान लागेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति बाइडेनले रुसको आक्रमणबाट युक्रेनमा भएको मानवीय र मानवअधिकार संकटलाई अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरुसँग कसरी प्रतिक्रिया दिइरहेको छ भनेर छलफल गर्नेछन् ।’

सोमबार बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोन वार्ता गर्ने कार्यक्रम छ ।

बुधबार बाइडेन नेटो एवं युरोपेली परिषदको शिखर सम्मेलनमा सहभागी हुन ब्रसेल्स जानेछन् । साथै उनी जी–७ को बैठकमा पनि सहभागी हुने बताइएको छ । तर यात्राको क्रममा बाइडेनको युक्रेन पुग्ने योजना छैन ।

रुससँग वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध : जेलेन्स्की