NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जब गणेशमानले गिरिजाप्रसादलाई निष्कासनको प्रस्ताव गरे

कृष्णप्रसाद कोइरालाका तीन सन्तान मातृका कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला यो देशको प्रधानमन्त्री बने । यिनमा गिरिजा कान्छा हुन्, जो नेपालमा सबैभन्दा धेरै (६ पटकसम्म) देशको प्रधानमन्त्री बने । ०६२/६३ सालको जनआन्दोलनको नेतृत्व गरेर उनले जीवनको उत्तरार्द्धमा आफ्नो छवि चम्काएको भए पनि उनको विगतका क्रियाकलापचाहिँ सदा विवादास्पद र आलोचित रहे ।

आज नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा उनको महिमागान र प्रशंसामा लेख्ने र बोल्नेहरूको कमी नहोला । मानिसका जतिसुकै खराबी भए पनि निधनपश्चात असल पक्षको मात्र चर्चा हुने गरेको छ । तर कोइरालाको व्यक्तित्त्व न त बीपी कोइरालाजस्तो बहुआयामिक थियो, न त गणेशमान सिंहजस्तो साहसी । कृष्णप्रसाद भट्टराईमा जस्तो नैतिक इमानदारिता र सादगीपन पनि उनमा थिएन ।

जीवनको उत्तरार्द्धमा गणतन्त्रको पक्षमा खडा भएर कोइरालाले देश र जनताका लागि ऐतिहासिक योगदान दिएकै हुन् । तर नातावाद, कृपावाद, हैकमवाद, धनवादमा पनि उनी अहिलेका शीर्ष नेताहरूभन्दा कम थिएनन् । लाउडादेखि धमिजा काण्डसम्ममा उनको नाम मुछिएकै हो । परिवारवादका हकमा उनले छोरी सुजाता कोइरालालाई क्रेनले तानेर राजनीतिमा स्थापित गराउन खोजे । अतः स्मृति दिवसका अवसरमा गिरिजाबाबुका त्यस्ता पाटाहरूको पनि चर्चा गरौं, जसबाट पाठ सिकेर आजका नेताहरू सच्चिऊन् ।

जीवनको उत्तरार्द्धमा गणतन्त्रको पक्षमा खडा भएर कोइरालाले देश र जनताका लागि ऐतिहासिक योगदान दिएकै हुन् । तर नातावाद, कृपावाद, हैकमवाद, धनवादमा पनि उनी अहिलेका शीर्ष नेताहरूभन्दा कम थिएनन्

अदालतमा हुलहुज्जत

२०६१ साल भदौ प्रसंग हो । तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासन थियो । राजाले संसदवादी दलका नेताविरुद्ध भ्रष्टाचारको मुद्दामा कारबाही चलाउने सुर कसे ।

यसै सिलसिलामा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्‍यो । कोइरालालाई बयानका लागि बोलाइयो ।

कोइरालाले अख्तियारलाई उपेक्षा गरिदिए । उनी बयान दिन गएनन् । बरु उनले अख्तियार, अदालत र राजाप्रति कटाक्ष गरिरहे । उनले भनेका थिए, ‘राजाको प्रत्यक्ष शासनका अगाडि सर्वोच्च अदालत निरीह र विवेकशून्य सावित भएको छ । म एउटा सुझाव दिन चाहन्छु, सर्वोच्चलाई नारायणहिटी दरवारभित्रै राख्न उचित हुन्छ होला । म तानाशाहीका अघिल्तिर घुँडा टेक्ने छैन, म कुनै पनि अवस्थामा बयान दिन जान्नँ । बरु जेल जान तयार छु ।’

कोइरालाको अभिव्यक्तिबाट अदालतको अपहेलना भएको भन्दै जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्चमा रिट हाले । अदालतले ०६१ असोज ४ मा कोइरालालाई एक साताभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दियो ।

परिवारवादका हकमा उनले छोरी सुजाता कोइरालालाई क्रेनले तानेर राजनीतिमा स्थापित गराउन खोजे

अदालतमा ‘संविधानअन्तर्गत रहेर संवैधानिक निकायले गरेका गैरकानूनी क्रियाकलापको विरोध गरेको र त्यो आफ्नो हक भएको’ दाबी गर्दै लिखित जवाफ दिए ।

अदालतमा जवाफ दिन जाँदा कोइराला विद्यार्थी नेताको दलबलका साथ गएका थिए । त्यसक्रममा विद्यार्थीहरूले अदालतभित्रका टेबुलका ऐना र टेलिफोन झार्दै होहल्ला गरे । उनीहरूले ‘राष्ट्रपति गिरिजा जिन्दावाद’को नारा लगाएका थिए ।

गिरिजाप्रसाद कोइरालाको नामसँग ‘राष्ट्रपति’ शब्द जोडिएको त्यो पहिलो पटक थियो । ०६२ को जनआन्दोलनका बेला माओवादी अध्यक्ष प्रचण्डले पनि कोइरालालाई राष्ट्रपति पदको लोभ देखाएकै हुन् । बाह« बुँदे समझदारीपछि पनि बेलाबेलामा ‘बेबी किङ’को कुरा गरिरहेका कोइरालाले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुने महत्त्वाकांक्षाकै कारण गणतन्त्र स्थापनाको लाइनमा खडा भएको विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ ।

माओवादीको भाउतोमा लागेर गिरिजाबाबुले संवैधानिक राजतन्त्रको लाइन छाड्नु गल्ती भएको टिप्पणी अहिले पनि कतिपय कांग्रेसजन गर्छन् । राष्ट्रपति निर्वाचनमा भने माओवादीले कोइरालालाई लोप्पा खुवाइदियो । कालान्तरमा कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो भुल भएको भन्दै प्रचण्डले आत्मालोचना पनि गरेका थिए ।
‘ऊ गिरिजा आइपुग्यो’

कांग्रेसका पुराना नेता कुवेर शर्माले आफ्नो पुस्तक ‘विद्रोह इतिहासका साक्षीहरू’मा गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धबारे रोचक प्रसंग उल्लेख गरेका छन् ।

शर्माले लेखेका छन्, ‘गिरिजाप्रसादजीलाई मैले ०२८ सालमा फारविसगञ्जमा उहाँको क्याम्प फारविसगञ्जमा भेटेको थिएँ । त्यो क्याम्पमा २७/२८ जना कार्यकर्ता बस्दथे । श्रीमती नोना कोइरालाले क्याम्प चलाउनुहुन्थ्यो । गिरिजाबाबुसँग राजनीतिक कुरा केही भएन । किनभने, उहाँ राजनीतिक छलफल र विश्लेषण गर्नुहुन्न । म विराटनगर फर्केपछि त्यहाँका उद्योगपति, व्यापारी र सरकारी कर्मचारीहरूले सुनाए–गिरिजाबाबुले चन्दा मागेर पठाउनुहुन्छ, नदिए सीमा पारि जाँदा उहाँका कार्यकर्ताले हैरान गर्छन् ।’

अदालतमा जवाफ दिन जाँदा कोइराला विद्यार्थी नेताको दलबलका साथ गएका थिए । त्यसक्रममा विद्यार्थीहरूले अदालतभित्रका टेबुलका ऐना र टेलिफोन झार्दै होहल्ला गरे । उनीहरूले ‘राष्ट्रपति गिरिजा जिन्दावाद’को नारा लगाएका थिए

यसबाट के स्पष्ट हुन्छ भने माओवादीमाथि चन्दा आतंकको आरोप लगाउने कांग्रेसले पनि निर्वासनकालमा उद्यमी व्यापारीमाझ चन्दा आतंक नचलाएको चाहिँ होइन रहेछ ।

कांग्रेसका पुराना नेताहरूका अनुसार गिरिजाबाबुको नेतृत्वमा संकलन हुने चन्दाको रकमचाहिँ पार्टीको काममा कमै उपयोग हुन्थ्यो । कोइराला परिवारका सदस्यहरूको फुरमासमै रकम खर्च हुन्थ्यो । विमान अपहरणबाट लुटिएको ३२ लाख रूपैयाँकै बारेमा अनेक प्रश्नहरू खडा भएका थिए ।

लेखक शर्माले पुस्तकमा अर्को प्रसंग उल्लेख गरेका छन्, ‘निर्वासन कालमा बनारस पुगेका बीपी भन्ने गर्नुहुन्थ्यो–ऊ, गिरिजा आइपुग्यो । किन आएको हो, त्यो उसैलाई थाहा हुँदैन । फेरि अब कता हिँडिहाल्ने हो ?’

भुइँतलामा गिरिजाबाबु

यसबाट के स्पष्ट हुन्छ भने माओवादीमाथि चन्दा आतंकको आरोप लगाउने कांग्रेसले पनि निर्वासनकालमा उद्यमी व्यापारीमाझ चन्दा आतंक नचलाएको चाहिँ होइन रहेछ

पञ्चायतकालकै कुरा हो । बीपी कोइराला चाबहिलमा बस्थे । उनलाई भेटन थुप्रै बुद्धिजीवी, पार्टीका नेता–कार्यकर्ता चाबहिल गइरहन्थे । आगन्तुकहरू बीपीलाई माथिल्लो तलामा भेट्थे । फर्कंने बेलामा बीपी उनीहरूसँग भन्ने गर्थे, ‘तल एक पटक गिरिजालाई पनि भेटेर जानुहोला ।’

भुइँतलाको एउटा कोठामा गिरिजा बस्थे । आगन्तुकहरू उनको कोठामा यसो चियाउँथे र ‘गिरिजाबाबु के गर्दै हुनुहुन्छ ?’ भनेर सोध्नासाथ हिँडिहाल्थे । गिरिजाबाबुलाई कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले खासै महत्त्व दिँदैनथे । उनी भुइँतलाको कोठामा गाउँ तहका कार्यकर्तासँग बात् मारिरहेका हुन्थे ।

तिनताक कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल र शैलजा आचार्यजस्ता नेताहरू बीपीसँग गोप्य बैठकमा रहँदा गिरिजाबाबु त्यही भुइँतलाको कोठामा हुन्थे । कहिलेकाहीँ गिरिजाबाबु बीपीको कोठामा जाँदा बीपी भन्थे, ‘अहिले हाम्रो विशेष छलफल छ, तिमी पछि आउनु ।’

‘गिरिजा राजासँग मिलिसके’

२०४६ सालको जनआन्दोलनअघि गिरिजाबाबु बारम्बार राजा र राजाका सचिवहरूलाई भेट्थे । दरबारसँग राजनीतिक सम्झौताका कुरा गर्थे । लेखक शर्माले आफ्नो पुस्तकमा त्यसबारेमा लेखेका छन्, ‘एक दिन जाडोको महिना थियो । म र किशुनजी उहाँको कुपण्डोलस्थित निवासबाट पैदल हिँड्दै पार्टी अफिस जाँदै थियौं । वाग्मतीको पुलतिर आउँदा उहाँले हिन्दीमा भन्नुभयो, ‘हेर्नुहोस् न, गणेशमानजी भन्नुहुन्छ, गिरिजा राजासँग मिलिसकेका छन् । उनलाई पार्टीबाट निकालिदिऊँ । तपाईं के भन्नुहुन्छ ? मैले भनेँ, किशुनजी, पार्टी प्रतिबन्धित अवस्थामा छ, कमजोर छ । दरबार पार्टी फुटाउन प्रयत्नशील छ । गिरिजाबाबुलाई पार्टीबाट हटाउँदा अथवा महामन्त्रीबाट हटाउँदा पार्टीलाई नराम्रो धक्का लाग्छ । गिरिजाबाबुलाई पनि राजासँग मिल्ने बाटो खुल्छ, नहटाउनुहोस् ।’

गिरिजाबाट ‘नरसंहार’

२०४८ को आमनिर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ क्षेत्र नम्बर–१, सुनसरी क्षेत्र नम्बर–३ बाट विजयी भएका थिए । कांग्रेसले त्योबेला पाएको बहुमत टिकाउन सकेन । यसमा प्रधानमन्त्री कोइरालाकै दम्भी र पेलेरै जाने स्वभाव कारक थियो । तिनताक कोइरालाले एकातिर कम्युनिस्ट शक्ति र अर्कोतिर पार्टीभित्रै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पक्षलाई तारो बनाएका थिए ।

कम्युनिस्टहरूलाई ‘माले, मसाले र मण्डले एकै हुन्’ भन्दै आलोचना गर्न थाले भने पार्टीभित्र कोइरालाइतर पक्षमाथि हेपाहा व्यवहार गर्न थाले । यसै सिलसिलामा उनले भट्टराई पक्षका ६ जना मन्त्रीलाई ६ महिनामै हठात क्याबिनेटबाट बर्खास्त गरे । कांग्रेसका वरिष्ठ नेताहरू बासु रिसाल, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ र शेख इद्रिसलाई पूर्व जानकारी नदिई मन्त्रीबाट बर्खास्त गरिएको थियो ।

कांग्रेसका पुराना नेताहरूका अनुसार गिरिजाबाबुको नेतृत्वमा संकलन हुने चन्दाको रकमचाहिँ पार्टीको काममा कमै उपयोग हुन्थ्यो । कोइराला परिवारका सदस्यहरूको फुरमासमै रकम खर्च हुन्थ्यो

यो घटनाबाट कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको चित्त दुख्यो । गणेशमान सिंहले त चाक्सीबारीस्थित आफ्नो निवासमा आएका पत्रकारहरूसँग भनेका थिए, ‘गिरिजाले नरसंहार नै गरे ।’

६ जना मन्त्रीको बर्खास्तगीपछि नै कांग्रेसमा कलहको विजारोपण भयो । कोइरालाविरोधी खेमाका कांग्रेस सांसदहरूले संसदमै कोइरालाको आलोचना गर्न थाले । यस्तैमा कोइराला सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित हुने दिन कांग्रेसका ३६ जना सांसद अनुपस्थित भए । यसले गर्दा कोइरालाको प्रस्ताव फेल भयो । राजीनामा दिनुको साटो उनले संसद् विघटन गरिदिए । यही घटनापछि कांग्रेसमा ‘छत्तीसे र चौहत्तरे समूह’को जन्म भएको हो, जसले कांग्रेसमा लामो समयसम्म प्रभाव पारिरह्यो । कांग्रेस विभाजित नै भयो ।

‘धमिजा काण्ड’पछि संसद् विघटन

कोइराला प्रधानमन्त्री भएकै बेला तत्कालीन शाही नेपाल वायु सेवा निगमको प्रवर्द्धन गर्न भन्दै बेलायत बस्ने भारतीय मूलका दिनेश धमिजा नामक व्यापारीसँग सम्झौता गरियो । सम्झौतामा ती एजेन्टले व्यापार प्रवर्द्धनका लागि वर्षको ५ सय वटा टिकट शानेवानीको कुनै पनि रुटमा आफूखुसी बिना पैसा बाँड्न पाउने र बेचेको टिकटमा मोटै कमिसन पाउने उल्लेख थियो ।

निर्वासनकालमा बनारस पुगेका बीपी भन्ने गर्नुहुन्थ्यो–ऊ, गिरिजा आइपुग्यो । किन आएको हो, त्यो उसैलाई थाहा हुँदैन । फेरि अब कता हिँडिहाल्ने हो ?’

जब यो सम्झौता बाहिर सार्वजनिक भयो, प्रतिनिधिसभामा विपक्षी एमालेले हंगामा खडा गर्‍यो । संसदको लेखा समितिले यसको छानविन गर्‍यो । छानबिनका क्रममा धमिजाको सो कम्पनी ब्रिटिस पाउण्ड पुँजी राखेर भर्खरै मात्र बेलायतमा दर्ता भएको पत्ता लाग्यो ।

धमिजालाई सो काम दिलाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीलाई दबाब दिएका थिए । लेखासमितिमा बयानका क्रममा जोशीले भनेका थिए, ‘प्रधानमन्त्री निवासको बैठकमा बसिरहेका एकजना नौलो मानिसलाई देखाएर गिरिजाबाबुले उनको काम किन भएन, छिटो गरिदिनुहोस् भन्नुभयो । प्रधानमन्त्री जानुभएपछि त्यो मानिसको परिचय सोध्दा धमिजा रहेछ ।’

यसैगरी तत्कालीन शाही नेपाल वायु सेवा निगमको सञ्चालक समितिका सदस्य रमेश ढुंगेलले लेखा समितिमा बयानका क्रममा भनेका थिए, ‘एक दिन प्रधानमन्त्रीबाट शाही नेपाल वायु सेवा निगमको सञ्चालक समितिका सदस्यहरूलाई बोलाइयो । हामी त्यहाँ गएपछि बैठक कोठामा एउटा नौलो मानिस बसेको पायौं । प्रधानमन्त्री आउनुभयो र उभिएरै भन्नुभयो–यो मानिसको काम अझै भएन ? तपाईंहरूले अहिल्यै निर्णय गरिदिनुहोस् ।’

हामीहरू बडो अप्ठ्यारोमा पर्‍यौं र शानेबानीका तत्कालीन कार्यकारी निर्देशकलाई प्रधानमन्त्रीको आज्ञाअनुसार गर्न तपाईंलाई अधिकार प्रायोजित गरेका छौं, मिल्छ भने गरिदिनुहोस् भन्यौं ।’

पञ्चायतकालकै कुरा हो । बीपी कोइराला चाबहिलमा बस्थे । उनलाई भेटन थुप्रै बुद्धिजीवी, पार्टीका नेता–कार्यकर्ता चाबहिल गइरहन्थे । आगन्तुकहरू बीपीलाई माथिल्लो तलामा भेट्थे । फर्कंने बेलामा बीपी उनीहरूसँग भन्ने गर्थे, ‘तल एक पटक गिरिजालाई पनि भेटेर जानुहोला

लेखा समितिका तत्कालीन सभापति राधाकृष्ण मैनालीले छानबिनको सम्पूर्ण प्रतिवेदन पूर्ण सदनमा प्रस्तुत गरे । त्यही राति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणेशमानजी, किशुनजी र पार्टीको समेत सहमति नलिई संसद् विघटनका लागि दरबारमा सिफारिस गरे । कोइरालाले ‘धमिजा काण्ड’को अभियोगबाट बच्न संसदकै अन्त्य गराइदिएको यो घटनाबारे नेपाली राजनीतिका विद्यार्थीका लागि उल्लेखनीय छ ।

‘गिरिजा’ नामको रहष्य

१९८१ साल असार १८ मा जन्मिएका कोइरालाको निधन ०६६ चैत्र ७ गते ८५ वर्षको उमेरमा भएको थियो । कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा जन्मिएका गिरिजाको नाम ‘गिरिजा’ रहनुको पनि रोचक सन्दर्भ छ ।

तिनताक कोइराला परिवार राणाहरूको कोपभाजनको शिकार भएर भारत, विहार राज्यको टेडी, सहर्षामा बस्न विवश थिए । गिरिजा गर्भमा रहेका बेला कोइरालाका माता–पिता गिरिजादेवीको मन्दिर गएछन् । छोरा या छोरी जे भए पनि ‘गिरिजाप्रसाद’ वा ‘गिरिजादेवी’ तय भएछ । यसरी आफ्नो नाम गिरिजाप्रसाद राखिएको कोइरालाले विभिन्न कार्यक्रममा सुनाउँथे ।

राणा शासन विरोधी आन्दोलनमा कोइरालाको अतुलनीय योगदान रह्यो । विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनका उनी अग्रणी नेता थिए । सोही आन्दोलनका क्रममा जेल परेका कोइराला राणा शासनको अन्त्यपछि नेपाली कांग्रेस, मोरङ जिल्ला सभापति भए । नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष भए ।

गिरिजाबाबुलाई कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले खासै महत्त्व दिँदैनथे । उनी भुइँतलाको कोठामा गाउँ तहका कार्यकर्तासँग बात् मारिरहेका हुन्थे

राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गरेपछि उनले आफ्ना दाजु तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौं नेतासँग नजरबन्दमा रहनुपर्‍यो । राजाको प्रत्यक्ष हुकुमी शासनमा दलमाथि प्रतिबन्ध लगाइयो । कोइराला सात वर्ष लगातार जेलमा रहे । जेलमै अनसन बसे । २१ दिन भोक हड्ताल गरेपछि उनी सन् १९६७ मा जेलबाट छुटेका थिए ।

जेलबाट छुटेपछि कोइराला भारत निर्वासनमा गए । ०३३ सालमा भारतको पटनामा सम्पन्न कांग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका उनी ०४७ सम्म महामन्त्री रहे । यसबीचमा कोइराला पञ्चायतमा प्रवेश गर्न लागको हल्ला पनि चले । राजाले परराष्ट्रमन्त्री दिएको खण्डमा पञ्चायत प्रवेश गर्न कोइरालाले गोडा उचालेको चर्चा नचलेको होइन ।

किशुनजीमाथि ‘अन्र्तघात’ र धोका

कहिलेकाहीँ गिरिजाबाबु बीपीको कोठामा जाँदा बीपी भन्थे, ‘अहिले हाम्रो विशेष छलफल छ, तिमी पछि आउनू

२०४७ सालको आन्दोलन भयो । मुलुकमा बहुदल आयो । ०४८ को आमनिर्वाचिनपछि कांग्रेसको बहुमत आयो । काठमाडौं क्षेत्र नम्बर १ बाट खडा भएका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई एमाले र कांग्रेसको गिरिजा पक्षले मिलेर ‘अन्र्तघात’ गरेर हराइयो । नेपाली राजनीतिमा ‘अन्र्तघात’ शब्दका प्रथम प्रयोक्ता किशुनजीको अनन्य कार्यकर्ता रेवतीरमण सुवेदीले तिनताक पंक्तिकारसँग भनेका थिए, ‘गिरिजाबाबुले भूविक्रम नेम्वाङ, कुवेर राईसँग मात्र होइन, एमालेका नेताहरूसँग पनि साँठगाँठ गरेर किशुनजीलाई हराए । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसीहरू नै एमालेको पक्षमा भोट भाग्दै थिए । एमालेका स्थानीय नेताले कांग्रेसबाट लाखौं रकमसमेत बुझेका थिए ।’

कोइराला सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम पारित हुने दिन कांग्रेसका ३६ जना सांसद अनुपस्थित भए । यही घटनापछि कांग्रेसमा ‘छत्तीसे र चौहत्तरे समूह’को जन्म भएको हो, जसले कांग्रेसमा लामो समयसम्म प्रभाव पारिरह्यो

नेपाली राजनीतिमा त्यसै दिनबाट विकृति विसंगति प्रारम्भ भयो । भट्टराई नहारेको भए कांग्रेस संसदीय दलको नेता उनै हुन्थे, गिरिजा त्योबेला प्रधानमन्त्री हुन पाउँदैनथे । भट्टराई हारेपछि स्वतः कोइरालाको पोल्टामा संसदीय दलको नेता पद पुगिहाल्यो । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने संसदीय परिपाटी अनुसार उनी ०४८ साल जेठ १२ मा प्रधानमन्त्री भए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर–१ र सुनसरीको क्षेत्र नम्बर–५ बाट उनी निर्वाचित भए । तर मध्यावधि निर्वाचनपछि मुलुकमा त्रिशंकु संसद् बन्यो । सत्ता समीकरणका खेल सुरु भए । एमाले र कांग्रेसले पालैपालो पूर्व पञ्चहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए ।

सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि कोइराला प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै ०५४ चैत ३० गते दोस्रो पटक प्रधानमन्त्री भए । ०५५ पुस ८ गते नेपाली कांग्रेस, नेकपा एमाले आदिको संयुक्त सरकारको नेतृत्व गर्दै कोइराला तेस्रो पटक प्रधानमन्त्री भए ।

गिरिजा राजासँग मिलिसकेका छन् । उनलाई पार्टीबाट निकालिदिऊँ । तपाईं के भन्नुहुन्छ ?

०५६ सालको निर्वाचनमा कांग्रेसमा विभाजित मानसिकता थियो । त्यसलाई एकताबद्ध बनाउन र पार्टीमा भावनात्मक मिलापका लागि कोइरालाले नै कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे । यसले चुनावमा प्रभाव पनि पार्‍यो । कांग्रेसको बहुमतको सरकार बन्यो । भट्टराई प्रधानमन्त्री भए । तर कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीका रूपमा ६ महिना काम गर्न दिएनन् ।

फ्रान्स गएर आँखाको उपचार गराउँछु र आफैं राजीनामा दिन्छु भन्दासमेत कोइरालाले भट्टराईको आग्रह मानेनन् । हठात् प्रधानमन्त्रीबाट हटाउन चलखेल गरे र ०५६ चैत ७ गते चौथो पटक प्रधानमन्त्री भए । आफ्नै पार्टीका सांसदहरूले विरोध गरेपछि किशुनजीले राजीनामा दिए ।

राजीनामा दिने क्रममा संसदमा बोल्दै भट्टराईले ‘भीमसेन थापाहरूले सेरिएर मर्नुपर्ने अभिशप्त नेपाली इतिहासको आफू पनि एक पात्र भएको’ आशयमा भावुक मन्तव्य दिएका थिए ।

जनआन्दोलन–२ पछि ०६३ वैशाखमा पाँचौं पटक प्रधानमन्त्री भएका कोइरालाले संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्रीबाट राजीनामा दिए । भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’को उपाधि पाएका कोइराला त्यो हदसम्मका महान् नेता हुन् कि होइनन् ? इतिहासले मूल्यांकन गर्नेछ ।