NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पार्टी स्थापना दिवसका दिन एमालेको घोषणापत्र सार्वजनिक हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
स्थानीय तहको चुनाव तयारी सम्बन्धमा सोमबार पार्टी कार्यालय थापाथलीमा बसेको पोलिटब्यूरोको पहिलो बैठकमा स्थानीय तहसम्बन्धी घोषणापत्र बैशाख ९ मा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

साथै त्यसै दिन ७५३ स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले केन्द्रीय कमिटीमा पेश हुने ११ वटा एजेण्डा तय गरेको छ । यसअघि केन्द्रीय सचिवालयले तय गरेको स्थानीय तहका उम्मेदवारको मापदण्डलाई कायमै राखी थप मापदण्ड तय गरेको छ ।

उनले जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने बताए ।

‘पार्टी आन्दोलनमा पुर्याएको योगदान, निष्ठा र समावेशी सन्तुलनलाई पनि आधार बनाएर उम्मेदवार छनोटको मापदण्ड बैठकले तय गरेको छ’,गुरुङले भने, उम्मेदवार छनोट गर्दा उसको लोकप्रियता, अनुशासन, कार्यगत क्षमता र कामप्रतिको लगाव हेरेर उम्मेदवार छनोट गरिन्छ ।’

गुरुङका अनुसार वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।

त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ ।