NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युएईसँगको शर्मनाक पराजयमा अनौठो संयोग

काठमाडौं । सामान्य लक्ष्य पछ्याए पनि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग ९९ रनको फराकिलो शर्मनाक हार बेहोर्न बाध्य भएको छ ।

सिरिज अन्तर्गत यस अघिको पहिलो खेलमा १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिम युएईसँग ४८ रनले पराजित भएको थियो । बलरले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटर नचल्दा सामान्य लक्ष्य पछ्याउन पनि नेपाल असफल भएको थियो ।

सोमबार फेरि दोस्रो खेलमा नेपालको नियति उस्तै भइदियो । बलरकाे प्रदर्शन खराब नभए पनि ब्याटर नचल्दा नेपाली टिमले फेरि ९९ रनको शर्मनाक पराजय बेहोर्यो ।

यस अघिको पहिलो खेलमा १६९ रन पछ्याउँदा ३५.१ ओभरमा अलआउट भएको नेपाल २०३ रन पछ्याउँदा पनि ३५.१ ओभरमै अलआउट भयो । दुवैमा उस्तै संयाेग भइदियाे। पहिलो खेलमा १२० रनमा अलआउट भएको नेपाली टिमले दाेस्रो खेलमा १०३ रन मात्रै बनायो ।

५० अाेभरकाे खेलमा ३५ अाेभरमा अलअाउट हुनु खराब ब्याटिङकाे नमूना हाे । जुन नेपालकाे सधैंकाे लागि टाउकाे दुखाइकाे विषय बन्न पुगेकाे छ ।

पहिलो खेलमा युएईविरुद्ध १२० रन बनाउने क्रममा रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनी पछि ज्ञानेन्द्र मल्लले २८ रनमात्रै बनाएका थिए । त्यसपछिको उच्च रनमा कुशल भुर्तेलको ११ रन थियो । यीबाहेक दोहोरो अंकमा कुनै ब्याटरले रन बनाउन सकेका थिएनन् ।

सोमबार १०३ रन बनाउँदा नेपालको लागि उच्च रन बनाउने क्रममा ज्ञानेन्द्र मल्लले ३० रन जोडे । उनीबाहेक आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाए । विनोद भण्डारीले १२ र रोहित पौडेलले ९ रन मात्रै बनाए ।

ओपनर पवन सर्राफ २ र कुशल भुर्तेल ५ रनमा आउट हुन पुगे । अर्का आशा गरिएका दीपेन्द्रसिंह ऐरी पहिलो बलमै क्याचआउट हुन पुगे । पपुवा न्युगिनीविरुद्ध जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका करण केसीले चार रन मात्रै बनाए ।

सात बलर खेलाउँदा विक्रम सोवले मात्रै ५ को इकोनोमीमा बलिङ गरे । अन्य बलरले उनको भन्दा किफायती बलिङ गरे ।
तर ब्याटरहरु नचल्दा फेरि पनि नेपाली टिमले शर्मनाक पराजय बेहोर्यो ।

सोमबार नेपालले पाएको २०३ रनको लक्ष्य एकदिवसीयमा ठूलो लक्ष्य होइन । प्रतिओभर चार रन मात्रै बनाए पुग्नेमा नेपाली ब्याटरले नियमित स्ट्राइक रोटेट गरेर खेल्न खोजेनन् । कतिपय ब्याटर खराब सट खेलेर आउट हुन पुगे ।

पहिलो म्याचमा युएईका जुनिद सिद्दिकीले पहिलो खेलमा ३ र दोस्रो खेलमा चार विकेट लिए ।
सिरिज अन्तर्गत अब नेपालले अन्तिम खेलमा मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । पिएनजीविरूद्द पहिलाे खेलमा नेपालले २०५ रन बनाउँदा मुस्किलले २ विकेटकाे जित निकालेकाे थियाे । अाेपनर कुशल भुर्तेल याे खेलमा पनि १ रनमै अाउट भएका थिए ।

नेपाल युएईसँग फराकिलो अन्तरले पराजित