NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

योग्यता नपुगेका शिक्षकलाई प्रधानाध्यापक सिफारिस

सुनिल मण्डेल, बझाङ । जिल्लाको छब्बीस पाथीभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा योग्यता नपुगेका शिक्षक गोविन्द धामीलाई नियमावलीविपरीत प्रधानाध्यापक पदमा सिफारिस गरिएको छ ।

प्रधानाध्यापक जनक बोहराले आफू असक्षम प्रअ भएको स्वीकार्दै राजीनामा दिएपछि रिक्त पदमा योग्यता नपुगेका धामीलाई सिफारिस गरिएको हो ।

शिक्षा नियमावलीको नियममा ९३ मा प्रधानाध्यापकको योग्यता सम्बन्धी व्यवस्था छ । शिक्षा नियमावलीअनुसार माध्यामिक तहको प्रधानाध्यापक हुन स्नातकोत्तर सकेर ५ वर्ष स्थायी रुपमा कार्यरत शिक्षक योग्य हुने व्यवस्था छ । तर नवनियुक्त प्रधानाध्यापक धामी माविका राहत शिक्षक हुन् ।

उम्मेदवारहरूले प्रधानाध्यापक पदमा नियुक्ति समर्थन नगरिदिन तथा शिक्षा नियमावली अनुसार प्रअ नियुक्तिको लागि परिपत्र गरिदिन आग्रह गरेका छन् ।

मजखोरी माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षा नियमावलीविपरीत मावि राहत कोटामा कार्यरत शिक्षक धामीलाई जवर्जस्ती नियुक्ति गर्ने निर्णय गरेको बताइएको छ ।

“शिक्षा नियमावली अनुसार कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्ने भनिएको छ, जसकारण मैले विगत ७ वर्षदेखि स्थायी सेवा गरी निरन्तर कार्यरत भएको हुँदा प्रधानाध्यापक पदका लागि मैले उम्मेदवारी दिएको थिएँ’, प्रअका उमेदवार तथा निमाविका गणित र विज्ञानका स्थायी शिक्षक वसन्त मण्डेलले निवेदनमा भनेका छन् ।

विद्यालय व्यवस्थापन समितिले आफ्नो दाबीमाथि कुनै छलफल नै नगरी राजनीतिको आड–भरोसामा २ जना विद्यालय व्यवस्थापन समितिका सदस्यले असहमति जनाउँदा पनि जवर्जस्ती प्रअ नियुक्ति गर्ने निर्णय गरेको उनको आरोप छ ।

यसर्थ, सो प्रधानाध्यापकको नियुक्तिमा समर्थन नगरी दिन र शिक्षा नियमावलीअनुसार नियुक्तिका लागि परिपत्र गरिदिन उनले निवेदन पेश गरेका छन् ।

यता छब्बीस पाथीभेरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायतले भने यसमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र उम्मेदवारको असहमति भए शिक्षक धामीलाई प्रअ पदमा नियुक्ति नगर्ने बताएका छन् ।

No description available.