NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते
कामनपाकी एक्ली वडाध्यक्षको अनुभव :

‘सिस्टम बसाल्नै गाह्रो रहेछ, तैपनि ९५ प्रतिशत काम गरेँ, अब उपमेयर लड्छु’

महिला त हो नि थर्काउनुपर्छ भन्ने पनि भेटेँ

काठमाडौं । स्थानीय तहमा प्रमुख वा अध्यक्षपछि वडाध्यक्ष अर्को महत्त्वपूर्ण पद हो । तर गत निर्वाचनमा स्थानीय तहका अधिकाशं कार्यकारी पदमा पुरुष अनुहार निर्वाचित भए । बाध्यकारी व्यवस्थाका कारण कमजोर भूमिकाका पदहरूमा मात्रै महिला उम्मेदवार बनाइयो । कतिसम्म भने बागमती प्रदेशभित्र मात्रै ६ जना महिला वडाध्यक्षमा चुनिन सफल भए । त्यसमध्येकी एक हुन्, काठमाडौं महानगरपालिका-१४ कि वडाध्यक्ष शोभा सापकोटा

महानगरपालिकाका ३२ वडामध्ये आफ्नो वडाले उत्कृष्ट काम गरेको सापकोटा दाबी गर्छिन् । आगामी निर्वाचनमा उपमेयर पदमा प्रतिस्पर्धा गर्ने उनको योजना छ ।

नेपालवाचसँग आफ्नो पाँचवर्षे महानगर अनुभव सुनाउँदै उनले जनतासँग वाचा गरेका ९५ प्रतिशत काम सम्पन्न गरेको दाबी गरिन् । बाँकी ५ प्रतिशत कामचाहिँ कोभिड–१९ का कारण प्रभावित भएको उनको भनाइ छ ।

कार्यकाल अवधिमा गरेका आठ सुधारका काम उनले आफ्नो शब्दमा यसरी सुनाइन् :

सुधार नंं. १

म वडाध्यक्ष निर्वाचित हुँदा जताततै समस्या नै समस्या थिए । ढल व्यवस्थापन अस्तव्यस्त थियो । फोहोर जताततै थुप्रिएका हुन्थे । खानेपानी र धुलो-धुँवाको समस्या पनि उत्तिकै थियो ।

१५ वर्षदेखि महानगर जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले काम चलाउँदै आएका थिए । म वडाध्यक्ष निर्वाचित भएर जाँदा वडाको आफ्नो भवनसमेत थिएन । कार्यालय कहिले कता, कहिले कता भाडाको घरमा सरिरहन्थ्यो । जसले जनतालाई साह्रै दुःख दियो । त्यसैले मेरो अगुवाइमा आफ्नै ५ तले सुविधासम्पन्न भवन बनायौं । यो भवन नेपाली सम्पदा झल्किने, अपांगमैत्री, अन्डरग्राउण्ड पार्किङसहितको छ ।

यहाँ सिस्टम बसाल्नै कठिन रहेछ । तथापि, मैले वाचा गरेका ९५ प्रतिशत काम गरेँ । पाँच प्रतिशत कामचाहिँ कोभिड–१९ महाव्याधिलगायत कारणले गर्न सकिनँ

सुधार नं. २

जन्म, विवाह, मृत्यु दर्ताजस्ता काम पहिले म्यानुअल हुन्थ्यो । यी सेवा लिन सेवाग्राही लाममा लाग्नुपथ्र्यो भने कर्मचारीले पनि ढड्डा पल्टाउनुपथ्र्यो ।

यी दृष्यले मलाई निकै छोयो । प्रविधिको प्रयोग गरेर यसलाई सेवालाई झण्झटमुक्त पार्ने प्रयासमा म सुरुदेखि नै लागेँ । अरूले पनि होस्टेमा हैंसे गर्नुभयो । यी काम गर्न विगतमा जस्तो अहिले सेवाग्राही कार्यालयसम्म धाइराख्नु पर्दैन । न त कर्मचारीले ढड्डा नै पल्टाइरहनुपर्छ । यी सबै काम अहिले अनलाइनबाट हुन्छ ।

सुधार नं ३

कर तिर्छु भनेर आउँदा पनि नागरिकले सास्ती झेल्नुपर्ने अवस्था थियो, हाम्रो महानगरपालिकामा । यसलाई अनलाइन प्रणालीमा लगेर प्रभावकारी र व्यवस्थित गर्न सकिन्थ्यो । त्यसैले अनलाइन प्रणालीमा जाने हामीले निर्णय लियौं । तथापि, अनलाइनमा ढाल्न भने केही समय लाग्यो । अहिले महानगरका ३२ वटै वडामा अनलाइनबाट काम हुन्छ । कामनपाका सेवाग्राही पहिलेजस्तो कर तिर्नकै लागि अड्डा धाइरहनु पर्दैन । घरमै बसेर अनलाइन प्रणालीको उपयोग गरी तिर्न सक्नुहुन्छ ।

७५ वर्ष उमेर पार गर्नु भएका ज्येष्ठ नागरिकलाई हामीले विशेष भत्ता कार्यक्रम पनि लागू गरेका छौं । यो योजनाअन्तर्गत उहाँहरूले वार्षिक १२ हजार पाउनुहुन्छ । यसका अतिरिक्त ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य र यातायात सुविधा पनि हामीले उपलब्ध गराएका छौं ।

सुधार नं. ४
वडा न. १४ मा कलंकी क्षेत्र पनि पर्छ । म आउँदा कलंकी धुँवा र धुलोले अस्तव्यस्त थियो । ठेकदारहरू भाग्ने, केन्द्रले समयमा काम नगर्ने अवस्था थियो । मैले यो काम प्रभावकारी ढंगले गर्न समयमा घचघच्याएँ ।

विकास निर्माणका काममा सरकारी निकायबीच सहकार्यको उत्तिकै अभाव थियो । हामी बनाउँथ्यौं तर विद्युत् प्राधिकरण, खानेपानी संस्थानलगायत निकाय खन्दै जान्थे । अहिले विगतमा जस्तो भद्रगोल छैन ।

महानगरले हामीलाई सबै कामको अधिकार दिएको भए १४ नं. वडालाई अझ उत्कृष्ट बनाउँथ्यौं । सुनमा सुगन्ध हुन्थ्यो । हामी प्राधिकरणमा, सडकमा गएर काम गर्न दबाब दिएपछि उनीहरूले काम गरे । अहिले सडकपेटीमा खाली भएका ठाउँमा बिरुवा रोपेका छौं ।

सुधार नं. ५
पिक एण्ड ड्रप नीति लागू ग¥यौं । यसपछि केही समय यात्रुहरूबाट धेरै गुनासो आयो । सिस्टम बसाल्न धेरै गाह्रो हुँदो रहेछ । फुटपाथ खाली गर्दा पसल गर्ने दिदीबहिनी रुन आउनुभयो । उहाँहरूलाई व्यवसायका लागि समय तोक्यौं र व्यवस्थापन गर्यौं ।

सुधार नं. ६

उपत्यकाको साझा समस्या हो खानेपानी । त्यसबाट हाम्रो वडा मुक्त हुने कुरा थिएन । मेलम्चीको पानी ल्याउने तयारी चल्दै थियो तर पाइप बिच्छ्याइएको थिएन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका  मिलन शाक्यलाई वडामै बोलाएर देखाएँ । त्यसपछि बल्ल पाइपलाइन जोडियो । यसैगरी पाइपलाइन जोड्न रिङरोड बाहिर पनि सर्वे गराएको छु ।

सुधार नं. ७

काकाकुल एरियामा पर्छ, कलंकी । फेरि महिला वडाध्यक्ष भएँ । सबैभन्दा धेरै पानी चाहिने त महिलालाई नै हो । खाना पकाउने, लुगा धुनेदेखि तरकारी खेतीसम्मका काम गर्दा महिलालाई धेरै पानी चाहिने । फेरि मतदाता पनि ५० प्रतिशतभन्दा धेरै महिला । खानेपानी दिनुहुन्छ भने भोट हाल्छम् भन्ने उहाँहरूको सर्त थियो । जित्नेबित्तिकै संघीय सांसद, प्रदेश सांसद सबैसँग बसेर खानेपानीको समस्या हटाउन काम गरेँ ।

कुनै ठाउँमा एक महिनासम्म पानी नआउने, कुनै ठाउँमा हरेक दिन पानी आउने अवस्था पनि वडा नं. १४ मा रहेछ । समानुपातिक ढंगले पानी खुवाउनुपर्छ भनेर पहल गरेँ । ८ सय घरधुरी भएको खड्का गाउँमा ३ हजार लिटरको रिजर्भ ट्यांकी बनाएँ । स्थानीय सबै खटेर खानेपानी ल्याउन लागि परे । अहिले त्यहाँ हरेक दिन पानी आउँछ ।

सुधार नं. ८

ढल पूरै जाम थियो । ठूला–ठूला पाइप हालेर ढल निकास गरियो । लगभग सबै टोलमा समस्या समाधान भयो । ६ वटा टोलमा बाटो विस्तार गरियो । ८ फुटको बाटो १४ र ४ फुटको बाटो १० फुट बनाइयो । अस्थायी टहरा पनि भत्कायौं ।

फोहोरमैला जटिल विषय हो । नेपाल सरकारले पनि यसलाई अहिलेसम्म सम्बोधन गर्न सकेको छैन । हामीले मात्रै गरेर हुने कुरा होइन । यो १४ वडाको मात्र होइन, राज्यले नै यसलाई व्यवस्थित गर्नुपर्ने थियो ।

समय सकियो !

चाहेर पनि यी काम गर्न सकिनँ

वडा नं. १४ को बल्खु करिडोरको दुई किलोमिटर खोलेर, हरियाली बनाएर सरर… गाडी हिँड्ने बाटो बनाउने इच्छा थियो । कार्यकाल सकिएकाले यो गर्न पाइनँ । कोरोना भाइरस महाव्याधिले पनि उत्तिकै अवरोध ग¥यो । यसका लागि विनियोजित बजेट कोरोनामा खर्च भयो । जसकारण चाहेर पनि यो करिडोर बनाउन पाइएन ।
पाँचवर्षे कार्यकाललाई फर्केर हेर्दा असन्तुष्ट हुनुपर्ने केही देख्दिनँ ।

अब आफ्नै कुरा

बाहिर बैठकमा जानु नपरेको बेला म कार्यालयमै बस्छु । बेलुका ६ बजेसम्म पनि कार्यालयमै हुन्छु । जनताको सेवा गर्न आएको हुँ, जनताको सेवामै बस्छु । म कार्यालय छाडेर चिया खान कतै जान्नँ । म महिला भएर यो पनि फाइदा भएको छ । यो वडा महानगर भरि महिलामैत्री वडा भएको छ । टोल समितिमा पनि महिला नै अगाडि छन् ।

स्थानीय तहलाई अधिकार त धेरै दिइएको छ । ३६ वटा अधिकारमा वडाध्यक्षले हस्ताक्षर गर्न पाउँछन् । त्यति हुँदा–हुँदै पनि पर्याप्त कानून बनेका छैनन् । सुरुको यो गोरेटो कोर्न पुरुषलाई त गाह्रो छ । महिलालाई त झन् गाह्रो हुने नै भयो । पहिलो त, महिलाहरू पुरुषजस्तो सजिलै घरबाट बाहिर निस्किन पाउँदैनन् । बालबच्चा, घरपरिवार, सासुससुरा सबैको ख्याल राख्नुपर्छ । घर नै बनेन भने मैले वडा कसरी सम्हाल्न सक्छु ? म बिहानै ४ बजे उठ्छु । नत्र घर कार्यालयको काम गर्न भ्याउँदिनँ । पुरुष वडाअध्यक्ष भएको भए ४ बजे उठ्थे त ?

अर्को चुनौती, महिलाको नेतृत्वलाई पुरुषप्रधान देशले स्वीकार्दैन । मलाई यो अनुभूति भएको छ । यो ५ वर्षको अवधिमा यो महिला त हो नि, यसलाई थर्काउनुपर्छ भन्ने पनि मैले भेटेँ । महिलाको नेतृत्व र तिनले गरेका कामलाई नस्वीकार्ने, प्रचार नगर्ने प्रवृत्ति विद्यमान छ । महिलाले गरेको राम्रो कामको प्रशंसा नगर्ने संस्कृति पनि छ । समाजले महिला नेतृत्व स्वीकार्नलाई अझ धेरै समय लाग्छ ।