NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यसकारण अपरिहार्य छ पाँचदलीय गठबन्धन

काठमाडाैं । गठवन्धनको वुद्धि, विवेक, प्रयत्न र संघर्षबाट हिजोभन्दा आज ठूलो र बलियो हुँदै गएको छ नेपाली कांग्रेस । तर यसका दोस्रो पुस्ताका युवा नेताहरू दम्भ र घमण्डले मैमत्त भएर गठबन्धनको वेवास्ता र तथानाम बोल्न थालेका छन् । उनीहरूको भाषामा कांग्रेस आफैं बलियो र सक्षम छ ।

आगामी तीन वटै तहको निर्वाचनमा एक्लै लड्न र अघि बढ्न तयार छ । यी झिनामसिना र अविश्वासी कम्युनिस्टहरूको साथ–सहयोग आवश्यक छैन । तीनै तहका निर्वाचनहरूमा कांग्रेस एक ढिक्का भएर लड्न सक्छ । अब कांग्रेसलाई गठबन्धनको आवश्यकता छैन । कांग्रेसले अब रुख चिह्नबाहेक अरूमा भोट हाल्दैन ।

साँच्चै त्यसो हो भने शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल र विश्वप्रकाश शर्माजीले निम्न प्रश्नहरूको सही र चित्तबुझ्दो जवाफ दिने प्रयास गर्नुहोला–

२०७४ को आमनिर्वाचनमा जम्मा ६० सिटमा खुम्चिएर पाखा लागेको कांग्रेस आज कसरी बलियो र सक्षम भयो ? कांग्रेस साँच्चै बलियो र सक्षम थियो भने हिजो किन पाँच दलीय गठबन्धन गर्नुप-यो ?संविधानको धारा ७६ (५) अनुसार कांग्रेसले देउवालाई प्रधानमन्त्री बनाउन किन हँसिया–हथौडावाला कम्युनिष्टहरूलाई गुहार्नुपयो ? १४९ सांसदको हस्ताक्षरसहितको देउवाको निवेदन प्रस्तावलाई राष्ट्रपतिजीले बेवास्ता गर्दा कांग्रेस एक्लैले किन प्रतिवाद गर्न सकेन ?

एमाले नेता केपी ओलीको अधिनायकवाद र प्रतिगमनकारी सरकार कांग्रेस एक्लैले किन ढाल्न सकेन ? राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्न कांग्रेसले किन तिनै कम्युनिस्ट नेता माधव नेपाल, प्रचण्ड, बाबुराम, उपेन्द्र यादव र चित्रबहादुर केसीसम्मका पार्टीका नेताहरूको सहयोग लिनुप-यो ? विशेष रूपमा क-कसको त्याग, तपस्या, सहयोग र संघर्षका कारण संसद् पुनस्र्थापना र यो सरकार गठन भयो ?

रुख चिह्नमा मात्रै भोट हाल्छौं भन्ने कांग्रेसी सांसदले मात्र देउवाजीलाई विश्वासको मत दिएको भए देउवाजी प्रधानमन्त्री बन्न सम्भव थियो ? अस्ति भर्खर मात्र सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा गठबन्धनकै कारण कांग्रेसले ६ सिट प्राप्त गर्न सकेको होइन ? यी र यस्ता सयौं प्रश्नहरूको चित्तबुझ्दो जवाफ कांग्रेसले गठवन्धनसमक्ष आजै दिन सक्नुपर्छ ।

हो अहिले सत्तको बागडोर कांग्रेसको हातमा छ । यसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । यसका नेताहरू विभिन्न राजकीय पदमा छन् । यसो भन्दैमा कांग्रेसले भुईँ छाड्न मिल्दैन ।

जँघार तरेर लाठी बिर्सियो या फ्ँयाकिदियो भने भोलि अर्को जँघार तर्न सकिँदैन । कांग्रेस हिजो पनि कमजोर थियो, भोलि एक्लै भयो भने फेरि हिजोजस्तै हुन्छ । गाँस छोड्नु तर साथ कहिल्यै नछोड्नु भन्ने कुरालाई पनि कांग्रेसले बिर्सनु हुँदैन ।

उता, प्रतिगमनकारी प्रतिपक्षी दल नयाँ सिङ र जुरो हालेर डुक्रिरहेको छ । एक्लै बहुमत र दुइतिहाइको सपना बाँडेर गाँउ–गाँउ तथा शहरसमेतमा जनताको आँखामा छारो हालिरहेको छ । भोलि उसले चुनाव जितेर बदला दिने उद्देश्यले निर्वाचनको युद्ध मैदानमा जे–जस्तोसुकै षड्यन्त्र, धाँधली र मतदाता किनबेचको अनैतिक र अमानवीय कार्य गर्न सक्छ । यसप्रति सचेत रहँदै पुनः एक पटक पाँच दल एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन ।

सबैभन्दा महत्त्वपूर्ण र बुझ्नैपर्ने कुरा नयाँ संविधानको नौलो अभ्यासबाट धारा ७६ (५) अनुसार प्रतिनिधिसभामा कार्यरत सांसद सदस्यहरू मध्येबाटै निजहरूकै सिफारिसमा (पार्टीको ह्विपबिना) स्वतन्त्रपूर्वक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मौजुदा सरकार नेपाली कांग्रेस पार्टीको मात्र बहुमतको सरकार हुँदै होइन । गठबन्धनबिना न यो सरकार गठन हुनसक्थ्यो न देउवा नै पाँचौ पटक प्रधानमन्त्री बन्थे । यो सबै सफलताको मूल माध्यम गठबन्धन नै हो ।

सल्लाह, सहमति र सहकार्य यो सरकारका प्रमुख विशेषता हुन् । त्यसैले तीन तहको आगामी निर्वाचनसम्म यो गठबन्धन जस्ताको तस्तै कायम रहनु पर्छ । यसमा हामी सवै पक्ष र नेपाली कांग्रेसका दोस्रो पुस्ताका युवापंक्तिले विशेष रूपमा हेक्का राख्नै पर्दछ । पाँचै दललाई गठबन्धनको त्यत्तिकै आवश्यकता र महत्त्व छ ।

यसविपरीत कांग्रेस गठबन्धनबाट अलग भएमा वामपन्थीहरूले तत्काल एक बृहत् वाममोर्चा गठन गरी कार्यगत एकताको आधारमा निर्वाचनमा जानुको विकल्प छैन ।