NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा गर्ने सरकारको तयारी

काठमाडाैं । नेपाल सरकार अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गर्न सहमत भएको छ । बीमा समितिका अनुसार सरकारले चुनाव अगाडि उक्त रकम बराबरको दाबी भुक्तानी निकासा गर्न तयार भएको हो ।

लामो समयदेखि कोरोना बीमा मापदण्ड २०७७ अनुसार नेपाल सरकारले आफ्नो दायित्वअन्तर्गतको भुक्तानी दिन आलटाल गरिरहेको छ । विभिन्न बहानामा सरकारले दाबी भुक्तानीको फाइल अड्काएर राखेका छ । कहिले बजेट नभएको त कहिले दाबी भुक्तानीका विकल्प मागेर समय मात्र खर्च गरिराखेको देखिन्छ ।

पछिल्लो समय सरकारले समितिसँग पुन: विकल्प पेश गर्न भनिएको थियो । समितिले सरकारसँग पाँच विकल्प पेश गरिसकेको छ । तर त्यसबारे भने कुनै प्रतिक्रिया नआएको समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ अनुसार सरकारको दायित्वमा ११ अर्ब रुपैयाँ रकम रहेको छ । कोरोना बीमा मापदण्ड अन्तर्गत बीमा कम्पनीहरुमा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार ८९२ रुपैयाँको दाबी परेको छ ।

जस मध्ये मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा कम्पनीको महाविपत्तीकोषबाट ५० करोड र बीमा समितिबाट एक अर्ब सहित साढे तीन अर्ब रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ ।