NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

के हो कनेक्ट आइपिएस ? यस्ता छन् फाइदा

काठमाडौं । अहिलेको समय डिजिटल युगको हो । मानिसहरू हरेक सेवा छिटो, छरितो र झण्झटमुक्त होस् भन्ने चाहन्छन् । त्यति मात्र कहाँ हो र ? अहिले मानिस हर प्रहर आफूलाई प्रविधिमैत्री बनाउन खोजिरहेको छ ।

त्यसो त, अहिलेको युगमा हरेक काम होस् या सेवा, चुस्त बन्दै गइरहेको छ । यी सबै प्रविधिको उपज मान्न सकिन्छ । विश्व डिजिटालाइजेशन भएसँगै हरेक सेवा र सुविधाहरू पनि डिजिटलीकरण भइरहेको छ । नेपाल आफैंले पनि प्रविधिमा निकै ठूलै फड्को मारिसकेको छ । इन्टरनेट र बालबालिकाको स्कुल शुल्क बुझाउँदा होस् या एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्नुपर्दा नै किन नहोस्, अब ढुक्कले घरमै बसेर भुक्तानी गर्न सकिने भइसकेको छ । अनलाइन भुक्तानीको सुविधाले समयको बचत मात्र गराएको छैन, प्रविधिमा अभ्यस्त हुन सिकाइरहेको छ ।

अनलाइन भुक्तानी प्रणालीमा सम्झिनुपर्ने नाम हो, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) । यसको सुरुवात आजभन्दा १३ वर्षअघि भएको थियो । यसले भुक्तानी प्रणालीमा नयाँ आयाम थपिदिएको छ । एनसिएचले आजको दिनसम्म आइपुग्दा इलोक्ट्रोनिक चेक क्लियरिङ, इन्टर बैंक पेमेन्ट, नेशनल अरचिभ सिस्टम, कनेक्ट आरटीजीएस, कर्पोरेट पेजस्ता विभिन्न सेवाहरू प्रवाह गर्दै आइरेहको छ ।

एनसिएचले अनलाइन भुक्तानी सेवामा दिइरहेको यी विभिन्न सेवाहरूमध्ये कनेक्ट आइपिएस इन्टरनेट पेमेन्ट सिस्टम सेवा छोटो समयमा प्रभावकारी बन्दै गइरहेको एनसिएचका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेशमान सिंह प्रधान बताउँछन् ।

के हो कनेक्ट आइपिएस ?

कनेक्ट आइपिएस इन्टरनेट पेमेन्ट सिस्टम बैंक खाताबाट नै गरिने कारोबार हो । खाताबाट गरिने कारोबार भएता पनि यो सेवा लिनको लागि बैंकसम्म पुग्ने कष्ट भने गर्नुपर्दैन । अर्थात् यो सेवा घरमै बसेर इन्टरनेटको माध्यमबाट लिन सकिन्छ । यसले बैंकसम्म जाने समयको बचत हुनुको साथै लामो समय लाइन बस्नुपर्ने झण्झबाट मुक्त गरिदिन्छ ।

कनेक्ट आइपिएस ‘मोर अफ द प्लाट फार्म’ भएको सिइओ प्रधानको भनाइ छ । उनका अनुसार, कुनै पनि बैंकका ग्राहकले आफूसँग भएका मल्टिपल बैंक अकाउन्टलाई एउटै प्लाटफर्ममा लिंक अप गरेर कारोबार गर्न सक्नेछन् । कनेक्ट आइपिएसमा हाल ८ वटा डिजिटल वालेट जोडिएको सिइओ प्रधान सुनाउँछन् । कोही ग्राहकको वालेटमा पैसा छ र त्यसलाई बैंकमा सारेर नगद निकाल्नुप¥यो भने पनि सम्भव भएको प्रधान बताउँछन् । ‘वालेटहरूमा रकम लोड–अनलोड गर्न आइपिएसले सहयोग गर्छ,’ उनले भने ।

कनेक्ट आइपिएसको रियल पेमेन्ट सिस्टमको आफ्नै च्यालनहरू छन् । यसको आफ्नै मोबाइल एप र आफ्नै वेब च्यानल पनि छ । यसमा गएर आफ्नो बैंकको खाता लिंक गराउन पनि सकिन्छ । लिंक गराइसकेपछि एकचोटि आफ्नो खाता भएको बैंकमा गएर लिंक एकाउण्टलाई भेरिफाई गर्नुपर्छ । अहिले त झन् बैंकसम्म पुग्नु नै पर्दैन, घरबाटै सबै काम गर्न सकिन्छ । भेरिफाईपछि आफनो मोबाइल एप अथवा वेभबाट प्रयोग गर्न सकिने सिइओ प्रधानको भनाइ छ ।

कनेक्ट आइपिएसलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले मोबाइल र उनीहरूको इन्टरनेट बैंकिङमा जोडिसकेको छ । ग्राहकसँग बैंकको मोबाइललाई बैकिङ अथवा इन्टरनेट बैंकिङ सुविधा छ भने पनि सिधैं कनेक्ट आइपिएसको सेवा लिन सकिन्छ । यस किसिमको कारोबारका लागि एनसिएचएलले नियामक नेपाल राष्ट्र बैंकबाट पिएसओको लाइसेन्स पाएको छ । कनेक्ट आइपिएसको नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्था, पिएसपी तथा अन्य पिएसओले नै सेवाहरूलाई यो प्लेटफर्ममा ल्याउने काम गर्दछन् । जसमा कनेक्ट आइपिएस सहजीकरणको भूमिका निभाइरहको सिइओ प्रधानले उल्लेख गरे ।

हालसम्म कनेक्ट आइपिएसमा ८१ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेको प्रधानले बताए । सकेसम्म बैंकहरूको शाखामा भीडभाड नगर्नको लागि, कस्टुमर र बैंकको स्टाफहरूको हेल्थ एण्ड सेप्फटीको लागि बैंकको ब्रान्चहरूको सट्टामा यो सेवाबाट सहजीकरण गरिरहेको प्रधानले बताए ।

कसरी लिने सेवा ?

कनेक्ट आइपिएस अहिले बैंकले मोबाइल उपलब्ध गराइरहेको हुन्छ । तर पनि यसको आफ्नै वेबसाइट पनि उपलब्ध रहेको छ । कनेक्ट आइपिएसमार्फत् कारोबार सुरु गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसको वेबबाट १० लाख र मोबाइल एप्सबाट १ लाख सम्मको कारोबार रियल टाइममा गर्न सकिन्छ । यदि एन्ड्रोइड फोन छ भने गुगल प्लेस्टोरमा गएर कनेक्ट आइपिएसको एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

एपमा आफ्नो साधारण विवरण भरेर लग–इन आइडी र पासवर्ड बनाउन सकिन्छ । त्यसपछि प्रयोगकर्ताले सञ्चालन गरिरहेको कुनै पनि दुईभन्दा बढी बैंकलाई एपबाट नै भेरिफाई गर्न सक्नेछन् ।

वेबसाइटमा यसरी गर्न सकिन्छ दर्ता

दस लाखभन्दा बढीको कारोबारका लागि कनेक्ट आइपिएसको वेबसाइटमा जानुपर्छ । वेबसाइटको माथिल्लो दायाँ कुनामा ‘साइन इन’ र ‘साइन अप’ भन्ने विकल्प हुन्छ । साइन इन कनेक्ट आइपिएसमा पहिल्यै जोडिएकाहरूका लागि हो, जहाँ लग–इन आइडी र पासवर्ड हाल्नुपर्छ । नयाँ प्रयोगकर्ताले साइन–अपमा क्लिक गरेपछि एउटा फाराम खुल्छ । त्यसमा नाम, इमेल, ठेगाना, मोबाइल नम्बरलगायत विवरण हुन्छन् । त्यो भरिसकेपछि तल लग–इन गर्ने नाम र पासवर्ड हाल्नुपर्छ ।

यति गरेपछि पेज खुल्छ । त्यसमा आफ्नो बैंकको विवरण भर्ने ठाउँ हुन्छ । यी सबै विवरण भरिसकेपछि बैंकमा गएर भेरिफाइ गर्न सकिन्छ । अहिले भेरिफाइ गर्न बैंक नै धाउनु पर्दैन । अधिकांश बैंकको घरैमा बसेर अनलाइन भेरिफाई गरी कारोबार गर्न सकिन्छ ।

कनेक्ट आइपिएसमा रिक्स कतिको छ ?

आफ्नै बैंकको खाताबाट कारोबार गरिने भएकाले यसको ट्रान्जक्सेन लिमिटेड तलमाथि हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘आफ्नै खाताबाट गरिने कारोबार भन्नेबित्तिकै त्यसमा चाहिने पूर्वाधार जोखिम व्यवस्थापनदेखि लिएर पर्पोजहरू फरक हुनसक्छ, डिजिटल पेमेन्ट सिस्टमभित्र छिराउनको लागि क्यासबराबर जस्तै किसिमको सिस्टम हो ।’

बैंकहरूले उपलब्ध गराउने मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ अथवा कनेक्ट आइपिएस ग्राहकको बैंक खातामा नै लिंक भएर खाताबाट नै गरिने कारोबार भएकाले अमाउन्ट अफ रिस्क हुने उनले सुनाए । कनेक्ट आइपिएसमा बैंक अकाउण्ट लिंक गरिसकेपछि टेक्निकल्ली पनि अपरेशनल्ली पनि जोखिम व्यवस्थापन बढी गर्नुपर्ने सिइओ प्रधानले बताए । यसमा बैंकहरूले सुरक्षाको हिसाबले जोखिम व्यवस्थापन भने गरिरहेको हुन्छ ।

सुरक्षाको हिसाबले बैंकले गर्ने जोखिम व्यवस्थापन छँदै छ । तापनि, आफ्नो ठाउँमा पनि सेवाग्राही सचेत हुनुपर्ने उनको भनाइ छ । सेवाग्राहीले आफ्नो अकाउन्टको लगइन पासवर्ड, ओटीपीजस्ताको सुरक्षामा आफैं जिम्वेवार हुनुपर्ने उनले बताए ।

कनेक्ट आइपिएसका फाइदाहरू

कनेक्ट आइपिएस अनलाइन प्लेटफर्म हो । कम्पनीका सिइओ प्रधान कनेक्ट आइपिएस सेवा सञ्चालनमा आएको छोटो समयमै प्रभाव जमाउन सफल भएको बताउँछन् । उनले यो सेवाको प्रयोगकता दिनप्रतिदिन बढ्दै गएको सुनाए । यस सेवामा भएको सुविधा अन्य सेवाहरूमा भन्दा पृथक र उत्कृष्ट एवं मल्टिपल सुविधा भएकाले पनि यसको प्रभावकारिता बढ्दै गएको प्रधानको जिकिर छ ।

उनले भने, ‘अहिले कनेक्ट आइपिएसमार्फत मासिक ३५ देखि ३८ लाख रूपैयाँबराबरको कारोबार हुँदै आइरहेको छ । दैनिक एकदेखि डेढ लाखसम्मको कारोबार हुँदै आइरहेको छ ।’ उनका अनुसार कारोबारबारे कम्पनीले आफ्नो वेबसाइटमा ट्रान्जेक्सन भोलुमबारे प्रकाशित गरेको हुन्छ, त्यसबाट पनि अपडेट लिन सकिन्छ ।

कनेक्ट आइपिएस सेवा प्रयोग गर्नुका फाइदा अनेक भएको सिइओ बताउँछन् । केही फाइदाहरू निम्नानुसार छन् :

पहिलो फाइदा भनेको मल्टिपल बैंकलाई एकै ठाउँमा जोड्न सकिने सुविधा । कनेक्ट आइपिएस अकाउन्ट भएका ग्राहकले एकभन्दा बढी जति पनि बैंक खाताहरूलाई कनेक्ट आइपिएसमा जोड्न सकिन्छ । यसले गर्दा मोबाइलमा आफ्नो खाता भएका बैंकहरूको एप राख्ने झन्झटबाट मुक्त हुन सकिन्छ । त्यति मात्र नभएर कुन बैंकमा आफ्नो कति पैसा छ, त्यसको जाँच पनि हेर्न सकिन्छ ।

दोस्रो महत्त्वपूर्ण फाइदा सेयर खरिद–बिक्रीका लागि सहज हुन्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको लागि कनेक्ट आइपिएस महत्त्वपूर्ण छ । सेयर बजारमा पनि विशेष गरी दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले कनेक्ट आइपिएसको सेवा लिनु आवश्यक छ । यदि कनेक्ट आइपिएसको सेवा लगानीकर्तासँग छ भने सजिलैसँग सेयर किनबेच गर्न सकिन्छ ।

तेस्रो फाइदा भनेको ठूला रकम कारोबार गर्न सकिन्छ । ग्राहकले ठूलो रकम पठाउनु परेको खण्डमा कनेक्ट आइपिएसको सुविधा लिन सकिन्छ । सामान्यतया एक दिनमा आफ्नो अकाउन्टबाट ५ लाखसम्म पैसा पठाउन सकिन्छ । अर्को फाइदा एकभन्दा बढी जति पनि आवश्यक भुक्तानी कनेक्ट आइपिएसको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । अनलाइन भुक्तानी चाहे सरकारी कम्पनी होस् या अर्धसरकारी, प्राइभेट सबै किसिमको भुक्तानी गर्नसक्ने सुविधा यसमा छ ।

कति फास्ट छ कनेक्ट आइपिएस प्रणाली ? अनलाइन सिस्टम छिटो, छरितो नै हुन्छ । कहिलेकाहीँ सिस्टममा नै समस्या भयो भने प्रक्रिया ढिला हुनसक्छ । सिइओ प्रधानका अनुसार, आइपिएसको सिस्टमबाट कारोबार केही सेकेण्डभित्रै सम्पन्न हुन्छ । तर प्राविधिक प्रणाली भएकाले यसमा कारोबारको लागि निश्चित समयसीमा तय गरिएको छ । सिइओ प्रधान त्यसका लागि ४५ सेकेण्डको सीमा राखिएको बताउँछन् ।
एनसीएचबारे छोटो जानकारी :

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्वमा ०६५ मंसिर २३ मा स्थापना भएको कम्पनी हो । बैंक तथा वित्तीय संस्थाहरूको दक्षता, उत्पादकता सुधार गर्न र ग्राहकलाई नवीनतम प्रविधिमा आधारित रहेर सेवा उपलब्ध गराउने काम एनसीएचले गर्दै आइरहको छ ।

एनसीएचले देशभित्र इलोक्ट्रोनिक भुक्तानी र वित्तीय लेनदेनको सुविधाको लागि एक राष्ट्रिय भुक्तानी गेटवे स्थापना गर्न दीर्घकालिन उद्देश्यसँग नेपालमा बहुभुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गर्ने यसले उद्देश्य बोकेको कम्पनीले जनाएको छ । साथै क्लियरिङ हाउसका अन्तर बैंक भुक्तानी, राफसाफ तथा फछ्र्योट प्रणाली, रियल टाइम ग्रोस सेटलमेन्टलगायतका सेवा दिने उद्देश्य छ । चेक राफसाफ गराउने, अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिनेलगायतका काम यसले गर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष