NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पल शाह प्रकरणको बहस लम्बियो, कहिले होला आदेश ?

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह र मतियारको आरोप खेपिरहेका कृष्ण जोशीविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ ।

शाहको पक्षमा बहस धेरै कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बहस लम्बिने भएको हो ।

उनको पक्षमा आज ९ जनाले बहस गरिहेका छन् । यसर्थ, बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए ।

बलात्कारकोे अभियोग लागेका अभिनेता शाह र मतियारको आरोप खेपिरहेका जोशीलाई धरौटीमा छाड्ने वा मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्ने भन्ने आदेशका लागि बुधबार पनि बहस भएको थियो । बुधवार नटुङ्गिएपछि आज टुङ्गिने अपेक्षा राखिएको थियो । तर, आज पनि त्यो सम्भव देखिएको छैन ।

सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै अभिनेता शाहविरुद्ध कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ । यसपछि जिल्ला अदालतमा बुधवारबाट बहस सुरु भएको हो ।

पीडिततर्फको बहस बुधबार नै सकिएको थियो । प्रतिवादीतर्फको बहस भएपछि पीडिततर्फको पनि प्रतिउत्तर आउने छ । त्यसपछि भने आदेश आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।