NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेविसंघ र तरुण दलमा अध्यक्ष चयनपछि कांग्रेसमा लफडा, बैठकस्थलमा शेखर पक्षले प्रदर्शन गर्ने

काठमाडौं । नेविसंघ र तरुण दलमा एकलौटी रुपमा अघि बढेको भन्दै डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवासँग टेलिफोन कुराकानीमा सहमतिमा भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्नेबारे छलफल भए पनि एक्लै अघि बढेको भन्दै देउवा पक्षले आपत्ति जनाएको हो । देउवाले बुधबार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेका थिए ।

देउवाले दुई अध्यक्ष चयन गरेलगत्तै शेखर पक्ष असन्तुष्ट भएको छ । बुधबार शेखर पक्षको नेताहरूको बैठकले आपत्ति जनाएपछि बिहीबार पनि नेताहरूले तरुण र विद्यार्थी नेतासँग छलफल गरेको जानकारी नेता गुरु घिमिरेले दिए ।

‘सभापतिको सहमति विपरीतको कदमपछि हामीले बिहीबार शीर्ष नेतासहितको तरुण र विद्यार्थी नेताको बैठक राखेका थियौं’ घिमिरेले भने, ‘कार्यसम्पादन समितिको निर्णय अनुसार भ्रातृ संस्थामा नेतृत्व चयन भएन । गठन गर्दा परामर्श गर्ने भनिएको थियो तर एकलौटी गरिएपछि हाम्रो आपत्ति हो । सामान्य छलफलसमेत नभएपछि हामीले शुक्रबार केन्द्रीय समितिको बैठकस्थलबाहिर विरोध प्रदर्शन गर्ने र तीन दिनभित्र नेविसंघ र तरुण दलको राष्ट्रिय भेला बोलाउने भन्ने भएको छ ।’

शुक्रबार कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलसहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । तर शेखर पक्षका तरुण र विद्यार्थी नेताले बैठकस्थल बाहिर एकलौटी रुपमा नेविसंघ र तरुण दलको नेतृत्व चयन भएको भन्दै विरोध र प्रदर्शन गर्ने भएका हुन् ।

९ भ्रातृ संस्थामध्ये २ वटाको मात्रै घोषणा गरिएको, पदाधिकारी मात्रै घोषणा गर्दा अरु पदाधिकारी र सदस्यबारे केही नभनिएको, यसको मापदण्ड प्रष्ट नभएको जस्ता विषयमा आफूहरूको आपत्ति रहेको घिमिरे बताउँछन् ।

शेखर पक्षको भेलामा डा. शेखर कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, डा. गोविन्दराज पोखरेल, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, प्रतिमा गौतम, विनोद पौडेल, दिनेश राईसहितका युवा नेताहरू सहभागी थिए ।

सामान्य परामर्शसमेत नगरी चुनावको मुखमा एकलौटी निर्णय गर्दाको दुष्परिणाम सभापति देउवाले नै लिनुपर्ने चुनौतीसमेत शेखर पक्षले दिएको छ ।

‘सामान्य परामर्श पनि नगरी एकलौटी घोषणा गर्नु स्थानीय तह र आमचुनाव अघिको गतिलो संकेत होइन’ गुरु भन्छन्, ‘यस्तै रवैयाले भोलिको चुनावमा दुष्परिणाम आयो भने यसको जिम्मा कसले लिन्छ ?’

अर्का नेता भुपेन्द्रजंग शाहीले पनि सभापतिको यस्तो कदमप्रति आपत्ति जनाएका छन् । ‘यस अघि भागबण्डा हुँदा पनि तत्कालीन संस्थापनले तरुण दल अध्यक्ष देउवा पक्षलाई दिएको थियो’ शेखर पक्षका एक नेता भन्छन्, ‘तर हिजो मात्रै सबैलाई मिलाएर भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्ने भनिए पनि एकलौटी गरिएकोमा हाम्रो आपत्ति हो ।’