NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
अन्तर्वार्ता :

प्रभु साहले दबङशैलीमा पार्टी कब्जा गर्न खोजे : रेखा झा

काठमाडौं । संघीय सांसद एवं नेकपा (एमाले)की केन्द्रीय सदस्य रेखाकुमारी झाले स्थायी कमिटी सदस्य एवं मधेस प्रदेश सहइन्चार्ज प्रभु साहविरूद्ध बिहीबार केन्द्रीय कमिटीमा उजुरी दिइन् ।

रौतहट जिल्ला अधिवेशमा विधानविपरीत साहले आफ्नो खल्ती सूचि निकालेर पाँचजना पदाधिकारीलाई मध्यराति शपथ गराएको आरोप लगाएकी उनले लगाएकी छिन् । साहविरूद्ध उजुरी परेपछि एमाले वृत्तमा खौलाबैला मच्चिएको छ ।

गत माघमा भएको जिल्ला अधिवेशनमा साहले एकलौटी पार्टी कब्जा गर्न खोजेको भन्दै उपस्थित प्रतिनिधिले बैठक बहिस्कार गरेका थिए । यसै विषयमा नेपाल वाचकर्मी गणेश पाण्डेले केन्द्रीय सदस्य झासँग कुराकानी गरेका छन् :

प्रभु शाहले पार्टी संगठन छिन्नभिन्न गरे । उनले आइटी आर्मी खोल्दा म संगठन बनाउन हिँडेकी थिएँ । त्यसपछि स्थायी कमिटी सदस्य भएपछि उनले दबङ हिसाबले तानाशाही व्यवहार देखाए । त्यसको प्रतिकार साथीहरूले गर्नुपर्ने स्थिति आयो ।

तपाईंले प्रभु साहविरूद्ध किन उजुरी दिनुभयो ?

जिल्ला अधिवेशन हुँदा गुटबन्दी भएको छ । गुटबन्दीले पार्टी चल्दैन भन्ने मेरो असहमति थियो । आफ्नो गोजीबाट लिस्ट निकालेर पार्टी चलाउने, पार्टीलाई निजीकरण गर्न खोज्ने काम साहले गरे । केन्द्रीय सदस्यको हिसाबमा मैले विरोध गरेको हुँ । हलले अनुमोदन नगरेका पाँचजना पदाधिकारीलाई मध्यरात अन्यत्रबाट शपथ खुवाउने काम भयो । त्यसलाई मैले प्रतिवाद गरें । प्रदेश कमिटीको बैठकमा केही न केही त्यस विषयमा सम्बोधन हुन्छ भन्ने मैले विश्वास गरेकी थिएँ ।

अन्यको विषयमा छलफल भएपनि रौतहटको विषयलाई ढाक छोप गर्ने काम भयो । यसमा समर्थन जनाउँदै गाह्रोे भयो । त्यसैले मैले केन्द्रीय कमिटीमा उजुरी दिएको हुँ । पार्टी अध्यक्षको राजनीति प्रतिवेदनले पनि प्रदेश अध्यक्षकै प्रतिवेदनलाई समर्थन ग¥यो । त्यसमा मेरो चित्त बुझेको छैन ।

रौतहटमा साह व्यक्तिवादी रूपमा हावी भएका छन् । माओवादी विरासतबाट आएकाले उनको चरित्र त्यस्तै छ । उनले दबङशैलीले पार्टी कब्जा गर्न खोजे । दमन गर्ने, फरक मत राख्नेलाई दबाउन खोज्ने, आफ्नो गुट चलाउने उनको व्यक्तिवादी चरित्र छ । त्यसको विरोध गरेकी हुँ ।

तपाईंले बिहीबार पार्टी अध्यक्षलाई यसबारे ध्यानाकर्षण गराउनुभएको थाहा भयो, उहाँले के भन्नुभयो ?

अति भएपछि मैले पार्टी केन्द्रीय अध्यक्ष (केपी शर्मा ओली)लाई यसबारे ध्यानाकर्षण गराएँ । उहाँले असहमति पत्र बुझ्दै पार्टीभित्र मै हुँ सर्वेसर्वा भन्ने सामान्तवादी सोंच राखेर नेतृत्व बस्नु हुँदैन भन्नुभयो । पार्टी अध्यक्षले साहको नामै नलिइ आलोचना गर्नुभयो । मागको सम्बन्धमा सम्बोधन हुन्छ भन्ने मेरो विश्वास छ ।

साहविरुद्ध उजुरी दिनुको उदेश्य के हो ?

साहले एकलौटी रूपमा पार्टी चलाउन खोजेका छन् । स्थायी कमिटी सदस्यका लागि यसअघि केन्द्रीय कमिटीमै असन्तुष्टि जनाएका थिए । पार्टी नीतिविपरीत आइटी आर्मी खोले । म पहिल्यैदेखि पार्टीको एक इमान्दार सिपाहीको रूपमा काम गर्दै आएको थिएँ । लोभ, लालचमा म परेको छैन । तर प्रभु साहले जहिल्यै पदका लागि लडाईं गरे ।

पद नपाएपछि आइटी आर्मी खोले, अन्य पार्टीमा जाने धम्की दिने काम गरे । उनले पार्टी संगठन छिन्नभिन्न गरे । उनले आइटी आर्मी खोल्दा म संगठन बनाउन हिँडेकी थिएँ । त्यसपछि स्थायी कमिटी सदस्य भएपछि उनले दबङ हिसाबले तानाशाही व्यवहार देखाए । त्यसको प्रतिकार पूर्वएमालेका साथीहरूले गर्नुपर्ने स्थिति आयो ।

कतिपयले यसलाई प्रदेश इन्चार्ज रघुवीर महासेठ र सहइन्चार्ज साहबीचको शक्ति संघर्षको रुपमा बुझ्ने गरेका छन् नि ?

त्यस्तो त होइन । उहाँहरू दुई जनामध्ये एकजना इन्चार्ज र अर्को सह–इन्चार्ज छन् । साहलाई महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनाइएको हो । त्यसअघि वरिष्ठताको आधारमा महासेठलाई इन्चार्ज दिँदा उनी कुनै बैठकमा आएनन् । उनले जहिले असहयोग गरे ।

मेरो व्यक्तिगत विचारमा उनीहरू दुई जनाको झगडा यही हो जस्तो लाग्छ । उनीहरूको व्यक्तिगत असन्तुष्टि के हो मलाई थाहा छैन । थाहा हुने कुरा पनि भएन । अहिलेसम्म मधेस प्रदेशमा प्रदेश इन्चार्जले बोलाएको बैठकमा उनी आएका छैनन् । अरुको नेतृत्व नस्वीकार्नु उनको बुझाइ हो । यो सबै कार्यकर्ताले बुझेका छन् ।

अब के गर्नुहुन्छ त ?

प्रभु साहले पार्टी विधानविपरीत त्रिभुवन साहलाई अध्यक्ष, दीपक राय यादवलाई उपाध्यक्ष, बालविक्रम कार्कीलाई सचिव, उपसचिवमा रुपेश पटेल र प्लट चौधरीलाई मध्यराति शपथ खुवाए । उनीहरूलाई साहले एसम्यान भएकै आधारमा पदाधिकारीमा नियुक्त गरेका हुन् ।

विधानविपरीत लादिएको विषयमा माग सम्बोधन नभएसम्म संघर्ष जारी रहन्छ । उनले एक सय ३५ जना जिल्ला कमिटीलाई हलमा शपथ खुवाएनन् । खल्तीका पाँचजना पदाधिकारीलाई मात्र मध्यरातमा शपथ खुवाए । बन्दसत्र हलमा ९० प्रतिशत प्रतिनिधिले विरोध जनाएका थिए । उनी त्यहाँ टिक्न नसकेर भागे । कुनै उपाय नलागेपछि उनले अज्ञात ठाउँमा बसेर नियमविपरीत काम गरे । त्यो हामीलाई मान्य छैन । उनले पार्टीको अनुशासन नमानेपछि बाध्य भएर केन्द्रीय कमिटीमा उजुरी दिएकी हुँ ।