NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

धनगढी । धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधि विजेता गण्डकीले रु दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पैसठ्ठी रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान नौ–नौ रन बनाइन् ।

बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारूले चार विकेट लिइन् । उसकी विना थापाले दुई र एन्जीला थापाले एक विकेट लिइन् । त्यसअघि कर्णालीको पारि किरणकुमारी कुँवरले एक्लै सम्हालिन् । सतसठ्ठी बलको सामना गरेकी उनले टोलीलाई २९ रनको योगदान दिइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले दुई र मनीषा उपाध्याय तथा ज्योत्सनिका मरासिनीले समान एक÷एक विकेट लिइन् । खेलको ‘प्लेयर अफ दी म्याच’ गण्डकीकी ज्योत्सनिका मरासिनी भइन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनिका मरासिनी भइन् । उनले नगद रु २५ हजारसहित ट्रफी प्राप्त गरिन् । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन् । उनीहरूले जनही रु १०–१० हजार प्राप्त गरिन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यु–१९ महिला क्रिकेट टोलीको सहभागिता रहेको थियो ।