NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
समीक्षा

पत्रकारको निष्ठा र ‘जलसा’को प्रश्न

काठमाडौं । मिडियामा अरूको ‘किचन’देखि ‘बेडरुम’का कुरा उजागर गर्न पछि नपर्ने पत्रकाहरू आफूलाई पर्दाचाहिँ समाचार ‘ब्ल्याक आउट’ गर्न भएभरको शक्ति लगाउँछन् भन्ने उदाहरण नेपालमै पनि प्रशस्त छन् ।

केही वर्ष पहिले नेपालको एक चर्चित कर्पोरेट दैनिकका प्रकाशकका छोरा थापाथलीनेर कार दुर्घटनामा पर्छन् । डयुटीमा रहेका ट्राफिकले कारभित्र प्रकाशकका छोरालाई युवतीका साथ फेलापार्छन् । प्रकाशकका छोराको केस रातारात गुपचुप राख्ने चलखेल हुन्छ । रातारात कार त्यहाँबाट हटाइन्छ, मानौं केही भएकै होइन ।

मुलुकका प्रमुख मिडियाहरूमा सो खबर प्रकाशित हुँदैन । करिब–करिब ब्ल्याक आउट हुन्छ । तैपनि कसोकसो प्रकाशक पुत्रको कार दुर्घटना र अन्य हालबारे ‘नागरिकन्युज डटकम’मा भने समाचार प्रकाशित हुन्छ । ताजा कटुता अनि चर्को प्रतिष्पर्धाका कारण प्रकाशक विनोद ज्ञवालीले भने यसलाई लुकाउन चाहेनन् ।

यो प्रसंग यहाँ उल्लेख गर्नुको कारण के हो भने, कार दुर्घटनासँगै जोडिएको एउटा ‘हिट एण्ड रन’ केसलाई लुकाउने र दबाउने अनेक कोसिस हुन्छ, हालै प्रर्दशनमा आएको हिन्दी चलचित्र ‘जलसा’मा । चलचित्रले एउटा पत्रकारको निष्ठाको परिभाषा खोतलेको छ ।

चलचित्र ‘जलसा’ यस्ता दुई महिलाको कथा हो, जसको सामाजिक र आर्थिक परिवेश भिन्न छ । पत्रकार माया मेनन (विद्या बालन) सम्पन्न एकल महिला हुन्, जो सत्यको पक्षधर भएकाले समाजमा चर्चित छिन् । रुखसाना (सेफाली शाह) चाहिँ मायाको घरमा खाना बनाउनुका साथै उनका छोराको हेरचाह पनि गर्छिन् ।

एक रात माया कारमा घर फर्किरहेकी हुन्छिन् । उनको गाडीले सडकमा अचानक एक युवतीलाई ठक्कर दिन्छ । खासमा ती युवती अरू कोही नभएर मायाकै घरमा काम गर्ने रुक्सानाकी छोरी हुन्छिन् ।

रुक्साना सडकमा छटपटाइरहेकी हुन्छिन् तर पत्रकार माया भने उद्धार नगरी घरतर्फ जान्छिन् । उनलाई प्रहरी र बदनामीका कारण जागिर गुम्ने डरले सताउन थाल्छ । साथै उनमा अपराधबोध घनिभूत हुन्छ ।

सत्यको पक्षमा पत्रकारिता गर्ने मायाले आफूमाथि भएको यो तथ्य लुकाउन चाहन्छिन् । सत्य लुकाउनु पर्दा पत्रकार मायाको मनमा चल्ने आँधी, निराशा, चिढचिढापन र ग्लानिसँगै चलचित्र ‘जलसा’को कथा अघि बढ्छ ।

मायाले घटना लुकाउन चाहे पनि उनकै संचारगृहमा कार्यरत प्रशिक्षार्थी पत्रकार रोहिणी जर्ज (विधृति बन्दी)ले यो घटनाको मिहीन अनुसन्धान गर्छिन् । उनले केही सिसिटिभी फुटेज फेला पार्छिन् । यसक्रममा प्रहरीको भ्रष्टाचार, नेताहरूको स्वार्थजस्ता उपकथा पनि जोडिँदै जान्छन्, जसले चलचित्रको मूल कथासँग तादम्य राख्छन् ।

चलचित्रको कथावस्तु मार्मिक छ, जसमा नैतिकता, पत्रकारिताको मूल्य, प्रहरीको भ्रष्टाचार, वर्ग विभेद, एकल महिलाका चुनौती, कार्यालय र घरबीचको सन्तुलनमा आइपर्ने जटिलता र कामकाजी महिलाका संघर्षलाई पात्रहरूमार्फत सजीव ढंगले देखाउन खोजिएको छ ।

‘अब यसपछि के हून्छ ?’ भन्ने कौतुहलता चलचित्रको अन्त्यसम्म्म कायम रहन्छ । चलचित्रको ‘क्लाइमेक्स’ हृदयविदारक मोडमा पुग्छ, तर कथाकारले एउटा सार्थक र सानदार अन्त्य गरिदिन्छन् । चलचित्रको अन्त्यप्रति धेरै समीक्षकले प्रशंसा गरेर लेखेका छन् । निर्देशक सुरेत्र त्रिवेणीले वास्तवमै कथा, अभिनय र निर्देशनको आकर्षक त्रिवेणी कायम गरेका छन् ।

‘जलसा’ अर्थात् उत्सव । चलचित्रमा जुन सडकमा पत्रकार मायाको कारले युवतीलाई ठक्कर दिएको हुन्छ, त्यो ठाउँको सिसिटिभी फुटेजमा सो घटना छेकिदिन्छ, कुनै हुनेखाने मानिसको जन्मदिने ‘जलसा’को सूचना लेखिएको ब्यानरले । चलचित्रमा ‘जलसा’लाई विम्बका रूपमा प्रयोग गरिएको छ । शहरमा एकातिर उत्सवमय समारोहमा मानिसहरूको भीड हुन्छ, तर त्यही शहरमा कुनै घटना भइरहेको हुन्छ, जसले कैयौं मानिसको जीवनमा प्रभाव पारिरहेको हुन्छ ।

‘शहरमा जलसा हून्छ, जहाँ धेरै मानिस जोडिएका हुन्छन् । तर, त्यही शहरमा एउटा दुर्घटना हून्छ र त्यसको असर धेरै मानिसमाथि पर्छ । गाडीले एकजनालाई ठक्कर दिन्छ, तर कैयौं मानिस त्यसमा पेलिन्छन् । जलसामा सदा उत्सव नै हुन्छ भन्ने छैन, यो जीवनको त्रासदी पनि हुनसक्छ,’ अभिनेत्री विद्याले ‘नवभारत टाइम्स’सँगको अन्तर्वार्तामा भनेकी छन् ।

अभिनयको हकमा विशेषतः विद्या बालन र सेफाली साहको अभिनय बेजोड छ । अभिनयमा धुरन्धर यी दुई कलाकारले अभिनयबाटै दर्शकलाई मुग्ध बनाएका छन् । सेफालीका धेरै संवाद छैनन्, तर उनले मुहार भावमुद्राबाटै धेरै बालेकी छन् ।

विद्या बालनको अभिनय प्रशंसालायक छ । मानसिक अन्तरद्वन्द्व र त्यसको छटपटाहट भाव मुहारमा झल्काउन उनी सफल छिन् । हुन पनि अभिनेत्री विद्याले केही वर्षयता आफूलाई चरित्र अभिनेत्रीका रूपमा स्थापित गरेकी छन् । ‘डर्टी पिक्चर’, ‘सुलु’, ‘शेरनी’, ‘शकुन्तला’ ‘कहानी’ हुँदै ‘जलसा’सम्म आइपुग्दा उनले नारी चरित्रलाई बेजोड ढंगले प्रस्तुत गरेकी छन् । यसै कारण उनले बलिउडमा लामो दौड लगाउने आफ्नो स्पेश बनाएकी छन् । अब उनी प्रमुख नायकको अपोजिट भूमिकामा भन्दा पनि नारीप्रधान बोल्ड चरित्रमा जम्नसक्ने देखिन्छ ।

विद्याले सुरुमा ‘जलसा’को भूमिका अस्वीकार गरेकी थिइन् । सुरुमा उनी डराएकी थिइन् । माया मेननको भूमिका एक हदसम्म नकारात्मक थियो । कोरोना महामारीअघि नै उनले पटकथा पढिसकेपछि अस्वीकार गरेकी थिइन् । तर कोरोनाले मान्छेको सोचाइमै परिवर्तन ल्यायो ।

‘को सही, को गलत भन्ने कुरा पनि सापेक्षित हुन्छ । कोरोनाकालपछि हाम्रो सोच्ने तरिका बदलियो । अनि मैले पटकथा फेरि पढेँ । दोस्रो पटक पढेपछि मलाई महसुस भयो, हरेक मानिस आफ्नो ठाउँमा सही हुन्छ । मैले पहिलो पटक ग्रे भूमिका पाएकी थिएँ, त्यसैले मैले सक्दो मेहनत गरेँ, यो भूमिका निर्वाह गर्दा मलाई बडा मजा आयो,’ विद्या बालनले भनेकी छन् ।