NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
स्थानीय तह निर्वाचन विशेष

बुटवल उपमहानगरमा को–को छन् मेयरका आकांक्षी ?

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बुटवल उपमहानगरपालिकामा पनि उम्मेदवारका विषयमा चर्चा हुन थालेको छ । बलियो जनाधार भएको एमालेले वर्चस्व जोगाउला या कांग्रेसले लामो समयपछि लालकिल्ला तोड्ला भन्नेमा धेरैको चासो छ । हाल बुटवल उपमहानगरको नेतृत्वमा एमालेका शिवराज सुवेदी छन् । लुम्बिनी प्रदेशको राजनीतिको केन्द्रका रूपमा रहेको बुटवलमा मेयरको टिकट पाउन नेताहरूको दौडधुप चलेको छ । बुटवल उपमहानगरमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुने भएकाले उम्मेदवारीका लागि पनि यिनै दलमा बढी प्रतिस्पर्धा देखिन्छ । एमालेलाई किल्ला जोगाउने गरी उम्मेदवार छनोट गर्नुपर्ने चुनौती छ । २०७४ सालको निर्वाचनमा माओवादीसँग मिल्दा पनि जित्न नसकेको कांग्रेसले एमालेलाई हराउन सक्ने अनुहार खोजिरहेको छ ।

एमालेमा मेयरका दाबेदार

अघिल्लो निर्वाचनमा अन्तिमसम्म मेयरको दाबी गरिरहेका तथा अहिलेका मेयर तथा उपमेयर र केही नयाँ अनुहारले एमालेबाट उम्मेदवारका लागि दौडधुप गरिरहेका छन् । हेरौँ एमालेका सम्भावित उम्मेदवार को–को छन् ?

लुम्बिनी प्रदेशको राजनीतिको केन्द्रका रूपमा रहेको बुटवलमा मेयरको टिकट पाउन नेताहरूको दौडधुप चलेको छ । बुटवल उपमहानगरमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुने भएकाले उम्मेदवारीका लागि पनि यिनै दलमा बढी प्रतिस्पर्धा देखिन्छ 

शिवराज सुवेदी

हालका मेयर सुवेदी पुनः दोहोरिन चाहेको उनीनिकट नेताले बताइरहेका छन् । एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष रहेका सुवेदीले आफूले भने औपचारिक रूपमा मुख खोलेका छैनन् । तर, उनीनिकट नेताहरूले भने अधुरा योजना पूरा गर्न सुवेदीलाई फेरि पनि मेयर बनाउनुपर्ने बताउन थालेका छन् । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीनिकट मानिने सुवेदीले अघिल्लोपटक उम्मेदवारी पाउनेमा पनि धेरैले शंका गरेका थिए । किनकि उनी बुटवल क्षेत्रका खासै लोकप्रिय नेता होइनन् । तर, अन्तिममा केन्द्रका नेताको बलियो साथ पाएपछि उनी उम्मेदवार बनेर चुनाव पनि जिते । तर, मेयर भएर उल्लेख्य काम गर्न नसकेकाले यसपटक भने सुवेदीको दाबेदारी धेरै बलियो देखिएको छैन । एमालेले उपमहानगरपालिकामा केन्द्रीय सदस्यलाई उम्मेदवार बनाउने नीति बनायो भने फेरि पनि उनैले उम्मेदवारी पाउने सम्भावना भने छ ।

गोपाल राना

अघिल्लोपटक अन्तिमसम्म दाबेदारी गरेका युवा नेता गोपाल रानाले यसपटक उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । उपाध्यक्ष विष्णु पौडेलसँग निकट मानिने रानाले पार्टीको जिल्ला उपसचिव, दुई कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभागजस्ता अनुभव बटुलिसकेका छन् । यसपटक आफू स्वतः बुटवलको मेयरको उम्मेदवार रहेको राना बताउँछन् । जनसंगठनमा बलियो पकड रहेको, युवा तथा जनजातिका मत पनि ल्याउन सक्ने भन्दै रानानिकटले शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन् । अघिल्लोपटक अन्तिम समयमा पछि हटेकाले यसपटक मेयरमा रानाको दाबेदारी अन्यको भन्दा बलियो देखिएको छ ।

बाबुराम भट्टराई

औषधि व्यवसायीसमेत रहेका बाबुराम भट्टराईले पनि अघिल्लोपटक नै मेयरमा दाबी गरेका थिए । तर, त्यसबेला पार्टी केन्द्रले नै निर्णय गरेपछि उनी पछि हटेका थिए । यसपटक आफूमाथि अन्याय नहुने भट्टराईको विश्वास छ । भट्टराईले व्यावसायिक रूपमा पनि इमानदार नेताको छवि बनाएका छन् । एमाले प्रदेश सदस्य रहेका भट्टराईले लुम्बिनी अस्पतालको अध्यक्ष रहँदा राम्रो काम गरेको तथा बजार क्षेत्रमा राम्रो प्रभाव रहेको उनीनिकटको दाबी छ । भट्टराई नेपाल औषधि व्यवसायी संघका पूर्वअध्यक्ष पनि हुन् । आफू मेयर बने बुटवललाई नमुना सहर बनाउने भट्टराई बताउँछन् ।

गुमादेवी आचार्य

अहिलेका उपमेयर गुमादेवी आचार्यले आगामी चुनावमा मेयरमा उम्मेदवारीको आकांक्षा राखेकी छिन् । अघिल्लोपटक मेयरभन्दा आफूले धेरै मतान्तरले जितेको तथा अनुभवका आधारमा पनि अब मेयरमा उम्मेदवारी पाउनुपर्ने आचार्यको तर्क छ ।

एमालेका अन्य दाबेदार
एमाले रुपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी, एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. ईश्वर गौतम, जिफन्ट उपाध्यक्ष कमल गौतम, नेता सूर्यबहादुर भट्टराईलगायतले पनि मेयरमा आकांक्षा राखेका छन् । अध्यक्ष केसीले पार्टीले आफूलाई अगाडि सारे नेतृत्व लिन तयार रहेको बताए । अघिल्लोपटक जिल्ला अध्यक्षले नै बुटवलको मेयर पाएको तर्क गर्दै उनीनिकटका नेता लागिपरेका छन् । उसो त पार्टीको स्थानीय तहमा कुनै पनि नेतालाई दोहो¥याउन नहुने भन्दै केहीले आवाज उठाइरहेका छन् । एमाले जिल्ला सदस्य देवराज पोखरेलले एमालेबाट जितेकालाई दोहो¥याएर टिकट दिए पार्टीलाई घाटा लाग्ने बताउँछन् ।

कांग्रेसबाट मेयरका आकांक्षी

गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेको कांग्रेसमा पनि मेयरका दाबेदार धेरै छन् । माओवादीलगायत दलसँग तालमेल गर्दा कांग्रेसले नै मेयर पाउने भएकाले आकांक्षीको संख्या धेरै देखिन्छ । कांग्रेसबाट मुख्य दाबेदार को–को छन् ? हेरौँ–

खेलराज पाण्डेय

कांग्रेस बुटवलका सभापति खेलराज पाण्डेय मेयरका लागि बलियो दाबेदार हुन् । अघिल्लोपटक पनि पराजित भएका पाण्डेय यसपटक फेरि स्वाभाविक दाबेदार रहेको बताउँछन् । उनले कांग्रेस नगर सभापतिमा तेस्रोपटक कार्यकाल सम्हालिरहेका छन् । अघिल्लोपटक उपमेयरभन्दा निकै बढी मत ल्याएकाले पनि उनलाई नै अघि सार्नुपर्ने मत कांग्रेसमा बलियो छ । पार्टीमा संस्थापनइतर समूहमा रहेकाले केही नेता उनको विरोधमा पनि छन् ।

हरि लम्साल

कांग्रेसबाट मेयरमा आकांक्षा राखेका अर्का दाबेदार हुन् हरि लम्साल । पत्रकारिताबाट राजनीतिमा लागेका लम्साल कांग्रेसको क्षेत्रीय सभापति पनि हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्वसभापति तथा केन्द्रीय सदस्यसमेत बनिसकेका छन् । व्यवसायीसमेत रहेका तथा धेरै तटस्थ मत तान्न सक्ने भएकाले लम्साललाई मेयरमा अगाडि सार्नुपर्ने मत पनि कांग्रेसमा बलियो छ ।

महेशमान श्रेष्ठ

अघिल्लोपटक पनि मेयरमा दाबेदारी गरेका महेशमान श्रेष्ठ बुटवलका पुराना व्यवसायी हुन् । व्यावसायिक प्रतिष्ठानमा सफल मानिएका उनलाई नेता बालकृष्ण खाणको बलियो साथ रहेको मानिन्छ । धेरै नबोल्ने र बोलेका कुरा पूरा गर्ने प्रतिष्ठित व्यवसायीको पहिचान बनाएकाले पनि श्रेष्ठको दाबेदारीलाई कांग्रेसभित्रै कम आँकिएको छैन । नेवार समुदायको उल्लेख्य मतदाता रहेकाले पनि श्रेष्ठलाई अघि सार्नुपर्ने उनीनिकटको दाबी छ ।

सुरेन्द्र श्रेष्ठ

सुरेन्द्र श्रेष्ठले पनि अघिल्लोपटक नै मेयरमा दावा गरेका थिए, तर उनी पछि ब्याक भए । सुरेन्द्र बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष बनिसकेका छन् । उनका बुबा हिराप्रसाद श्रेष्ठको पनि व्यवसायीमाझ राम्रो पकड थियो । जसका कारण सुरेन्द्रलाई अघि सारे व्यवसायी र नेवार समुदायको मत आउने भन्दै उनी पक्षधरले लबिङ गरिरहेका छन् ।

कांग्रेसका अन्य दाबेदार

कांग्रेसमा मेयरका लागि यीबाहेक पनि अन्य थुप्रै दाबेदार छन् । व्यवसायी चुन्नु पौडेल, महिला नेत्री रिता केसीले पनि मेयरमा आकांक्षा राखेका छन् । केसी बुटवल नगर सभापतिमा संस्थापन समूहबाट उम्मेदवार भएर खेलराज पाण्डेयसँग पराजित भएकी थिइन् । मेयरमा चर्चा भए पनि उनी उपमेयर हुन सक्ने कांग्रेस कार्यकर्ताको आकलन छ ।

अन्य दलका दाबेदार

माओवादी केन्द्रबाट हरि घिमिरे, निर्दोष अली, मनोज राना, मञ्जु भुसाल, टीका वलीलगायतको चर्चा छ । अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेर उपमेयर लडेका नेता जगत पोखरेल एमालेमा लागेका छन् । घिमिरे लामो समयदेखि बुटवलमा बसेर राजनीति गर्दै आएका अनुभवी मानिन्छन् । शिक्षण पेसा छोडेर राजनीतिमा लागेका उनलाई अवसर दिनुपर्ने धेरै माओवादी कार्यकर्ताको भनाइ छ ।

अर्का आकांक्षी अली अहिले पार्टीको प्रदेश कमिटी कोषाध्यक्षमा मनोनीत भएका छन् । मनोज राना, मञ्जु भुसाल पार्टीको बुटवल नगर अध्यक्षका पनि आकांक्षी हुन् । तालमेल गर्दा माओवादीले उपमेयर पाए मञ्जु भुसाल बलियो दाबेदार हुन् । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीबाट अहिलेसम्म नेतृत्वको चर्चा बाहिर आएको छैन । मेयर, उपमेयर गठबन्धनमा परे वा एकल उम्मेदारी दिने अवस्था आए बुटवलमै घर भएका जिल्ला अध्यक्षसमेत रहेका राजु गुरुङ, जिल्ला कमिटीकै सरिता श्रीस, चीनबहादुर गुरुङलगायत उम्मेदवार हुन सक्ने अनुमान गरिएको छ ।