NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानमन्त्री देउवाको गाउँपालिका र वडामा के छ कांग्रेसको अवस्था ?

काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा चुनावी चहलपहल बढ्न थालेको छ । प्रधानमन्त्रीको गाउँपालिका भएकाले त्यहाँ बन्ने समीकरण र प्रतिस्पर्धामा धेरै उत्सुक छन् ।

गत स्थानीय चुनावमा देउवाको जन्मस्थान रहेको गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले बाजी मारेको थियो । वडाध्यक्ष र सदस्यहरूमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । पाँच वडा रहेको यस गाउँपालिकामा नवलबहादुर मल्ल विजयी भएका थिए । उनले कुल मतको ३३६९ मत ल्याएका थिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार वीरेन्द्रबहादुर मल्लले १९४६ मत पाएका थिए । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार ईश्वरीदत्त भण्डारीले ५१५ मत पाएका थिए भने अन्यले जम्मा २५ मत पाएका थिए ।
उपाध्यक्षमा कांग्रेस उम्मेदवार कमलादेवी ठगुन्नाले ३४०७ मत ल्याएर नतिजा आफ्नो पोल्टामा पार्दा एमालेकी उम्मेदवार कृष्णादेवी पनेरू उनको निकटतम प्रतिद्वन्द्वी बनेका थिए । पनेरू त्यतिबेला १८७३ मतमा रोकिएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार नारुदेवी भट्टले ५६८ र अन्यले जम्मा १२ मत पाएका थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा घर रहेको गन्याधुरा वडा नं. १ मा कांग्रेसका चेतराम भट्टले ९१५ मत ल्याएर वडाध्यक्षमा जित दर्ता गराएका थिए । एमालेका उम्मेदवार रामचन्द्र जोशीले ३८६, माओवादीका विक्रमबहादुर देउवाले ४६ र अन्यले ५ मत पाएका थिए ।
त्यस्तै, २ नम्बर वडामा कांग्रेसका इन्द्रबहादुर कार्की ८९० मत ल्याएर विजयी भएका थिए । सोही वडामा एमालेका लक्ष्मीप्रसाद भण्डारीले ५००, माओवादी केन्द्रका ईश्वरीदत्त पनेरूले १६ मत पाए । त्यहाँ अन्य उम्मेदवारले हासिल गरेको मत मात्रै ३ थियो ।

त्यसैगरी, वडा नम्बर ३ मा कांग्रेसका चक्रबहादुर देउवा ७१९ मत ल्याएर विजयी भएका थिए । एमालेका गजेन्द्रबहादुर शाही ५८१ र माओवादीका गणेशबहादुर सार्कीले जम्मा २३ मत पाए ।

४ नम्बर वडामा भने माओवादीका उम्मेदवार चेतराज भट्ट विजयी भएका थिए । उनले ५१२ मतका साथ जित हासिल गर्दा कांग्रेसका नरेन्द्रकुमार भट्टले ३५२ र एमालेका विष्णु राज पनेरूले ४३ मत पाएका थिए ।

त्यस्तै, वडा नम्बर–५ मा एमालेका धर्मराज पडालले ३८९ भोट ल्याई जितेका थिए । कांग्रेसका डमरुदत्त फुलाराले ३८० मत पाएका थिए । माओवादीका उम्मेदवार मिनराम साउद जम्मा ६३ मत पाएका थिए ।

कस्तो होला अबको प्रतिस्पर्धा ?

पाँच वर्षमा नयाँ मतदाताको संख्या उल्लेख्य थपिएकाले यस गाउँपालिकामा आगामी चुनाव कसले जित्ला भन्ने अवस्था छैन । ०७४ को चुनावी परिणाम हेर्दा अध्यक्षमा कांग्रेस र एमालेको मतान्तर जम्मा १४२३ रहेको देखिन्छ । एमाले विभाजन भएकोले कांग्रेसले सहज जित निकाल्ने देखिन्छ ।

यस गाउँपालिकामा एमाले र माओवादी केन्द्रले सहकार्य गरे पनि जित्ने अवस्था देखिँदैन । उपाध्यक्षमा पनि कांग्रेस र एमालेबीच निकै ठूलो मतान्तर रहेकाले कांग्रेसले नै बाजी मार्ने देखिन्छ । तर नयाँ मतदाताको मनोविज्ञान, पाँच वर्षमा निर्वाचित प्रतिनिधिले गरेका कामको मूल्याङ्कन तथा व्यक्ति विशेषलेसमेत प्रभाव पार्ने हुँदा कस्तो परिणाम आउला भन्ने अवस्था छैन ।

देउवाको वडा रहेको १ मा कांग्रेस बलियो देखिएको छ । गत चुनावमा कांग्रेसका उम्मेदवारले ९१५ भोट ल्याएका थिए भने एमालेले ३८६ मत ल्याएका थिए । एमाले विभाजन हुँदा कांग्रेसलाई थप फाइदा भएको छ ।

त्यस्तै, २ र ३ मा कांग्रेस र एमाले उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ । यी दुवै वडामा माओवादी केन्द्र निकै कमजोर देखिएको थियो । यसपालि एमाले विभाजन भएकाले कांग्रेसलाई हाइसञ्चो छ ।

०७४ मा ५१२ मत ल्याएर विजयी भएको थियो । कांग्रेसले ३५२ मत ल्याएर दोस्रो भएको थियो । त्यसबेला सिंगो एमालेको भोट जम्मा ४३ रहेकाले एकीकृत समाजवादीसँग माओवादीले तालमेल गरे पनि उल्लेख्य भोट बढ्ने देखिँदैन । विगतको काम र नयाँ मतदाताको मनोविज्ञानको आधारमा यसपटक माओवादीलाई आफ्नो विरासत जोगाइराख्ने चुनौती छ ।

त्यस्तै, एमाले विजयी भएको वडा ५ मा आफ्नो वर्चष्व कायमै राख्न एमालेलाई चुनौती छ । गत चुनावमा एमालेका उम्मेदवारले जम्मा ९ मतको अन्तरले मात्र जितेको थियो । एमाले विभाजन भएको र माओवादी पनि निकै कमजोर रहेकाले यस वडामा कांग्रेसले फाइदा उठाउने सम्भावना रहेको छ ।