NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुदूरपश्चिमको सबैभन्दा ठूलो गाउँपालिका कैलारीमा माओवादी र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । स्थानीय चुनाव नजिकिँदै गर्दा गाउँ तहसम्म चर्चा–परिचर्चा हुन थालेको छ । कैलालीको कैलारी गाउँपालिकामा पनि चुनावका लागि आकांक्षीको दौडधुप सुरु भएको छ । अघिल्लो चुनावमा कांग्रेसलाई हराउँदै माओवादी केन्द्रले यो गाउँपालिकामा वर्चस्व स्थापित गरेको थियो । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट पाँचभित्र परेको यो गाउँपालिकामा अहिलेकै अध्यक्षले पनि दोहोरिने चाहना राखेका छन् । गत चुनावमा अध्यक्षमा माओवादी केन्द्रका लाजुराम चौधरी र उपाध्यक्षमा माओवादीकै लक्ष्मी सत्गौंवा विजयी भएका थिए । यो गाउँपालिकामा मुख्यतः माओवादी केन्द्र र कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेको छ ।

जनसंख्या र भौगोलिक अवस्था

जिल्ला सदरमुकाम धनगढीदेखि २७ किलोमिटर पूर्वमा अवस्थित कैलारी गाउँपालिकाको कार्यालय हसुलिया कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ३ र ४ मा पर्छ । यस गाउँपालिकाको उत्तरमा गौरीगंगा नगरपालिका, दक्षिणमा भारतको उत्तर प्रदेश, पश्चिममा धनगढी उपमहानगरपालिका तथा पूर्वमा घोडाघोडी र भजनी नगरपालिका छ । यहाँको कुल जनसंख्या ५० हजार चार सय ५७ छ । यो सुदूरपश्चिमकै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो । यो गाउँपालिका पूर्ण साक्षर घोषणा भइसकेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा यो गाउँपालिका टप पाँचभित्र परेको छ । थारू समूदाय बाहुल्य रहेको कैलारी गाउँपालिका ७६.४९ अंकसहित चौथो स्थानमा परेको छ । युवा नेतृत्वले गाउँपालिकामा गरेका कामको विपक्षी दलले पनि प्रशंसा गरेका छन् ।

विगतको मत परिणाम

०७४ सालको चुनावमा यो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका लाजुराम चौधरी ६ हजार दुई सय चार मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसमझ चौधरीले पाँच हजार आठ सय ८७ मत ल्याएका थिए । यहाँ एमाले छैटौँ स्थानमा थियो । तेस्रो स्थानमा रहेको राप्रपाले दुई हजार सात सय ८३, चौथो स्थानमा रहेको मधेसी जनाधिकार फोरमले दुई हजार चार सय २३ र पाँचौँ स्थानमा रहेको तत्कालीन नयाँ शक्तिले दुई हजार ७० मत ल्याएका थिए । एमालेले एक हजार ६ सय २२ मत मात्रै पायो । उपाध्यक्षमा पनि सत्गौंवाले कांग्रेसलाई नै हराइन् । उपाध्यक्षमा भने तेस्रो स्थानमा फोरम रहेको थियो । नौवटा वडामा माओवादी केन्द्रले पाँचवटा जित्यो । कांग्रेसले दुई तथा फोरम र स्वतन्त्र उम्मेदवारले एक–एक वडामा बाजी मारेका थिए ।

एमालेले पनि गत चुनावमा भन्दा यसपटक संगठन विस्तार गरेको छ । तर, पार्टी विभाजनको असर गाउँसम्मै परेको छ ।

सम्भावित परिणाम

यो गाउँपालिकामा यसपटक भने त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत चुनावमा तेस्रो र चौथो रहेका फोरम र नयाँ शक्ति अहिले एउटै भएर जनता समाजवादी पार्टी बनेको छ । एमालेले पनि गत चुनावमा भन्दा यसपटक संगठन विस्तार गरेको छ । तर, पार्टी विभाजनको असर गाउँसम्मै परेको छ । एमालेका थुप्रै भोट एकीकृत समाजवादीले काट्ने अनुमान गरिएको छ । त्यसैले आगामी चुनावमा माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अचम्म त यी तीन दलले केन्द्रमा मिलेर सरकार चलाइरहेका छन् । एमालेले पनि पहिलेभन्दा बढी मत ल्याउने आधार बनाएको छ । सत्ता साझेदार दलबीच सबैतिर तालमेल गर्ने सहमति भए पदाधिकारीका लागि कैलारीमा चारवटै दलबीच विवाद हुन सक्नेछ । एक्लाएक्लै चुनाव लड्ने अवस्थामा भने एमाले पनि प्रतिस्पर्धामा जान सक्ने कतिपयको तर्क छ । माओवादी पनि सांगठनिक रूपमा पहिलेकै अवस्थामा छैन । उसका केही कार्यकर्ता एकीकृत समाजवादीमा लागेका छन् । त्यसैले यहाँ समाजवादी पनि बलियो नै देखिन्छ । जनता समाजवादी पार्टी पनि विभाजित भएकाले गठबन्धन नबने कैलारीमा कसले बाजी मार्छ भनेर यकिन गर्न गाह्रो हुने स्थानीय विश्लेषक बताउँछन् । स्थानीय बुद्धिजीवी नरेन्द्र सिंह यो क्षेत्रमा कटान समस्या मुख्य रहेको भन्दै प्राकृतिक स्रोत–साधनलाई सदुपयोग गर्न सक्ने व्यक्तिले जित्न सक्ने बताउँछन् । चुनावमा लालपुर्जा र कटानको मुद्दा नै मुख्य हुने उनी बताउँछन् ।

दलहरूका सम्भावित उम्मेदवार

माओवादीले अहिलेकै अध्यक्ष लाजुराम चौधरीलाई फेरि टिकट दिने सम्भावना छ । उनले जितेपछि गाउँमा राम्रै काम गरेका छन् । कार्यसम्पादन मूल्यांकनमा पनि गतिलो अंक पाएकाले युवा नेता चौधरी नै माओवादीका मुख्य दाबेदार हुन् ।
कांग्रेसबाट यसपटक कृष्ण चौधरी अध्यक्षका मुख्य दाबेदार हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक मानिने कृष्णले नै यसपटक टिकट पाउने स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन् ।

एमालेबाट रामप्रसाद चौधरी मुख्य दाबेदार हुन् । अघिल्लोपटक छैटौँ स्थानमा रहे पनि उनले गाउँमै बसेर संगठन विस्तार गरिरहेका छन् । जनता समाजवादी पार्टीमा अध्यक्षको उम्मेदवारबारे अझै चर्चा सुरु भएको छैन । एकीकृत समाजवादी अहिलेकै अध्यक्ष लाजुराम चौधरीलाई पार्टीमा भित्र्याएर अध्यक्षको उम्मेदवार बनाउने योजनामा छ । गठबन्धन बनेको अवस्थामा भने उम्मेदवार परिवर्तन हुन सक्नेछन् । चारवटै दलले अध्यक्षमा दाबी गर्ने भएकाले गठबन्धन बन्न समस्या रहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।