NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते
स्थानीय तह निर्वाचन विशेष

धनगढी उपमहानगरमा बहुपक्षीय प्रतिस्पर्धाको सम्भावना, कांग्रेसलाई स्वतन्त्रको चुनौती

काठमाडौं । सरकारले ०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेपछि धनगढी उपमहानगरमा पनि सम्भावित समीकरण परिणाम र उम्मेदवारबारे चर्चा–परिचर्चा चल्न थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेकाले धनगढीको परिणामलाई लिएर बढी चर्चा हुने गरेको छ । कांग्रेसको वर्चस्व रहेको उपमहानगरमा माओवादी र एमाले पनि मजबुत छन् । तर, गत निर्वाचनमा मेयरमा एमाले अघिल्लो तीनभित्र पनि पर्न सकेन । यद्यपि, एमालेको जनमत उपमहानगरमा राम्रै मानिन्छ । धनगढीमा केहीले स्वतन्त्र रूपमा मेयर र वडाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारका आकांक्षी घरदैलो अभियानमै लाग्न थालेका छन् ।

विगतको निर्वाचन परिणाम

७६ हजार चार सय ३० मतदाता रहेको धनगढी उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा ४७ हजार सात सय ६६ मत सदर भएको थियो । त्यसमध्ये कांग्रेसका नृपबहादुर वड १४ हजार तीन सय २४ मत ल्याएर मेयरमा विजयी भए । स्वतन्त्र रूपमा चुनाव लडेका गोपाल हमाल निकटतम प्रतिद्वन्द्वी बने । उनले ११ हजार पाँच सय २४ मत ल्याएका थिए । हमालले वडको भन्दा दुई हजार सात सय ९७ कम मत ल्याए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार दुई सय नौ मत ल्याए । एमाले उम्मेदवार दुर्गाप्रसाद जोशी नौ हजार नौ सय ४६ मतसहित चौथो स्थानमा रहे । राप्रपाका विष्णुबहादुर साहूले आठ सय २९ र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रेमकुमार बिसीले चर सय ५९ मत प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार चार सय आठ मत ल्याएर विजयी भइन् । दोस्रो स्थानमा रहेकी एमालेकी रुकमणि देवकोटाले १२ हजार सात सय ६३ र तेस्रो स्थानमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले १० हजार दुई सय ५२ मत ल्याइन् । १९ वटा वडा रहेको उपमहानगरमा कांग्रेसको बहुमत छ । १२ वटा वडा (१, २, ४, ५, ७, ८, ९, १०, १२, १३, १६, १७) मा कांग्रेसका उम्मेदवारले अध्यक्ष जितेका छन् ।पाँचवटा वडाध्यक्ष (३, ६, ११, १५, १८) भने माओवादीले जितेको छ । एमालेले वडा नम्बर १४ र १९ मा मात्र अध्यक्षमा जित निकालेको छ ।

निर्वाचन समीक्षा

धनगढी उपमहानगरपालिकामा विगतको मतपरिणाम हेर्दा यसपटक पनि कांग्रेस बलियो देखिन्छ । तर, अन्यत्रभन्दा धनगढीमा स्वतन्त्र उम्मेदवारको पनि चर्चा बढी हुन्छ । किनकि गत निर्वाचनमा स्वतन्त्र लडेर टक्कर दिएका गोपाल हमालले फेरि चुनाव लड्ने घोषणा गरिसकेका छन् । बीचमा विवेकशील साझा पार्टीमा प्रवेश गरेर प्रदेश अध्यक्षसमेत भइसकेका हमालले फागुनमा उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र नै लड्ने घोषणा गरिसकेका छन् । तर, माओवादीबाट तेस्रो स्थान हासिल गरेका रामसमझ राना कांग्रेसमा प्रवेश गरेका छन् । उपमहानगरमा खासै गतिलो काम नगरे पनि दलीय अवस्था भने कांग्रेसका लागि अनुकूल देखिन्छ । चर्चित व्यवसायीसमेत रहेका हमाल विवेकशील साझामा प्रवेश गरेपछि लोकप्रियता केही घटेको मानिएको छ । त्यसैलाई ध्यानमा राखेर उनले पार्टी परित्याग गरी स्वतन्त्र रूपमा लड्ने घोषणा गरेका हुन् । विगतमा सम्मानजनक मतसहित चौथो स्थानमा रहेको एमाले विभाजन हुनु पनि कांग्रेसका लागि लाभदायक हुनेछ । यद्यपि, कुन दलले कस्तो उम्मेदवार अघि सार्छ ? त्यसले चुनावी परिणाम तलमाथि हुन सक्नेछ ।

एमाले कांग्रेसको आलोपालो

धनगढी नगरमा प्रजातन्त्र स्थापनापछि भएका चुनावमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् । ०४९ सालमा भएको निर्वाचनमा कांग्रेसका किशोर बमले मेयरमा चुनाव जिते । एमाले दोस्रो स्थानमा रह्यो । तर, ०५४ सालमा एमालेले बाजी मा¥यो । कांग्रेसलाई पछि पार्दै एमालेका खेमराज पाण्डे मेयर बने । तर, पछि माओवादीको उदयपछि एमालेको जनमत कम भयो । ०७४ सालमा कांग्रेसले त्यसको फाइदा उठायो र चुनाव जित्यो । उपमहानगरका थारू समुदायको बाहुल्य रहेका वडामा माओवादीले प्रभाव जमाएको थियो । आलोपालोअनुसार आगामी निर्वाचनमा एमालेले जित्ने आशा राखेको छ ।

सम्भावित समीकरण र परिणामको आकलन

सत्ता साझेदार दलबीच स्थानीय चुनावमा मिलेर जाने चर्चा चलिरहेको छ । केन्द्रबाटै सहमति भयो भने धनगढीमा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुन सक्छ । तालमेल हुँदा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने सम्भावना छ । दुई दल मिले धनगढीमा अन्य दल चुनावी रेसबाटै बाहिरिनेछन् । यदि एक्लाएक्लै चुनाव लड्ने अवस्थामा भने चौपक्षीय प्रतिस्पर्धाको सम्भावना हुनेछ । स्वतन्त्र उम्मेदवार गोपाल हमाल नगर क्षेत्रमा लोकप्रिय छन् । त्यसैले उनलाई सबै दलले प्रतिस्पर्धी मानेका छन् । कुनै दलबाट चुनाव लड्दा कम मत आउने आकलनसहित उनी स्वतन्त्र भएका हुन् । विगतमा पनि उनले एमालेका धेरै मत तानेका थिए । बलियो सांगठनिक आधार भए पनि मेयर वडले काम गर्न नसकेकाले कांग्रेस ढुक्क देखिँदैन । त्यसैले उसलाई नयाँ उम्मेदवार अघि सार्नुपर्ने दबाब छ । यदि माओवादीसँग तालमेल नभएको अवस्थामा पनि गतिलो उम्मेदवार अघि सार्न सके धनगढीमा कांग्रेसकै पल्ला भारी देखिन्छ । एमाले विभाजनको असर पनि धनगढीमा राम्रै छ । जसको फाइदा पनि कांग्रेसलाई हुनेछ । यसपटक आफ्ना उम्मेदवार नै कांग्रेसमा प्रवेश गरेकाले माओवादी भने बढी दबाबमा छ । उसले उपमेयर लिएर भए पनि कांग्रेससँग तालमेलको प्रयास गर्ने सम्भावना छ । त्यसो भएमा गठबन्धनले नै धनगढीमा वर्चस्व स्थापित गर्ने निश्चित देखिन्छ ।

मतदाताको अपेक्षा

चुनावको मिति नजिकिएसँगै टिकट पाउन नेताहरूको दौडधुप तीव्र भएको छ । धनगढीका मतदाताले भने लोकप्रिय, अनुभवी, लोकतान्त्रिक आचरण भएको तथा नागरिकको सहज पहुँचमा रहने व्यक्ति मेयर बने हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । यी विशेषता भएको व्यक्ति आगामी चुनावमा मेयर हुन सक्ने प्राध्यापक टेकेन्द्र देउवाको बुझाइ छ । तर, चुनावमा भने धेरै फ्याक्टरले प्रभाव पार्नेछ । दलहरूबीचको समीकरण, उम्मेदवारको लोकप्रियताजस्ता विषयले चुनावी परिणाम निर्धारण हुने उनी बताउँछन् । स्थानीय दिनेश बडू यसपटक नगरको विकास गर्न सक्ने व्यक्ति हेरेर मत दिने बताउँछन् । स्थानीय सरिता भट्ट विकास निर्माण र सुशासन कायम गर्ने दल र व्यक्ति हेरेर मत दिने बताउँछिन् ।

भूगोलमा धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी कैलाली जिल्लाको सदरमुकाम पनि हो । पूर्व–पश्चिम राजमार्गछेउमै रहेको यो स्थानीय तह संघीय राजधानी काठमाडौंबाट करिब सात सय ५० किलोमिटर पश्चिममा रहेको छ । धनगढी कैलाली जिल्लाको पहिलो नगरपालिका पनि हो । तत्कालीन धनगढी बजार क्षेत्रलाई ०३३ असार २२ गते मिलाएर धनगढी नगर पञ्चायत घोषणा गरिएको थियो ।

०७२ असोज १ गते तत्कालीन फूलबारी र उर्मा गाउँ विकास समितिसमेत यसमा गाभेर धनगढी उपमहानगरपालिकामा स्तरोन्नति गरिएका थियो । पछि ०७३ फागुन २२ गते तत्कालीन अत्तरिया नगरपालिकाको वडा नं. ९ र ११ लाई पनि धनगढी उपमहानगरपालिकामा मिसाइएको थियो ।