NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसको चुनावी तालमेल : जितेका गगन विपक्षमा, हारेका विश्वप्रकाश पक्षमा

काठमाडौं । आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूसँग तालमेल गर्ने विषयमा पार्टीका दुई महामन्त्रीबीच नै मत बाझिएको छ ।

आजकाे केन्द्रीय समिति बैठकमा चुनावी तालमेल गर्ने–नगर्ने सुझाव दिने क्रममा दुई महामन्त्रीबीच मत बाझिएको हो ।

महामन्त्री गगन थापा आगामी निर्वाचनमा कांग्रेसले अन्य दलसँग चुनावी तालमेल गर्न नहुने सुझाव दिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले आवश्यकता हेरेर कांग्रेसले चुनावी तालमेल गर्नुपर्ने सुझाव दिएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

‘गठबन्धनका नाममा अरु पार्टीलाई भोट हाल्न लगाइएका मतदातालाई कांग्रेसमा भविश्यमा फर्काउन सकिन्छ ?’, भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले प्रश्न गरे ।

कम्युनिस्टबीच तालमेल हुन नदिनु नै लोकतन्त्र नभएको थापाको भनाइ थियो ।

महामन्त्री शर्माले आगामी निर्वाचनमा पार्टीले आवश्यकतामा आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताए ।

महामन्त्री शर्माको सुझाव बढी तेस्रो पार्टी माओवादी केन्द्रतिर लक्षित थियो ।

‘कुनै ठाउँमा कांग्रेस त कुनै ठाउँमा माओवादी केन्द्र अघि छ । यसर्थ, आवश्यकता हेरेर गठबन्धन गर्नु पर्छ’, उनले भने, ‘मतभार हेरेर त्यहाँको अवस्थाअनुसार तालमेल गर्नुपर्छ ।’

कांग्रेसका दुई महामन्त्रीको चुनावी तालमेलबारे फरक–फरक ध्रुवमा विभाजित भएका छन् । यसको अर्को अनौठो पाटो पनि छ ।

चुनावी तालमेलको विपक्षमा रहेका महामन्त्री थापा ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित भएका थिए भने अर्को महामन्त्री शर्माले झापाबाट चुनाव हारेका थिए ।

थापाले संसद्को चुनावमा दुईपटक उठ्दै दुवैपटक जितेका छन् भने शर्माले पनि दुईपटक नै उठेर दुवैपटक चुनाव हारेका छन् ।

चुनाव जितेकामा तामेलविना नै फेरि जित्ने आत्मविश्वास देखिएको छ भने हारेकालाई फेरि पनि उस्तै नतिजा दोहोरिएला कि भन्ने डर पैदा भएको हुनसक्ने विश्लेषण गरिएको छ ।