NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस केन्द्रीय समितिमा चुनावी तालमेलको पक्ष र विपक्षमा बोल्ने नेताहरू को–को ?

काठमाडौं । आगामी निर्वाचनमा तालमेल, टिकट बाँड्ने संसदीय बोर्ड गठनसहितका विषयमा छलफल गर्न जारी केन्द्रीय समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठकमा केन्द्रीय सदस्यले बोलेर सकिएपछि अब चुनावी तालमेलबारे सैद्धान्तिक निर्णय गर्ने, संसदीय बोर्ड गठनसहितको विषयमा मंगलबार निर्णय आउने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

धेरै केन्द्रीय सदस्यबाट चुनावी गठबन्धन र तालमेलको पक्षमा आएको भन्दै कांग्रेस कमजोर भएको ठाउँको अरु दलसँग मिलेर चुनाव लड्नेबारे मंगलबार निर्णय गर्ने जानकारी दिए । तर अहिले सैद्धान्तिक निर्णय गरेर कुन ठाउँमा कसरी तालमेल गर्ने भन्ने टुंगो लगाउने जानकारी उनले दिए । केन्द्रीय समिति बैठकपछि संसदीय बाेर्ड गठनबारे कांग्रेसकाे शीर्ष नेतृत्व तहमा कुराकानी भएकाे थियाे । याे समितिमा सिनियर नेतालाई समेट्न डा. शेखर काेइरालाले दबाब दिंदै आएका छन् ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले चुनावी तालमेल नगरिए आगामी निर्वाचनमा जित्न कठिन हुने बताएका थिए । यस अघि आफू पनि बल्लबल्ल चुनाव जितेको भन्दै देउवाले तालमेल नगर्दा कांग्रेस धेरै ठाउँमा पराजित भएको बताए । यसैले कांग्रेस कमजोर रहेको ठाउँमा तालमेल गरेर जानुपर्ने बताएका थिए । देउवाको मतमा नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरे । तर शेखर कोइराला र गगन थापाले पनि चुनावी तालमेलको विपक्षमा मत राखेका थिए । स्थानीय तहको निर्वाचनमा माओवादी र नेकपा एकीकृत समाजवादीका पक्षमा भोट हाल्न लगाइए प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ती मतदातालाई कांग्रेसमा भोट हाल्ने गरी तान्न नसकिने उनीहरूको मत थियो ।

प्रदेश सभापतिहरू पनि चुनावी तालमेलको विषयलाई केन्द्रबाटै निर्णय गराएर कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै आएका छन् । प्रदेश सभापति पनि संस्थापनका तालमेल र शेखर पक्षका तालमेलको विपक्षमा छन् । संस्थापनका केही सभापति तालमेलको अधिकार प्रदेशलाई दिनुपर्ने पक्षमा पनि छन् ।

यस अघि निर्वाचनमा हार्ने नेताहरूले प्रायः तालमेलमा जोड दिएका छन् । निर्वाचन हारे पनि तालमेल गर्न नहुने पक्षमा बाेल्ने नेतामा डा. शेखर छन् ।

यी हुन् सोमबारको बैठकमा बोल्ने नेताहरू

पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामा