NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विवेकशील साझाको पाण्डे पक्षले अघि सार्‍यो विवाद समाधानका दुई उपाय

काठमाडौं । विवेकशील साझा पार्टीको कारवाहीमा परेको मिलन पाण्डे पक्षले पार्टी विवाद समाधानका दुई उपाय अघि सारेको छ ।

प्रवक्त हरिशप्रसाद भट्टले आज एक विज्ञप्ति जारी गर्दै ०७७ मङ्सिर २४ को एकीकरणको सम्झौतालाई पालना गर्दै विवेकशील साझा पार्टीको विधानका आधारमा पार्टीलाई महाधिवेशनमा लैजानु पर्ने धारणा राखेका छन् ।

साथै, उनले अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘मार्ग परिवर्तन, विचारभन्दा माथि देश’ लाई खारेज गर्न मागसमेत राखेका छन् ।

पार्टीलाई ०७८ भाद्र १७ गतेभन्दा अघिको अवस्थाबाट निरन्तरता दिनुपर्ने उनको माग छ ।

यस्तो छ प्रेस विज्ञप्ति :

पार्टी मात्र होइन, सुसंस्कृत राजनीति पनि जोगाऔँ

विवेकशील साझा पार्टीको पछिल्लो विवाद र आरोप–प्रत्यारोपको विषयमा हामी जानकार छौँ । यो पार्टी हामी सबैले बनाएको पार्टी हो । पार्टी संयोजक मिलन पाण्डेले मार्ग परिवर्तन नामक राष्ट्रघाती, संविधान विरोधी दस्तावेजको विपक्षमा सङ्घर्षरत सबै नेता तथा सदस्यहरूलाई संयमताका साथ यस अलोकतान्त्रिक, अराजक प्रवृत्तिका विरुद्ध एक ढिक्का भएर उभिन आव्हान गर्नुभएको छ ।

यो पार्टीमा सुसंस्कृत राजनीति, वैकल्पिक राजनीतिका मान्यताहरूलाई चोट पर्ने गरी निस्कृत आरोप प्रत्यारोप र कारबाही–कारबाहीको खेलमा नलाग्न सबैमा विनम्र अनुरोध गर्दछौँ ।

हामी सबैमा समाधानका निम्ति निम्न दुई बुँदा राख्न चाहन्छौँ–

१) २०७७ मङ्सिर २४ को एकीकरणको सम्झौतालाई पालना गर्दै विवेकशील साझा पार्टीको विधान ०७४ (पहिलो संशोध सहित)को आधारमा पार्टीलाई महाधिवेशनमा लैजाने ।

२) ‘मार्ग परिवर्तन, विचारभन्दा माथि देश’ लाई खारेज गर्ने ( पार्टीलाई ०७८ भाद्र १७ गते भन्दा अघिको अवस्थाबाट निरन्तरता दिने )

हरिशप्रसाद भट्ट
प्रवक्ता
विवेकशील साझा पार्टी
मितिः २०७८-१२-१४ ।