NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसले चुनावी तालमेलबारे निर्णय गर्दै, कसरी होला तालमेल ?

काठमाडौं । केन्द्रीय समितिमा बहस भएपछि सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको लागि अहिलेकै सत्ता गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेलको निर्णय गर्ने भएको छ । केन्द्रीय समितिमा नेताहरूले बोल्ने क्रम सकिएपछि तालमेलको सैद्धान्तिक निर्णय गर्न आज दिउसो तीन बजेलाई बैठक बोलाइएको छ ।

तर सत्ता गठबन्धनमा आवद्ध दलसँग चुनावी तालमेल गर्नेबारे कांग्रेसमा समान मत छैन । मुख्य गरी सभापतिसहित संस्थापनका अधिकांश नेता चुनावी तालमेल गरेर एमालेलाई रोक्नुपर्ने पक्षमा छन् । तर डा. शेखर कोइराला, गगन थापासहित यो पक्षधर केन्द्रको निर्णयको आधारमा तालमेल गरिए कांग्रेसको लागि घाटा हुने बताइरहेका छन् ।

तर सभापति देउवाले आफूहरू कमजोर भएको ठाउँमा चुनावी तालमेल गरेर जित्ने वातावरण बनाउनुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा नै देउवाले अघिल्लो चुनावमा तालमेल नगर्दा स्थानीय तह, प्रदेश र संघसमेत कांग्रेसका धेरै नेता पराजित भएको भन्दै आफू कमजोर हुने ठाउँमा तालमेल गर्दा पार्टीकै हितमा रहेका बताएका थिए । तर उनको यो मतमा शेखर र गगन सहितका नेताले सहमति जनाएका छैनन् । तर धेरै नेताले गत निर्वाचनमा पराजय भोगेका कारण केन्द्रीय समितिमा धेरैले चुनावी तालमेलको पक्षमा मत दिएका छन् ।

प्रवक्ता डा. प्रकाशशरण महत केन्द्रको एकल निर्णयका आधारमा नभइ तलको परिस्थिति बुझेर कांग्रेसले तालमेलेको नीति लिने बताउँछन् । मंगलबार तालमेलबारे सैद्धान्तिक घोषणा मात्रै गर्ने र तल्लो तहले दिएको रिपोर्टिङको आधारमा चुनावसम्म कहाँ कसरी तालमेल हुनेबारे टुंग्याउने उनको भनाइ छ ।

कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५३ स्थानीय तहमा मात्रै जित दर्ता गरेको थियो । प्रतिनिधिसभामा १६५ मध्ये जम्मा २३ स्थानमा कांग्रेस खुम्चेको थियो । यसैले पनि यस अघि आफूले जितेको ठाउँमा तालमेल नगर्ने र हारेको धेरै ठाउँमा तालमेल गरेर जाँदा एमालेलाई रोक्न सकिने बुझाई देउवाको छ । नेता रामचन्द्र पाैडेलले अरू दलसँग मिलेर एमालेलाई चुनावबाट कमजाेर बनाउनुपर्ने बताएका थिए ।

आफू कमजोर भएका ठाउँमा अन्य दलको पनि उपस्थिति हेरेर माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेलको पक्षमा देउवा छन् । तर यसको लागि पार्टीको तल्लो देखिनै कांग्रेसको अवस्था, अरु दलको मत, एमाले विभाजनको असरसहितका विषयमा रिपोर्टिङ संकलन गर्ने तयारी कांग्रेसको छ । यस्तै वस्तुस्थितिको रिपोर्टिङपछि चुनावमा उम्मेदवारी दिने बेलासम्म तालमेल गर्ने पक्षमा कांग्रेस छ ।

जारी केन्द्रीय समितिमा समेत जिल्ला जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले कांग्रेसको अवस्थाबारे केन्द्रलाई रिपोर्टिङ गरेका छन् । सात प्रदेशका सभापतिले समेत तालमेलको व्यवहारिक पक्षबारे पार्टीलाई जानकारी गराएका छन् । तालमेलमा सबै सभापतिकाे मत समान छैन । संस्थापन पक्षका तालमेलकाे पक्ष र इतर पक्ष विपक्षमा छन् । तर अझै तल्लो तहबाट वस्तुस्थिति बुझ्ने र तालमेलसम्म जाने नीति कांग्रेसको छ । कतिपय ठाउँमा सत्तारुढ दलमा आवद्ध माओवादी र समाजवादीसँगै प्रतिस्पर्धा रहेको जस्ता पक्षबारे पनि नेताहरूले पार्टी केन्द्रको ध्यानाकर्षण गराएका छन् ।

दलहरूको उपस्थिति हेरेर यस अघि आफ्नो भोट बढी आएको ठाउँमा मेयर कांग्रेसलाई, उपमेयर अरु दललाई दिएर पनि तालमेल गर्नुपर्ने मत कांग्रेसमा संस्थापन पक्षको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादीसँग तालमेल गरेर प्रतिनिधिसभा कांग्रेसलाई कमजोर बनाएको भन्दै कांग्रेसले यसपटक स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा समेत माओवादी र समाजवादीसहितका दलसँग तालमेल गर्ने नीति लिएको छ । तर यसको ठोस आकार ग्रहण गरिसकेको छैन ।

चुनाव तालमेल रणनीतिक विषय भएको भन्दै अन्तिममा मात्रै घोषणा गर्ने र अहिले सैद्धान्तिक सहमति मात्रै गर्ने तयारी कांग्रेसले गरेको संस्थापनपक्षका एक नेता बताउँछन् ।