NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

धनगढी उपमहानगरमा वडको दोहोरिने चाहना, एमालेमा जोशी र चन्दबीच घमासान

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छँदा गाउँदेखि सहरसम्म चुनावी माहोल बन्न थालेको छ । वैशाख ३० गते हुने चुनावका लागि धनगढीमा पनि उम्मेदवारको चर्चा बढ्न थालेको छ । निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्छ र कस्तो उम्मेदवारलाई भोट दिने भनेर बहस पनि हुन थालेको छ । त्यसमाथि सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कुतूहलता देखिन्छ ।

उपमहानगरपालिकाको मेयरका लागि दलहरूले उम्मेदवार छान्ने काम बाँकी नै रहे पनि सम्भावित उम्मेदवारको चर्चा सुरु भइसकेको छ । स्वतन्त्र उम्मेदवारी पनि घोषणा हुन थालेको छ । गत चुनावमा कांग्रेसले जितेको यो उपमहानगरमा मुख्य दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

कांग्रेसका दाबेदार

कांग्रेस ०७४ सालको नतिजा दोहो¥याउने रणनीतिमा छ । पार्टीले उम्मेदवार तय नगरे पनि उम्मेदवारका आकांक्षीको दौडधुप भने सुरु भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशसमेत भएकाले पनि धनगढीमा मेयरका आकांक्षी नेतृत्व रिझाउन लागिपरेका छन् । कांग्रेसबाट यसपटक मेयरका लागि को–को दाबेदार छन् त, हेरौँ–

नृपबहादुर वड

हालका मेयर नृपबहादुर वडले पुनः अर्को एक कार्यकालका लागि पनि आकांक्षा राखेका छन् । ०७४ को निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वीभन्दा दुई हजार सात सय ९७ मत बढी पाएर उनी विजयी भएका थिए । आफूले नगरको विकासका लागि स्पष्ट खाका बनाएको र त्यहीअनुसार काम पूरा गरेर देखाउन अर्को कार्यकाल पनि मेयर हुन चाहेको वडको तर्क छ ।

०२९ सालमा अछाममा जन्मिएका वडले ०४६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए । आठ वर्षसम्म कांग्रेसको धनगढी नगर सभापति भएका वड हाल केन्द्रीय सदस्य छन् । उनले आकांक्षा राखे पनि पहिलो कार्यकालमा उल्लेख्य काम गर्न नसकेकाले टिकट पाइहाल्छन् भन्ने अवस्था भने छैन ।

सुशीला मिश्र भट्ट

हालकी उपमेयर भट्ट यसपटक मेयरको अर्को दाबेदार हुन् । आगामी चुनावमा उपमेयरमा नदोहोरिने घोषणा गरिसकेकी भट्टले मेयरको टिकटका लागि पार्टीमा लबिङ सुरु गरिसकेकी छिन् । केन्द्रमा राम्रो पहुँच भएका कारण पनि उनले टिकट पाउन सक्ने सम्भावना छ । कैलाली बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष, महिला संघको केन्द्रीय सदस्य हुँदै उनी हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । देशैभरि मेयरमा महिला दाबेदार कम हुने हुँदा सहभागिता बढाउन पनि भट्टको सम्भावना रहेको कांग्रेसमा चर्चा हुने गरेको छ ।

कृष्णबहादुर महरा

व्यवसायी तथा कांग्रेस नेता महराले पनि मेयरमा आकांक्षा राखेका छन् । ०७४ सालको निर्वाचनमा पनि उनले टिकट पाउने निकै चर्चा थियो । कांग्रेसका स्थानीय नेता पुस्करनाथ ओझालगायतले महरालाई मेयरमा लडाउन केन्द्रमा लबिङ गरेका थिए । तर, वडले टिकट पाएपछि महरा पछि हटेका थिए । अघिल्लोपटक छाडेकाले यसपटक आफूले टिकट पाउनुपर्ने भन्दै उनले दाबेदारी पेस गरेका छन् । कारण यसपटक महराले पाउने सम्भावना बलियो रहेको चर्चा छ । केन्द्रमा मिलाउन सके यसपटकका कांग्रेसका दाबेदारमध्ये उनी नै अगाडि रहेको बताइन्छ ।

हमालको स्वतन्त्र उम्मेदवारी

धनगढीका उद्योगी व्यवसायी गोपाल हमाल यसअघिको निर्वाचनमा मेयर वडसँग पराजित भएका थिए । स्वतन्त्र रूपमा लडेर एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई समेत पछि पारेकाले पनि हमालको प्रभाव धनगढी क्षेत्रमा कस्तो छ भन्ने बुझिन्छ । उनले आगामी चुनावका लागि पनि स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसअघि विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक रहेका हमालले निर्वाचनमा मेयरको उम्मेदवारी दिनकै लागि पार्टी परित्याग गरेर स्वतन्त्र भएका छन् । स्वतन्त्र लड्दा सबै दलको मत आउने भन्दै पार्टी छाडेको उनले बताउने गरेका छन् । उनले आफूले चुनाव जितेमा नगरपालिकाबाट एक रुपैयाँ पनि नलिएर समाजसेवामा लाग्ने घोषणा पनि गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयरका लागि दलहरूले उम्मेदवार छान्ने काम बाँकी नै रहे पनि सम्भावित उम्मेदवारको चर्चा सुरु भइसकेको छ । गत चुनावमा कांग्रेसले जितेको यो उपमहानगरमा मुख्य दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

मेयरमा एमालेका दाबेदार

धनगढीमा दुईपटकसम्म मेयर गुमाएको एमाले यसपटक नतिजा आफ्नो पोल्टामा पार्ने रणनीतिमा छ । एमालेले पनि अहिलेसम्म पार्टीका तर्फबाट उम्मेदवार घोषणा गरिसकेको त छैन, तर चर्चा भने सुरु भइसकेको छ ।

यी हुन् एमालेबाट मेयरको उम्मेदवारका दाबेदार–

दुर्गाप्रसाद जोशी

एमाले जिल्ला उपाध्यक्ष जोशीलाई भावी उम्मेदवारका रूपमा हेरिएको छ । उनी ०७४ सालको निर्वाचनमा मेयर पदमै लडेर चौथो स्थानमा आएका थिए । त्यतिबेला उनले नौ हजार नौ सय ४६ मत प्राप्त गरेका थिए ।

०५१ सालदेखि राजनीतिमा सक्रिय जोशी वडा तहबाटै उठेर आएका हुन् । वडासचिव, नगर उपसचिव हुँदै पार्टीको जिल्ला कमिटीमा पुगेका जोशी हाल जिल्ला उपाध्यक्ष छन् । विद्यालयसमेत चलाउने जोशीले प्याब्सनमा पनि वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् । विगतमा पराजित भए पनि यसपटक टिकट पाए जित्ने उनको दाबी छ ।

रणबहादुर चन्द

एमालेबाट मेयरका अर्का आकांक्षी हुन् रणबहादुर चन्द । लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि हालसम्म उनले चुनाव लड्ने मौका पाएका छैनन् । एमाले कैलाली जिल्ला सचिवसमेत बनिसकेका चन्दले स्थानीय पार्टी कमिटीमा राम्रो पकड बनाएका छन् । उनलाई इमानदार राजनीतिकर्मीका रूपमा लिने गरिन्छ । यसपटक मेयरमा लड्ने भन्दै उनले टिकटका लागि प्रयाससमेत सुरु गरिसकेका छन् । पार्टीमा लामो समयसम्म योगदान दिए पनि कुनै अवसर नपाएका कारण एमालेबाट उनको सम्भावना बलियो रहेको बताइन्छ ।

एमालेमा आन्तरिक विवादको असर उम्मेदवारीमा

एमालेको आन्तरिक विवादले पनि मेयरमा उम्मेदवार को हुन्छ भनेर यकिन गर्न गाह्रो भएको राजनीतिक पण्डित बताउँछन् । ०७४ सालमा चौथो स्थानमा चित्त बुझाउन बाध्य जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी र हालै सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा चुनाव हारेका रणबहादुर चन्दले मेयरमा दाबी गरे पनि टिकट पाउन सहज छैन ।

जिल्ला नेतृत्वको छनोटका वेला देखिएको आन्तरिक तुषले पनि दुई नेताको दाबेदारीमा अंकुश लगाउन सक्ने अनुमान गरिएको छ । आन्तरिक निर्वाचनमा छताछुल्ल भएको तिक्तताको असर टिकट वितरणमा पनि देखिन सक्ने एमालेभित्र चर्चा हुन थालेको छ । हालका लागि एमालेबाट मेयरमा जोशी र चन्द नै मुख्य दाबेदार हुन् । तर, यी दुईलाई प्रतिस्पर्धी देखाएर सहमतिको वातावरण बनाउन भन्दै तेस्रो व्यक्तिलाई अघि सार्ने सम्भावना पनि छ । यस्तो अवस्थामा धनगढीका पूर्वमेयर खेमराज पाण्डे वा धर्मराज पाठकले टिकट पाउन सक्ने कतिपयको विश्लेषण छ ।

माओवादीका सम्भावित उम्मेदवार

माओवादी केन्द्रले पार्टीको निर्णय नभएसम्म कसैलाई उम्मेदवारको दाबेदार भन्न नमिल्ने जनाएको छ । तर, स्थानीय तहमा भने उम्मेदवारका आकांक्षीले व्यक्तिगत रूपमा लबिङ गरिरहेका छन् । माओवादीका मुख्य दाबेदार कस्ता छन् त, हेरौँ–

शान्ति अधिकारी

अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेर पराजित भएकी थिइन् । उनले १० हजार दुई सय ५२ मत ल्याइन् भने कांग्रेसकी सुशीला मिश्र भट्टले १७ हजार चार सय आठ मत ल्याएर चुनाव जित्दा एमाले दोस्रो स्थानमा रह्यो ।

अधिकारी शिक्षा क्षेत्रमा सक्रिय व्यवसायी हुन् । ०५२ सालदेखि राजनीतिमा लागेकी अधिकारी माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन् । विगतमा उपमेयरमा पराजित भए पनि यसपटक मेयरमा टिकटका लागि उनले भित्रभित्रै प्रयास गरिरहेकी छिन् ।

बलबहादुर ऐर

माओवादीबाटै मेयर पदका सम्भावित उम्मेदवार भन्दै चर्चामा आएका बलबहादुर ऐर धनगढी– ३ का वडाध्यक्ष हुन् । वडाध्यक्ष हुनुअघि उनी खासै चर्चामा थिएनन् । तर, वडाध्यक्ष हुँदा विकास निर्माणका काममा देखाएको तदारुकताका कारण उनले मेयरमै दाबी गर्ने व्यक्तित्व बनाएका छन् ।

एकीकृत समाजवादीका दाबेदार

एकीकृत समाजवादी पार्टीबाट धनगढी नगर अध्यक्ष मदन रेग्मीको नाम चर्चामा छ । लामो समय एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी एमालेनिकट युवा संघको केन्द्रीय सचिवसमेत भएका थिए । यसका साथै मेयरमा चुनाव लड्ने भन्दै व्यवसायी राजेश भण्डारीको नामसमेत चर्चामा आउने गरेको छ । तर, भण्डारी अहिलेसम्म एकीकृत समाजवादीमा खुलेर लागेका छैनन् ।

मुख्य दलबाट धेरैले दाबेदारी गरे पनि दलहरूबीच हुने तालमेलले पनि उम्मेदवार तलमाथि हुन सक्ने आकलन गरिएको छ । सत्ता गठबन्धन दलबीच मिलेर जाने सहमति भए मेयरमा वड नै दोहोरिने सम्भावना बढी छ । उपमेयरमा माओवादीबाट शान्ति अधिकारीको सम्भावना बढी छ । एकीकृत समाजवादीले भने केही वडाध्यक्ष पाउन सक्नेछ ।