NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राजालाई पनि आयो गणतन्त्र, मर्यादाक्रममा पूर्वराष्ट्रपति सरहको हैसियत

काठमाडौं । गणतन्त्र आएको १५ बर्षपछि सरकारले पूर्वराजालाई समेत सम्बोधन गर्ने गरी मर्यादाक्रमको मस्यौदा गरेको छ । यसअघिको मर्यादाक्रममा पूर्वराजा र राजपरिवारका सदस्यलाई सम्बोधन गरिएको थिएन ।

गृह मन्त्रालयले तयार पारेको मर्यादाक्रमको मस्यौदामा पूर्व राजालाई छैठौँ नम्बरमा राखिएको छ । यो सूचीमा पूर्वराष्ट्रपतिलगत्तै पूर्वराजालाई राखिएको छ । प्रस्तावित मर्यादाक्रमअनुसार पूर्वराष्ट्रपति, पूर्वराजा, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, प्रदेश प्रमुख रहनेछन् ।

प्रस्तावित मर्यादाक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा अब पूर्वराजाले पनि पूर्वराष्ट्र प्रमुख सरहको मर्यादा पाउने छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पहिलोपटक पूर्वराजालाई सम्मानित मर्यादाक्रम दिन लागेको हो । यो मर्यादाक्रम स्वीकृत भएमा सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालभन्दा पूर्वराजा ज्ञानेन्द्र शाह अघि रहनेछन् ।

हालै तयार भएको नयाँ मर्यादाक्रमअनुसार पूर्वराजालाई छैठौँ नम्बरमा राखिएको छ ।

राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणासँगै मर्यादाक्रमबाट पूर्वराजाको नाम पनि हटाइएको थियो । तर, एकाएक गृह मन्त्रालयले फेरि पूर्वराजाको पनि स्थान रहनेगरी मस्यौदा तयार पारेको हो ।

यसअघि सरकारले तयार गरेको ०७४ सालको मर्यादाक्रममा स्थानीय जनप्रतिनिधिलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै विवाद भएपछि ०७५ मा नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो । जसमा पूर्वराजालाई समावेश गरिएको थिएन ।

नयाँ मर्यादाक्रमअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । त्यस्तै, चौथो नम्बरमा प्रधानन्यायाधीश र पाचौं नम्बरमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष रहेका छन् ।

छैठौँ नम्बरमा पूर्वराष्ट्रपतिपछि पूर्वराजालाई राखिएको हो । यस्तै सातौ नम्बरमा संघीय सरकारका मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्रीलगायत छन् ।