NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
स्थानीय तह निर्वाचन विशेष

यस्ता छन् नेपालगञ्ज उपमहानगरको मेयरमा भिड्ने सम्भावित उम्मेदवार

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा नेपालगञ्जमा दलका नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटनजस्ता चुनावलक्षित गतिविधिले पनि तीव्रता पाएका छन् । सँगसँगै नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेदवारका विषयमा पनि चर्चा हुन थालेको छ । स्थानीय नेताहरू टिकट हात पार्न दौडधुपमा लागेका छन् ।

बाँके जिल्लाको सदरमुकामसमेत रहेको पश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज उपमहानगरको नेतृत्व हत्याउन दलहरू आन्तरिक रूपमा गतिलो उम्मेदवारको खोजीमा छन् ।

आगामी निर्वाचनमा नेपालगञ्जमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपाबीच बहुपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जनाधार त्यति बलियो नभए पनि विगतको अनुभव र हेभिवेट उम्मेदवार भएका कारण ०७४ मा राप्रपाका डा. धवलशमशेर राणाले मेयर जितेका थिए । तर, यसपटक उनले संघीय सांसद लड्ने बताइरहेका छन् । यद्यपि, अझै निर्णय भएको छैन । प्रतिस्पर्धी दलबाट सम्भावित उम्मेदवार को–को छन् त ?

जनाधार त्यति बलियो नभए पनि विगतको अनुभव र हेभिवेट उम्मेदवार भएका कारण ०७४ मा राप्रपाका डा. धवलशमशेर राणाले मेयर जितेका थिए । तर, यसपटक उनले संघीय सांसद लड्ने बताइरहेका छन् । यद्यपि, अझै निर्णय भएको छैन 

कांग्रेसका सम्भावित उम्मेदवार

नेपालगञ्जमा कांग्रेस सांगठनिक रूपमा बलियो छ । अघिल्लो चुनावमा पनि उसले उपमेयर जितेको थियो । मेयरमा पनि प्रमुख प्रतिद्वन्द्वी बनेको कांग्रेसले यसपटक चुनाव जित्ने बताइरहेको छ । कांग्रेसबाट मेयरका लागि पहिले भिडेकादेखि हालका उपमेयरसम्मले दाबी गरिरहेका छन् । कांग्रेसका मुख्य दाबेदार कस्ता छन् ? हेरौँ–

डा. सुरेशकुमार कनोडिया

कनोडिया २००९ कात्तिकमा कपिलवस्तुको कृष्णनगरमा जन्मिएका हुन् । रुसको मस्कोस्थित पिपल्स फ्रेन्डसिप युनिभर्सिटीमा छात्रवृत्तिमा ११ वर्ष अध्ययन गरेका उनले शल्यक्रियामा विज्ञता हासिल गरेका छन् । ०४० सालमा वीर अस्पतालमा नौ महिना काम गरेपछि डा. कनोडियाको कर्मथलो बन्यो नेपालगञ्ज। उनले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा करिब १४ वर्ष काम गरे ।

डा. कनोडिया संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक सभासद्का उम्मेदवार थिए । ०७४ सालको निर्वाचनमा उपमहानगरमा मेयरको उम्मेदवार भएर उनी तीन हजार सात सय ८५ मतले पराजित भएका थिए । अहिलेका मेयर डा. राणाले १२ हजार पाँच सय १५ मत पाउँदा कनोडियाले आठ हजार सात सय ३० मत ल्याए । उनी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत हुन् । कांग्रेसबाट फेरि मेयरमा उम्मेदवार बन्न उनले लबिङ गरिरहेका छन् । कनोडिया कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

उमा थापामगर

थापामगर हालकी उपमेयर हुन् । ०५६ देखि ०७४ सालसम्म पत्रकारिता गरेकी थापाले सँगसँगै नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । ०७४ को निर्वाचनमा उनले नौजना उम्मेदवारलाई पछि पार्दै १० हजार सात सय ३१ मत ल्याएर उपमेयरमा बाजी मारिन् । उनले फेरि उपमेयरमा नदोहोरिने बताएकी छिन् । मेयरमा टिकट पाउनका लागि उमा थापामगरले दौडधुप तीव्र पारेकी छिन् । डा. शेखर कोइरालानिकट मानिने थापाले कोरोना महामारीका बेला नगरमा प्रशंसनीय काम गरेकी थिइन् । कांग्रेसबाट मुख्य दाबेदार अहिलेका लागि दुईजना देखिएका छन् । तर, केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले पनि आकांक्षा राखेका छन् ।

एमालेबाट पशुपतिदयाल मिश्राको सम्भावना बढी

नेपालगञ्जमा राम्रै जनाधार भएका पशुपतिदयाल मिश्रा गत मंसिरमा राष्ट्रिय जनता पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । नेपालगञ्ज उपमहानगरमा मेयरको टिकट पाउने सर्तमै उनी एमालेमा प्रवेश गरेको बताइन्छ । एमालेको चितवन महाधिवेशनबाट मिश्रा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०७४ को संघीय संसद्को निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्राले सूर्य चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । मिश्रा त्यतिबेला राजपाका मोहम्मद इस्तियाक राईसँग पाँच हजार ६ सय २४ मतान्तरले पराजित भएका थिए । उनी पूर्वजिविस सभापतिसमेत हुन् । यसपटक मेयर लड्ने भन्दै मिश्राले दुई महिनादेखि चुनावी तयारी गरिरहेका छन् । उनी नेपालगञ्जका उद्योगपति पनि हुन् । नेपालगञ्जमा एमालेको जनाधार कमजोर छ । त्यसैले व्यक्तिगत मत बढी भएका मिश्रालाई उसले मेयरको उम्मेदवार बनाउने लगभग निश्चित रहेको एमाले नेताहरू बताउँछन् ।

माओवादीबाट नन्दलाल वैश्य

वैश्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् । नेपालगञ्जको सहरी क्षेत्रको मधेसी बानियाँ समुदायमा उनको राम्रै पकड मानिन्छ । वैश्यले माओवादीबाट मेयरमा टिकटका लागि लबिङ गरिरहेका छन् । सत्ता साझेदार दलबीच समीकरण बनेमा मेयर कांग्रेसले पाउन सक्छ । तर, समीकरण बनेन भने माओवादीबाट वैश्य नै उम्मेदवार हुने सम्भावना छ । अघिल्लो चुनावमा माओवादीबाट उम्मेदवार बनेका दामोदर आचार्यको हालै निधन भएको छ । सात हजार एक सय ९८ मत पाएका आचार्य तेस्रो स्थानमा रहेका थिए ।

जसपाबाट कमरुद्दिन राई

कमरुद्दिन राई पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईका दाइ हुन् । ०७४ सालको निर्वाचनमा पनि राई मेयरका उम्मेदवार थिए । राईले त्यतिबेला पाँच हजार चार सय ४१ मतसहित पाँचौँ स्थान हासिल गरेका थिए । उनले पुनः मेयरमा लड्ने घोषणा गर्दै चुनावी तयारी सुरु गरिसकेका छन् । गठबन्धन नबनेको अवस्थामा जनता समाजवादी पार्टीले राईलाई नै मेयरमा अघि सार्ने सम्भावना छ ।

राप्रपाबाट मोहम्मद सफिक बेहना

बेहना नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष हुन् । उनी राप्रपाबाट निर्वाचित भएका थिए । हिन्दू समुदायकी ठकुरीकी छोरी बिहे गरेका बेहना मुस्लिम समुदायका व्यापारी हुन् । राप्रपाका युवामाझ बेहना लोकप्रिय मानिन्छन् । राप्रपाको नगर क्षेत्रमा संगठन खासै बलियो छैन । यसअघि डा. धवलशमशेर राणाले व्यक्तिगत लोकप्रियताका आधारमा मात्रै जितेका थिए । राणाले फेरि मेयरमा नलड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्यमा लड्ने उनको योजना छ । स्थानीय चुनावमा एमाले र राप्रपाबीच चुनावी तालमेल हुने चर्चा चलिरहेको छ । त्यसो भयो भने राप्रपाले मेयरमा एमालेलाई सघाउन सक्नेछ ।

तालमेलको सम्भावना

नेपालगञ्जमा कांग्रेसका लागि पनि तालमेल आवश्यक छ । किनकि यसअघिको चुनावमा कांग्रेसले पाएको मत आठ हजार सात सय ३० हो । जुन मत विजयी उम्मेदवारको भन्दा तीन हजार सात सय ८५ कम हो । सत्तारूढ गठबन्धनबीच तालमेल भयो भने नेपालगञ्जमा मेयरको टिकट कांग्रेसले पाउने सम्भावना बलियो देखिन्छ । उपमेयर माओवादी वा जनता समाजवादी पार्टीमध्ये एकले पाउन सक्छन् । एमालेले मेयर जित्नका लागि राप्रपा र लोकतान्त्रिक समाजवादीसँग तालमेल गर्ने सम्भावना छ । नेपालगञ्जमा मिश्रित जात, धर्म र भूगोल भएकाले उम्मेदवार छनोटमा पनि मधेसी–मुस्लिम–पहाडी समुदायबीच सन्तुलन राख्ने गरी दलहरूले अनुहार चयन गर्नुपर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष