NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

देशको अर्थतन्त्रमा किन महत्वपूर्ण हुन्छ विदेशी मुद्रा ?

काठमाडौं । अहिले श्रीलंकामा विदेशी मुद्राकाे अभावका कारण अर्थतन्त्र संकटमा परेकाे छ । एउटा देशकाे आर्थिक स्तर बलियाे बनाउनमा विदेशी मुद्राकाे भूमिका उत्तिकै रहन्छ ।

कुनै पनि अर्थतन्त्रमा विदेशी मुद्रा पर्याप्त हुनु धेरै कुरामा महत्वपूर्ण हुन्छ । विदेशी मुद्राले विशेष गरी अमेरिकी डलरलाई बुझाउँछ । अमेरिकी मुद्रा डलर विश्वव्यापी मुद्राको रुपमा चिनिएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा डलर र युरो लोकप्रिय र सर्वस्वीकार्य छन् । विश्वभरका केन्द्रीय बैंकमा जम्मा हुने वैदेशिक मुद्राको भण्डारमा ६४ प्रतिशत अमेरिकी डलर हुन्छ । यस्तो अवस्थामा डलर आफैंमा विश्वव्यापी मुद्रा बनेको छ ।

अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अर्गनाइजेसनको सूचीअनुसार विश्वभर कुल १८५ मुद्रा छन् । यीमध्ये धेरै मुद्राको प्रयोग देशभित्र हुन्छ । कुनै पनि मुद्रा विश्वभर कुन हदसम्म प्रचलित छ भन्ने कुरा त्यो देशको अर्थव्यवस्था र शक्तिमा निर्भर रहन्छ ।

विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी मुद्रा डलरमा हुन्छ । कुल डलरको ६५ प्रतिशत डलरको प्रयोग अमेरिकाभन्दा बाहिर हुन्छ । ३९ प्रतिशत अन्तर्राष्ट्रिय ऋण डलरमा दिइन्छ । यसकारण अन्तर्राष्ट्रिय व्यापारमा पनि डलरको आवश्यकता पर्छ ।

विश्वको दोस्रो शक्तिशाली मुद्रा युरो हो । विश्वका केन्द्रीय बैंकका विदेशी मुद्रा भण्डारमा १९.९ प्रतिशत युरो छ ।

डलरको तुलनामा कुनै देशको राष्ट्रिय मुद्रा कति बलियो छ भन्ने कुरा देशको विदेशी मुद्रा सञ्चितिमा कति डलर छ भन्नेमा भर पर्छ । विनिमय दरलाई नियन्त्रणमा राख्न विदेशी मुद्रा सञ्चितिको सन्तुलन धेरै महत्वपूर्ण हुन्छ ।

कुनै देशको मुद्राको मूल्य घट्दा विनिमयदर धेरै नबढोस् भनेर विदेशी मुद्रा सञ्चितिबाट डलर बजारमा राखिन्छ । विदेशी मुद्राको अभावमा कुनै पनि देशले अत्यावश्यक वस्तुसमेत आयात गर्न सक्ने अवस्था हुँदैन ।

देशहरुले निश्चित दर मूल्य कायम राख्न, संकटको अवस्थामा तरल रहन र लगानीकर्तालाई विश्वास प्रदान गर्न विदेशी मुद्रा भण्डारको प्रयोग हुन्छ । उनीहरुलाई बाह्य ऋण तिर्न, अर्थतन्त्रका क्षेत्रहरुलाई पुँजी जुटाउन र विभिन्न लगानीहरुबाट नाफा गर्न पनि वैदेशिक मुद्रा भण्डारण चाहिन्छ ।

आर्थिक संकटको अवस्थामा तरलता कायम राख्न पनि वैदेशिक मुद्राको सञ्चिति महत्वपूर्ण हुन्छ ।

कम्तिमा ३ देखि ६ महिनासम्मका लागि आयात गर्न पुग्ने डलर सञ्चित भएमा देशमा खाद्य संकट नहुन सक्छ । अहिले विश्वव्यापी रुपमा चीनसँग सबैभन्दा धेरै वैदेशिक मुद्रा सञ्चित छ । सन् २०२२ को जनवरीसम्ममा चीनसँग सबैभन्दा धेरै वैदेशिक मुद्रा छ, त्यसपछि जापान र स्विट्जरल्यान्ड लगातार दोस्रो र तेस्रो स्थानमा छन् ।

श्रीलंका कसरी फस्यो आर्थिक संकटमा ?