NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पल प्रकरण : कैफियत प्रतिवेदन मगाउन उच्च अदालत कास्कीको आदेश

काठमाडौं । उच्च अदालत कास्कीले एक नाबालिग गायिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश सम्बन्धमा कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध शाहले मंगलबार दर्ता गरेको निवेदनमाथि बुधबार तोकिएको पेशीमा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका हो । मुद्दाको अवस्था बुझ्न जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिएको हो ।

न्यायाधीश राजभण्डारीको इजलासमा अन्य चारवटा पेशी रहे पनि शाहको पेशीलाई पहिलो नम्बरमा राखिएको थियो ।

चैत १० मा शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनले मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च अदालत, कास्कीमा निवेदन दिएका थिए ।

शाहमाथि १५ वर्ष ९ महिना ११ दिनकी नाबालिग गायिकालाई माया प्रेमको बहाना गरेर जबर्जस्ती करणीको आरोप लागेको हो । कैफियत प्रतिवेदन प्राप्त भएपछि शाहलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षमै राखेबारे उच्च अदालतले आदेश दिनेछ ।