NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
स्थानीय तह निर्वाचन विशेष

भरतपुर महानगर : रेनुका कामले मतपत्र च्यातिएको विषय ओझेलमा

काठमाडौं । पाँच वर्षअघि भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवार हुँदै गर्दा रेनु दाहाल प्रचण्डपुत्रीका रूपमा बढी चर्चामा थिइन् । तर, अहिले उनको परिचय थपिएको छ । रेनु अहिले प्रचण्डपुत्रीका रूपमा भन्दा बढी गतिलो काम गर्ने मेयरका रूपमा परिचित छन् । उनले भरतपुर महानगरका बासिन्दासँग चुनावका बेला गरेका धेरै प्रतिबद्धता पूरा हुन बाँकी छन् । तर, जति काम भएका छन्, तिनले प्रशंसा पाएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरको अंक औसत छ । कार्यसम्पादनमा यो महानगरले ५१ दशमलव ८ अंक मात्रै पाएको छ । तर, स्थानीय बासिन्दा भने मेयरको कामबाट सन्तुष्ट देखिन्छन् ।

मतपत्र च्यातेर चर्चा

गत चुनावमा भरतपुर महानगरमा अनौठो घटना भयो । मतगणनाका क्रममा तीव्र प्रतिस्पर्धा चलिरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्याते । एउटा वडामा पुनः निर्वाचन भयो । पछि मतगणनामा रेनु दाहालले जितिन् । ०७४ को स्थानीय तह निर्वाचनमा रेनु दाहाललाई कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा उठाइएको थियो । ०७४ साउन २१ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान भएको थियो । त्यही वडाको पुनः मतदानका कारण विजयी भएपछि रेनुमाथि विभिन्न आरोप लाग्यो । मत्रपत्र च्यातिएको घटनाले उनलाई अहिले पनि पछ्याइरहेको छ । भरतपुरका लागि उनी नौलो अनुहार थिइन् । गृहनगर भरतपुर भए पनि उनले भूगोलको राजनीति गर्न पाएकी थिइनन् । त्यसैले पनि भरतपुरको भौगोलिक र राजनीतिक अवस्थाबारे उनी पूर्ण जानकार थिइनन् । तैपनि उनको काम गराइले मध्यम योगफल तयार पारेको देखिन्छ ।

साढे चार वर्षमा भएका काम

रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी तथा ६ वटा महानगरमा एक मात्र महिला मेयर भएकाले पनि भरतपुर सधैँ चर्चामा रहिरह्यो । केन्द्रमा पहुँच हुँदा रेनुलाई काम गर्न र स्रोत–साधन जुटाउन धेरै समस्या भएन । यस अवधिमा रेनुले संघीय र प्रादेशिक सरकारसँगको समन्वय र सहकार्य गराउँदै विकास र समृद्ध भरतपुर निर्माणको अभियान सफल बनाउन सकिने आधार तयार भएको छ ।

भरतपुर महानगरपालिकाभित्र नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माण, साढे चार वर्षमा महानगरभित्र ६ सय १० किलोमिटर सडक कालोपत्रे, ४५ किलोमिटर महानगरको चक्रपथ, भित्री सडक, बाइपास सडक स्तरोन्नति भएको छ ।

नारायणी नदी डुबान, कटान नियन्त्रणका लागि तटबन्ध गर्न संघीय सरकारबाट चार अर्बको बजेट सुनिश्चित गरिएको छ । बर्सेनि विपत्को सामना गर्दै आएका नदीआसपासका नागरिकको जीवनमा यो योजनाले रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ ।

महानगरको पहलमा भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बनाउने निर्णय संघीय सरकारले गरिसकेको छ । शिक्षकको सम्मानमा भरतपुरमा बन्न लागेको अस्पतालले स्वास्थ्य क्षेत्रमा अर्को योगदान गर्नेछ ।

भरतपुरमा रहेको चितवन जिल्ला अस्पताललाई स्तरोन्नति गरी केन्द्रीय अस्पतालमा परिणत गरिएको छ । महानगरभित्र ४० वटा स्वास्थ्य संस्था स्थापना गरिएको छ । जसले भरतपुरबाहेक चितवन र आसपासका जिल्लाका नागरिक पनि लाभान्वित भएका छन् ।

कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न महानगरले धान रोप्ने र काट्ने मेसिन कृषकलाई अनुदानमा उपलब्ध गराएको छ । दुग्ध उत्पादक कृषकलाई प्रोत्साहित गर्न योगदानमा आधारित प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ । यसले दूध उत्पादन बढेको छ ।

भरतपुरबाटै सवारी दर्ता, सवारीचालक अनुमतिपत्र, नवीकरण गर्ने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत मुख्य सडक तथा चोकमा एक हजार नौ सय ३३ वटा स्मार्ट बत्ती जडान गर्ने काम सुरु गरिएको छ ।

समग्रमा सडक, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका लागि महानगरले सकारात्मक काम गरेको स्थानीयको बुझाइ छ ।

सडक र पूर्वाधारमा जोड

महानगरले साढे चार वर्षको अवधिमा सडक यातायातमा फड्को नै मारेको छ । ६ सय १० किलोमिटर सडक कालोपत्रे र चार सय ५० किलोमिटर सडक ग्राभेल गरिएको छ । महानगरका भित्री सडक पनि कालोपत्रे बनेका छन् । संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किलोमिटरको महानगरीय रिङरोड बनाउने काम अघि बढेको छ । आठ अर्ब २० करोडको लागतमा यो रिङरोड बन्न लागेको हो । सघन सहरी विकासबाट १०, प्रदेश सरकारबाट ८.५५, सडक विभागबाट १२, महानगरबाट १० गरी ४० दशमलव ५५ किलोमिटर रिङरोड निर्माणाधीन छ ।

मेयर दाहालका अनुसार बाँकी सडक निर्माणका लागि स्रोत सुनिश्चितताको पहल भइरहेको छ भने ५२ किलोमिटरको लिंकरोडको काम पनि अघि बढेको छ ।

महानगरभित्र पर्ने पुल्चोकदेखि गोन्द्राङसम्म सडक हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणका लागि एक अर्ब ९८ करोड ७३ लाखको लागतमा काम सुरु भएको छ । साथै, चार लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको काम पनि अघि बढेको छ । माडी–ठोरी हुलाकी सडक १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको आठ किमि सडक निर्माणाधीन अवस्थामा रहेको महानगरको प्रगति विवरणमा उल्लेख छ ।
हालै सम्पन्न नगर सभामा भरतपुर महानगरपालिकाले ५४ वटा कामको सूची सार्वजनिक गरेको थियो । जसमा अधिकांश काम पूर्वाधार निर्माणसँग सम्बन्धित छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल निर्माण, रिङरोडजस्ता विषयलाई विकासको मुख्य आधार बनाइएको छ । ज्येष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापना गर्नेदेखि सहिद परिवार र विपन्न परिवारका लागि बजेट छुट्याइएको छ । नगर सभाले आर्थिक वर्ष ०७८/७९ का लागि पाँच अर्ब ३३ लाख ९९ हजार रुपैयाँ बजेट पारित गरेको थियो ।

६ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना

पछिल्लो साढे चार वर्षमा भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालय छाडेर ६ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएको महानगरको दाबी छ । यसबाहेक अटिजम भएका विद्यार्थीका लागि महानगरले छुट्टै विद्यालय स्थापना गरेको छ । शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता काम भएको मेयर दाहालको भनाइ छ ।

भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । जब कि केन्द्र सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ ।
नगरले ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ । महानगरपालिकाभित्र एक सय २३ सामुदायिक र संस्थागत विद्यालय ९७ वटा छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पूरा नभएका प्रतिबद्धता

निर्वाचनका बेला उनले चुनावी घोषणापत्र तयार गरेर वितरण गरिनन् । बरु गठबन्धनले नै घोषणापत्र तयार गर्‍यो । यद्यपि, चुनावी अभियानका क्रममा जनतासँग व्यक्त गरेका धारणा, त्यतिबेला सञ्चारमाध्यममा आएका उनका प्रतिबद्धता र विजयी भएपछि व्यक्त मन्तव्यलाई आधार मान्दा उनका कामको प्रतिफल मध्यम देखिन्छ ।
उनले सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा केन्द्रीय स्रोत र साधनसँग जोडेर एउटा नमुना सहर बनाउने प्रण गरेकी थिइन् । भरतपुरलाई समृद्ध र आधुनिक सहर बनाउने उनको योजना थियो । त्यसका लागि अझ धेरै काम गर्न बाँकी छन् ।

भरतपुर महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रिकालीन सेवा उपलब्ध गराउने जस्ता प्रतिबद्धता भने पूरा भएनन् । मेट्रो रेलबारे अनुसन्धानसमेत गरिएन । विमानस्थलमा रात्रिकालीन सेवा गराउने विषयमा पनि पहल भएको देखिँदैन । भरतपुर विमानस्थल विस्तार गराउने विषय भने छलफलमा नै सीमित छ ।
भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउँदै महानगरभित्र आफ्नै नगर अस्पताल बनाउने योजना पनि अलपत्र पर्‍यो ।

भरतपुरमा विकास हुँदै गरेको मेडिकल सिटीलाई व्यवस्थापन गर्ने भनिए पनि उल्लेखनीय काम भएको छैन । वातावरणका हिसाबले महानगरभित्र एक घर दुई रूख रोप्ने योजना पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । पर्यावरणीय मापदण्डका आधारमा उद्योग सञ्चालन गर्ने योजना रहे पनि त्यसका लागि महानगरले मापदण्ड बनाएको देखिँदैन । निःशुल्क इन्टरनेट र फ्री वाइफाइ क्षेत्र बनाउने प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेन ।

सुरु भएर पूरा नभएका काम

महानगरले प्रतिबद्धता जनाएकामध्ये नौवटा योजना अलपत्र परेका छन् । वडा नं. ३ स्थित नगर वनको सानो मजुवामा करिब एक अर्ब ३५ करोड लागत अनुमान रहेको अटोल्यान्ड निर्माण अघि बढ्न सकेको छैन । यो योजना वातावरणीय प्रभाव मूल्यांकनको चरणमा मात्रै छ ।

नारायणी नदी किनारलाई ‘सी बिज’ मोडेलमा विकास गर्ने भनिए पनि अहिलेसम्म २९ करोड लागतमध्ये महानगरपालिकाले ९७ लाखको लगानीमा एक किलोमिटर वाकिङ ट्रेलको टायल बिछ्याउने काम मात्रै गरेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व महानगरले लिने बताए पनि अहिले निर्माण कार्य रोकिएको छ । फोहोरमैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारसँग सम्झौता गरिए पनि काम अगाडि बढ्न सकेको छैन ।

मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघ–संस्थासँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिए पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाका साथै महानगरीय यातायात गुरुयोजनाको काम पनि अघि बढेको छैन ।

मेयर–उपमेयर सम्बन्ध

मेयरमा रेनु दाहाल माओवादी केन्द्रबाट र उपमेयरमा पार्वती शाह ठकुरी कांग्रेसबाट निर्वाचित भएका थिए । दुई फरक पार्टीका मेयर–उपमेयर दुवै महिला नै भए पनि उनीहरूबीच कहिले निकटता र कहिले तिक्तताको सम्बन्ध रहँदै आएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताअघिको राम्रो सम्बन्धले दुई पार्टी एक भएको बेला निरन्तरता पाउन सकेन । कतिपय समयमा उपमेयर शाह मात्र होइन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत कार्यपालिका बैठक बहिष्कार गरे । उपमेयर शाहले दाहाललाई भोट हालेर चुनाव जिताएकोमा पछुतो लागेको समेत भन्न भ्याइन् । तर, एमाले र माओवादी अलग–अलग पार्टी भएपछि अहिले भने मेयर–उपमेयर सम्बन्ध सुमधुर बन्दै गएको छ । गत निर्वाचनमा कांग्रेसले मेयरमा माओवादीलाई साथ दिएकाले अब मेयर आफूले पाउनुपर्ने उपमेयर शाहले बताउँदै आएकी छिन् ।

मेयर दाहाल सन्तुष्ट

भरतपुरमा धेरै काम गरिएको छ । यसबाट म सन्तुष्ट छु । महानगरलाई अझै ब्युटिफिकेसन गर्ने काम बाँकी छ । स्मार्ट सिटी बनाएर देखाउने मेरो संकल्प छ । पहिले पिच सडक हेर्न महानगरवासीले बजार नै आउनुपर्ने अवस्था थियो । त्यसबेला प्रत्येकजसो वडामा ६–७ सय मिटर मात्रै सडक पिच भएको थियो । अहिले प्रत्येक वडामा ४० किलोमिटर, ५० किलोमिटर सडक पिच भएको छ । फराकिलो बाटो बनेको छ । ड्रेन बनेको छ । सडक पूर्वाधारमा राम्रो उपलब्धि हासिल भएको छ । देशकै आधुनिक र गुणस्तरीय अन्तर्राष्ट्रियस्तरको सिटी हल बनेको छ । अर्को भनेको महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण भएको छ । नारायणी नदीको तीरसम्मको तटबन्धको योजना पनि अघि बढेको छ । अहिले त्यसलाई चारवटा प्याकेजमा विभाजन गरेको छ । दुईवटा प्याकेजमा ठेक्का भइसकेको छ । वर्षौंदेखिको नारायणी नदीको समस्या अब हल हुने सुनिश्चित भएको छ । शिक्षा, स्वास्थ्यजस्ता विषयमा पनि उल्लेखनीय काम भएको छ । स्थानीय बासिन्दा र दलबाट योबीचमा राम्रै सहयोग भएको छ । एमाले अध्यक्ष केपी ओलीले भने काम हुन नदिन केन्द्रबाट निकै प्रयास गर्नुभयो । त्यसका बाबजुत पनि हामीले धेरै काममा सफलता पाएका छौं ।

ताजा अपडेट

नेपालवाच विशेष