NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भण्डारबाट तेल निकाल्न बाइडनको निर्देशन, कति छ अमेरिकासँग सञ्चय ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशको रणनीतिक भण्डारबाट तेल निकाल्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्धले सिर्जित ऊर्जा संकटमोचन निम्ति राष्ट्रपति बाइडनले यस्तो निर्देशन दिएका हुन् ।

बिबिसीका अनुसार, आगामी ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकाल्ने अमेरिकी योजना छ । यसबाट अहिले देखापरेको ऊर्जा संकट समाधान हुने अमेरिकी भनाइ छ । तर विश्लेषकहरू दैनिक १० लाख ब्यारल तेल निकालेर समस्या समाधान नहुने दाबी गर्छन् ।

अमेरिकाले संकटका बेला प्रयोग गर्न सन् १९७० को दशकको ऊर्जा सङ्कट लगत्तै रणनीतिक ऊर्जा भण्डार निर्माण गरेर तेल सञ्चय गर्दै आएको छ । आगामी ६ महिनामा निकाल्न तयारी गरिएको तेल सन् १९७४ यताकै उच्च भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनको रणनीतिक भण्डारबाट तेल निकाल्ने निर्देशनसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। तर युद्धपछि त्यहाँबाट तेल आपूर्ति नहुँदा ऊर्जा संकट देखापरेको छ ।

बिबिसीका अनुसार, अमेरिकाको टेक्सस र लुइजियाना राज्यको जमिनमुनि नुनिला विशाल गुफाहरूमा यस्ता ऊर्जा भण्डार केन्द्र बनाइएको छ । ती भण्डारमा २५ मार्चसम्मको विवरण अनुसार ५६.८ करोड ब्यारल तेल छ । सन् २००९ मा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै ७० करोड ब्यारल तेल थियो ।