NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्थानीय तह नेतृत्व : पाएसम्म पुरुष, नपाए महिला

कार्यकारी पदमा निराशाजनक उपस्थिति

काठमाडौं । सहभागिता बढाउन स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्था अघिल्लो निर्वाचनमा गरियो । यो प्रावधानले स्थानीय तहमा महिलाको उपस्थिति बढाए पनि कार्यकारी पदमा नगण्य स्थानमा मात्र उनीहरूले अवसर पाए ।

अघिल्लो पटक ०७४ मा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये १८ मा मात्र महिला प्रमुख तथा अध्यक्षमा चुनिए । यो कुल स्थानीय तहको मात्रै २ दशमलव ३९ प्रतिशत हो ।

अघिल्लो पटक तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा निर्वाचन भएका थिए । यी ३ प्रदेशबाट जम्मा १३ स्थानीय तहमा मात्रै अध्यक्ष तथा प्रमुखमा महिला उम्मेदवार विजयी हुन सफल भए ।

दोस्रो चरणअन्तर्गत प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा निर्वाचन सम्पन्न भयो । यी ३ प्रदेशमा मात्रै ४ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा महिला निर्वाचित हुन सफल भए ।

अन्तिम चरणमा सम्पन्न भएको मधेस प्रदेशमा एउटा स्थानीय तहको प्रमुखमा मात्रै महिला उम्मेदवार विजयी भएका थिए ।

दलहरूले महिलालाई अध्यक्ष तथा प्रमुख पदमा उम्मेदवार बनाउन हिच्किचाउँदा स्थानीय तहको मूल नेतृत्वमा महिलाको संख्या खुम्चिएको थियो । यस पटक महिलाहरूले स्थानीय तहको नेतृत्व पाउनुपर्ने दबाब अहिलेदेखि नै सिर्जना गर्न थालेकाले यसमा केही सुधार हुने लख काटिएको छ ।

हेर्नुहोस् अध्यक्ष तथा प्रमुखमा महिला निर्वाचित स्थानीय तहहरू

सुनकोशी गाउँपालिका – मा.के
कालिका गाउँपालिका – एमाले
इच्छाकामना गाउँपालिका – कांग्रेस
भरतपुर महानगरपालिका – मा.के
राप्ती नगरपालिका – एमाले
दूधपोखरी गाउँपालिका – कांग्रेस
म्याग्दे गाउँपालिका – कांग्रेस
पुतलीबजार नगरपालिका – एमाले
कावासोती नगरपालिका – एमाले
हुप्सेकोट गाउँपालिका – एमाले
धवलागिरी गाउँपालिका – एमाले
कुमाखमालिका गाउँपालिका – मा.के.
चन्दननाथ नगरपालिका – कांग्रेस
कमल गाउँपालिका – एमाले
सिस्ने गाउँपालिका – मा.के.
दिपायल सिलगढी नगरपालिका – एमाले
भागेश्वर गाउँपालिका – कांग्रेस
मौलापुर नगरपालिका – मा.के.

वडाध्यक्षमा पनि छैन महिलालाई प्राथमिकता

७ सय ५३ स्थानीय तहभित्र ६ हजार ७ सय ४३ वडा छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पनि जनप्रतिनिधीको रूपमा निर्वाचन प्रक्रियाबाट छनोट हुन्छ ।

अघिल्लो निर्वाचनमा देशभर रहेका ६ हजार ७ सय ४३ वडाध्यक्षमध्ये ६१ वटा वडामा मात्रै महिला उम्मेदवार निर्वाचित भए । यो भनेको कुल पदमा महिलाको उपस्थिती दर ०.९ प्रतिशत हो ।

किनभने, स्थानीय तहमा अध्यक्ष वा प्रमुखपछिको अर्को शक्तिशाली पद वडाध्यक्ष हो । कार्यकारी अधिकार प्राप्त हुने उक्त पदका लागि उम्मेदवार छनोट गर्दा दलहरूको रोजाइमा महिला होइन, पुरुष परेका छन् ।

अघिल्लो निर्वाचनमा पहिलो चरणमा २८ वडामा महिला उम्मेदवार विजयी भएका थिए । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा २४ वडाध्यक्षमा महिला निर्वाचित भए । यस्तै अन्तिम चरणमा सम्पन्न निर्वाचनबाट ९ वडाध्यक्षमा मात्रै महिला उम्मेदवार विजयी भए ।

वडा सदस्यमा पनि पाएसम्म पुरुष

निर्वाचन आयोगको तथ्यांकअनुसार दलहरूले स्थानीय तहका प्रमुख पदहरूमा मात्रै होइन, पाउँदासम्म सामान्य पदमा पनि पुरुष उम्मेदवार नै अघि सार्ने गरेको देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा हरेक वडा सदस्यमध्ये खुल्लातर्फ २ सदस्यका लागि निर्वाचन हुन्छ । त्यसबाहेक बाँकी दुई वडा सदस्यमा एक जना दलित र अर्को महिला सदस्य नै हुनुपर्ने बाध्यकारी व्यवस्था छ ।

दलहरूले कानूनले बाध्य गरेको बाहेक खुल्लातर्फको वडा सदस्यको उम्मेदवारमा पनि महिलालाई प्राथमिकता नदिएको निर्वाचन परिणामले देखाएको छ । हरेक वडामा २ जनाको दरले वडा सदस्य खुल्लातर्फ १३ हजार ४ सय ८४ जना निर्वाचित हुन्छन् । त्यसमध्ये अघिल्लो निर्वाचनबाट २ सय ६४ जनामात्रै निर्वाचित भए ।

यो तथ्यांकले निर्वाचनमा दलहरूको रोजाइ महिला होइनन् भन्ने देखाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष