NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
अन्तर्वार्ता

देशै चलाउने क्षमता राख्छु, मेयरमा उठ्दिनँ : लालबाबु पण्डित

केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंको मेयर बन्ने इच्छा व्यक्त गरेपछि त्यसले सबैतिर चर्चा–परिचर्चा पायो । प्रधानमन्त्री भइसकेका व्यक्तिले स्थानीय तहको एउटा नगरपालिकाको प्रमुख बन्ने इच्छा देखाउने विषयलाई अस्वाभाविक मानियो । गोरखा पालुङ्टार नगरपालिका–१ मा स्थायी घर रहेका भटट्राईलाई काठमाडौंको मेयर बन्न कानूनले बर्जित गरेको छ ।

भट्टराईको अभिव्यक्ति सेलाउन नपाउँदै पूर्वमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले विराटनगर महानगरपालिकाको प्रमुख बन्न इच्छा देखाएको हल्ला फैलियो । स्रोत र साधन परिचालनको हिसाबले राम्रो सम्भावना रहेको स्थानीय तहमा केन्द्रीय स्तरका नेता, सांसद वा प्रशासकले आशक्ति देखाउनु राम्रो भएको टिक्का टिप्पणी हुन थालेको छ । यसै विषयमा नेपालवाचकर्मी गणेश पाण्डेले नेता पण्डितसँग चुनावको तयारी र समसामयीक विषयमा कुराकानी गरेका छन् :

तपाईंले विराटनगरको मेयरमा उठ्ने विषय हल्ला मात्र हो कि पक्का हो ?

कसले के–के प्रचार गर्छन्, मलाई थाहा छैन ।

मेयरमा उठ्नु नराम्रो हो र ?

देश चलाउनुपर्ने मान्छेलाई कहाँ मेयरमा उठ्छ ? कसले के लेख्छ मेरो चासोको विषय होइन ।

त्यसोभए यो सबै हल्ला मात्र हो त ?

मलाई थाहा नभएको कुरा मैले के भन्नु ?

केही दिनअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौंको मेयर बन्ने इच्छा देखाउनुभएको थियो, केन्द्रीय नेताले स्थानीयमा इच्छा देखाउनु राम्रो हो नि, होइन र ?

बुझें । मेरो स्थानीय तहमा त्यस्तो इच्छा छैन ।

तपाईंलाई पार्टीले नै टिकट दिएर उठ्न पर्छ भन्यो भने के गर्नु हुन्छ ?

म पार्टी बाहिर त छैन नि । पार्टीले सरसल्लाह गरेर नै देला नि त ? पार्टीले उठ्न प¥यो भनेमा उसैलाई नै जवाफ दिउँला । मैले अहिल्यै अरुलाई भन्न मिल्दैन । आएको जिम्मा मैले जिम्मेवारीपूर्वक नलिएको पनि होइन । पार्टीले दिएका सबै जिम्मेवारी मैले निर्वाह गर्दै आएको छु ।

पछिल्लो समय राष्ट्रिय राजनीतिमा पूर्वप्रधानमन्त्री, मन्त्री र सांसद भएका व्यक्तिहरूले स्थानीय तहमा मेयर इच्छा व्यक्त गर्नु के राजनीतिक खपतका लागि मात्र हो र ?

मैले बाबुराम भट्टराईको अभिव्यक्ति पटक–पटक सुनेको छु । उहाँले गरेको कुनै कुरा मेल खाएको छैन । उहाँले जे गर्नुहुन्छ, त्यसको उल्टो गर्नुहुन्छ । उहाँप्रति मलाई विश्वास छैन । स्थानीय तहमा लड्नका लागि एमालेका साथीहरूको कमी छैन । सबै सक्षम र क्षमतावान् छन् ।

बिहीबार मात्र सत्ता गठबन्धनको बैठकले स्थानीय तहसम्म संयत्र बनाएर चुनावमा तालमेल गर्ने निर्णय गरेको छ, यसले एमालेलाई अप्ठ्यारो पर्ने भयो नि होइन ?

एमालेसँग डराएर भागेकाको के अर्थ छ ? त्यस्तासँग केही शक्ति हुन्छ ? जो–जो डरले भागेका छन्, उनीहरू जति मिले पनि शक्ति हुँदैन । एमालेसँग डरले सामना गर्न नसकेर भागेका मान्छेको जितको कुरामा विश्वास गर्न सकिँदैन ।

त्यसोभए गठबन्धनविरुद्ध एमाले एक्लै लड्न सक्षम छ, होइन ?

झुण्ड त भुसुनाको पनि हुन्छ । लामखुट्टेको पनि झुण्ड हुन्छ । दुःख त भुसुनाले पनि दिन्छ । लामखुट्टेले पनि दिन्छ । तर त्यो झुण्डसँग डराएर मान्छे भाग्यो भने के हुन्छ ? भाग्छ कि प्याट्ट–प्याट्ट हान्छ ? त्यसरी हान्दा ज्यान कसको जान्छ ? त्यही लामखुट्टे र भुसुनाको ज्यान जान्छ कि जाँदैन ?

तपाईंका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणाबीच डेढ घण्टा भेटवार्ता भएको छ, एमालेलाई राप्रपाको शरणमा जानुपर्ने अवस्था किन भयो ?

एक राजनीतिज्ञलाई अर्को राजनीतिज्ञले भेट गर्नु स्वभाविक हो । भेट हुँदैन भन्ने कुरा होइन । केहीदिन अघिको कुरा गर्ने हो भने कतिवटा पार्टीका मानिसहरू भिआइपीमा बसेका थिए ? पूर्वराजा ज्ञानेन्द्र पनि थिए । फोटो खिचेको तस्बिर पनि बाहिर आयो । त्यही फोटोका कारण ज्ञानेन्द्र कुन पार्टीमा प्रवेश गरे वा नेताहरू ज्ञानेन्द्रसँग लागे भन्ने विश्लेषण गरेर हुन्छ ?

राजनीतिज्ञको कहि कतै भेट हुन सक्छ । कहिले योजनाबद्ध भेट हुन्छ, कहिले संयोगले भेट हुन्छ । दुई नेताबीच भेट हुनु अस्वभाविक होइन । राजनीतिमा दीर्घकालीन शत्रु र मित्रु कोही हुँदैन । हाम्रै पाटीका अध्यक्षले केही दिनअघि भन्नुभएको छ– एकदिन यस्तो स्थिति आउन सक्छ, शेरबहादुर देउवाले लुकेर सूर्यमा भोट हाल्नेछन् ।

आगामी चुनावमा राप्रपासँग कुनै तालमेल हुने सम्भावना छ ?

केन्द्रमा कुनै पार्टीसँग पनि तालमेल हुँदैन । स्थानीय स्तरमा केही हुन सक्छ ।

स्थानीय तहमा जनप्रतिनिधि ठेकेदार बन्ने, आफ्नै स्काभेटर प्रयोग गर्ने र विकासको नाममा दुहुनो गाई बनाउने जुन प्रवृत्ति हावी भएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै यसलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । केही हदसम्म सकारात्मक छ । राजनीति र विकासमा सुद्धता ल्याउन, आचरणमा सुधार ल्याउने कुरामा मेरो समर्थन छ । राजनीति सेवा हो । कसैलाई राजनीतिलाई पेशा बनाउन मिल्दैन ।

मैले बाबुराम भट्टराईको अभिव्यक्ति पटक–पटक सुनेको छु । उहाँले गरेको कुनै कुरा मेल खाएको छैन । उहाँले जे गर्नुहुन्छ, त्यसको उल्टो गर्नुहुन्छ । उहाँप्रति मलाई विश्वास छैन 

राजनीतिलाई व्यक्तिको स्वार्थमा जोडेर आर्थिक रूपले उकालो लाग्ने भ¥याङ बनाउन मिल्दैन । ठेक्का पट्टाबाट पैसा कमाउनु छ भने किन राजनीतिमा आउने, ठेकदारी नै गर्नु नि ! जसमा लगानी गर्दा पैसा आउँछ, त्यसमै लगानी गर्नुपर्छ । राजनीति पवित्रताको साथ गर्नु पर्छ । चिची पनि पापा पनि दुवैको लोभ गरेर भएन नि ! प्रतिष्ठा र पैसा दुवैको लोभ गरेर राजनीति हुँदैन ।

तर यस्ता प्रवृत्तिले समृद्धिको यात्रामा त धक्का पु¥याएको छ नि होइन र ?

यसमा कडाइ गर्नुपर्छ, त्यसमा दुई मत छैन । स्थानीय तहमा फैलिएको रोग भनेको भ्रष्टाचार हो । त्यसलाई कडाइका साथ दण्डित गर्नुपर्छ । त्यो स्थानीय होस् या केन्द्रीय होस् कहीँ पनि छुट पाउनु हुँदैन । राजनीतिकर्मी, मिडिया, आर्थिक कारोबार जसले जे अपराध गर्छन् त्यसलाई कारावाही हुनुपर्छ ।

स्थानीय तहमा प्रयाप्त अवसर हुँदाहुँदै पनि जनअपेक्षाअनुसार काम हुन सकेको छैन नि किन ?

हाइपोथेटिकल कुरा गरेर हुँदैन । इच्छा भनेको पनि हाइपोथेटिकल कुरा हो । गर्ने भनेको व्यवहारको कुरा हो । इच्छा त एकै छिनमा के हुन्छ भने चन्द्रमा वा मंगल ग्रहमा जाउँ भन्ने हुन्छ, त्यो सम्भव छ ? इच्छामात्र राखेर केही अर्थ छैन । इच्छालाई यथार्थमा बदल्नका लागि व्यवहार हुनुपर्छ । सकारात्मक अर्थले इच्छा थियो ठीकै हो र गर्नेले नगर्ने अनि अरुको सिरानी ओडेर केही अर्थ छैन नि ! गर्नेले गर्नु प¥यो नि त !

राज्य संयन्त्र र जनप्रनिनिधि यो पाँच वर्षमा विकास र समृद्धिको यात्रामा कहाँ चुके ?

यो पहिलोपटक संघीयताको कार्यन्वायन पनि हो, संरचना निर्माण पनि हो, व्यवस्थापनको कुरा पनि हो । त्यसैले संघीयता र अधिकार जुन दियौं, कर्तव्यको खोजी ग¥यौं । मेरो विचारमा तुलतात्मक रूपमा काम भएको छ । तर मैले भन्ने गरेको छु । चिटिक्क परेको मान्छे सिनेमामा हिरो–हिरोइन हुन्छ । हिरो–हिरोइन कति सजिएका हुन्छन् ! त्समा कति जनाको मेहनत लागेको हुन्छ ! हिरो–हिरोइनको पसिना आउँछ कि आउँदैन ? आन्द्रामा के–के हुन्छ ? रुन्छ कि रुँदैनन् ? उनीहरूको लुगा गनाउँछ कि गनाउँदैन ? हो, स्वभाविक कुरालाई नकारात्मक विन्दु बनाएर प्रचार गर्नु पनि एउटा अपराध हो । अस्वभाविक छ भने त्यो अलग कुरा हो । यस्ता कुरा गर्न थालियो भने के हुन्छ ? अरुको पीडा नदेख्ने, आफ्नो कुरामात्रै देख्ने भयो भने के हुन्छ ? सबै विषय यथार्थमा बुझ्नु प¥यो । राम्रोलाई पुरस्कृत र नराम्रोलाई कानूनीरूपमा दण्डित गर्नुपर्छ । मिडियाले सडकमा गएर आजको आजै सर्लक हुनुपर्छ भन्दैमा हुँदैन नि !

अन्त्यमा, आगामी दिनमा एमालेको स्थिति कस्तो हुन्छ, कुनै आकलन गर्नुभएको छ ?

जतिसुकै गठबन्धन गरेर आए पनि एमाले सामना गर्न तयार छ । एमालेले देशभर राम्रो सिट जित्छ ।