NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दलाई लामा : तिब्बतदेखि तवाङसम्म

निर्वासित जीवन बिताएका दलाई लामाको संघर्ष

सन् १९५९ को मार्चमा ‘दलाई लामाको ज्यान नै खतरामा छ’ भन्ने हल्ला घुइरोघुइरो ल्हासामा चल्यो । मार्चको अन्त्यसम्म यो हल्ला एक कान, दुई कान, मैदान हुँदै पूरै ल्हासाभर फैलिसकेको थियो । त्यसपछि त के चाहियो, लामाको महल नोरबुलिंगकको चारैतिर भीडम् भीडसँग मानिस भेला हुन थालिहाले ।

सुरुमा कतैबाट चुहिएको यो सूचनामा भरपर्दो तथ्य थिएन । तर जब चीनले लामालाई अंगरक्षकबिनै ल्हासास्थित चिनियाँ सेनाको मूख्यालयमा हुने सांस्कृतिक समारोहमा निम्ता दियो, तब भिडले चीनको फसाउने षड्यन्त्र भएको आशंका गर्यो । यदि लामा चीनको निम्तो मान्न गएमा गिरफ्तारमा पर्छन् भन्ने भिडको विश्वास थियो ।

भारतीय पूर्वविदेश सचिव निरूपमा रावले भर्खरै आफ्नो पुस्तक ‘द फÞ्रैकचर्ड हिमालय, इण्डिया तिब्बत, चाइना १९४९–१९६२’ नामक पुस्तक लेखेकी छन् । जसमा उनले यो प्रसंग कोट्याउँदै भनेकी छन्, ‘जनताको चिन्ता यस कुराले बढी छ कि चीनले दलाई लामालाई त्यस समारोहमा आफ्नो अंगरक्षकबिना उपस्थित हुन भनेका थिए ।’

मार्च ३१ मा टोली भारतीय सीमा नजिकै पुग्यो । टोलीका केही सदस्य तिब्बतमै बस्न चाहने थिए । लामाले तिनलाई भारी मनका साथ बिदाई गरे । उनीहरू पनि दलाई लामालाई बिदाईका हात हल्लाउँदै विस्तारै ओझेल परे

अन्ततः लामा त्यस समारोहमा नजाने तय भयो । यो सन्देश चिनियाँलाई पठाउँदा भने आफ्नो महलबाहिर ठूलो भिड खडा भएकाले निस्कन सम्भव नभएको उल्लेख गरिएको थियो ।

उनले लेखेकी छन्, ‘१६ मार्चसम्ममा चीनले दलाई लामाको महल नोरबुलिंगलाई नष्ट गर्ने तयारी भइरहेको खबर आउन थाल्यो ।’

अनि लामाले महल छाडे

अनेक हल्ला फैलिने र घटनाक्रमले त्यस्तै संशय पैदा भएपछि लामाका नजिकका सल्लाहकारहरूले उनलाई तुरुन्त दरबार छोड्न सल्लाह दिए । तर दरबार छाडेर जान त्यति सजिलो कहाँ थियो र ? सुराक चीनसम्म पुग्न सक्ने खतरा प्रवल थियो । यदि यो सूचना त्यहाँसम्म पुगेमा बीचमै योजना भताभुंग भएर चीनको पल्लाभारी हुनसक्थ्यो ।


१७ मार्च १९५९ को मध्यरात । सिंगो सहर नै शान्त थियो । ठीक त्यही बेला दरबारबाट सैनिक पोशाकधारी एउटा टोली फुत्त बाहिर निस्कियो र निर्जीव दरबारलाई बिदाईको हात हल्लाउँदै अघि बढ्यो । ती चीनबाट बच्न भागेका उनै दलाई लामा र उनका परिवारका सदस्य थिए ।

दरबार छाड्दा उनीहरू तीन समूहमा बाहिरिएका थिए । अन्तिम पटक अंगरक्षक अघिपछि लगाएर कहिल्यै नफर्किने गरी दलाई लामाले दरबार छाडेका थिए । सो क्रममा उनले पहिचान नखुलोस् भन्नका खातिर सैनिक भेष धारण गरेर पछाडि बन्दुक बोकेका थिए ।

दलाई लामा आफ्नो आत्मकथा ‘माई ल्याण्ड एण्ड माई पिपुल, मेमाएर्स अफÞ दलाई लामा’ मा लेखेका छन्, ‘हामी तीन समूहमा निस्कियौं ।
सबैभन्दा पहिले दिउँसो मेरा शिक्षक र काशगका चारजना ट्रकको पछाडि तारपालमुनि लुकेर बाहिर निस्कियौं । त्यसपछि मेरी आमा, कान्छो भाइ तेन्जिन चोग्याल, बहिनी छिरिङ डोल्मा र काका भेष बदलेर निस्कनुभयो । मेरी आमा र बहिनी पुरुषको भेषमा निस्कनुभएको थियो ।’

लामाको पुस्तकमा उल्लेख गरिएअनुसार रात १० बजे पनि आफ्नो चस्मा फुकालेर एक साधारण तिब्बती सैनिकको लुगा लगाएर, टाउजर लगाएर लामा बाहिर निस्केका थिए । सो क्रममा उनको देब्रे काँधमा राइफल झुण्डिएको थियो । साथमा चिफ अफ स्टाफ गाड्रङ, मुख्य अंगरक्षक र जेठान फुन्टसोङ टासी टकाला थिए ।

भिड पार गरेर बाहिर निस्किने क्रममा पहिचान खुल्ने भयले लामाले चस्मासमेत फुकालेका थिए । तर कसैले लामा हो भन्ने सु्इँको पाएनन् । लामाले पुस्तकमा लेखेका छन्, ‘कोही कसैले चिनिन्छु कि भन्ने डरले मैले चस्मा फुकालेँ । तर अगाडि केही देखिनँ ।

पुस्तकमा लामाले दरबारबाट निस्किँदै गर्दा अर्को दिन देख्न पाउने हो कि होइन भन्ने संशयले त्रस्त पारेको उल्लेख गरेका छन् । चे–लाको चुचुरोमा
पुग्नअघिसम्म यस्तो त्रासले मनमा घर गरेको र त्यहाँ पुगेपछि पहिलो पटक खतरामुक्तको अभास भएको विषय पनि लामाले समेटेका छन् ।

लामालाई तिब्बतबाट भारत पुर्याउन स्थानीयले भरमग्दुर प्रयास गरेका थिए । कतिपय त घोडा नै लिएर आएका थिए । लामाले तिनै स्थानीयको घोडा चढेर तिब्बत पार गरेका थिए ।

‘स्थानीयले हाम्रा लागि घोडा लिएर आएका थिए । हामी घोडामाथि सवार भयौं । मैले अन्तिम पटक पछिल्तिर फर्केर ल्हासातिर हेरेँ,’ लामाले पुस्तकमा त्यो सकसपूर्ण दिनबारे लेखेका छन् ।

त्यस क्षेत्रमा हजारौं चिनियाँ सैनिक तैनाथ थिए । त्यसैलै उनलाई चिनिने र समातिने डर धेरै थियो । दलाई लामा र उनका साथीहरूले पहिले केइचु नदी पार गरे । त्यस नदीको अर्को छेउमा दुई समूह उनलाई पर्खिरहेका थिए ।

त्यहाँ दलाई लामाले फेरि आफ्नो चस्मा लगाए र उनले स्पष्टसँग सबै कुरा देख्न थाले । दलाई लामाको टोली रातभरि हिँडिरह्यो । चे–लामा केही समय रोकिएपछि टोली ब्रह्मपुत्र नदी पार गरेर तिब्बतको दक्षिणतर्फ सोझियो ।

दलाई लामाको जीवनी ‘दलाई लामा : एन इलस्ट्रेटेड बायोग्राफी’ मा तेन्जिन टिथोङ लेख्छन्, ‘मार्च २५ मा उनले अमेरिकी गुप्तचर एजेन्सी सिआइएलाई विशेष कोडसहित दलाई लामा सुरक्षित रहेको सन्देश पठाए । प्रत्येक २४ घण्टामा दलाई लामाको प्रगति रिपोर्टहरू राष्ट्रपति आइसेनहोवरलाई पेश गरिन्थ्यो ।

यति बेलासम्म दलाई लामा भागेको खबर संसारभर फैलिएको थियो । र, संसारभरका पत्रपत्रिकाहरूले यस विषयलाई आफ्नो मुख्य समाचार बनाएका थिए ।

दलाई लामाले नेहरूलाई सन्देश पठाए


लुत्से जोग पुगेर दलाई लामाले तिब्बतमा नयाँ सरकार गठन गरे । । समारोहमा करिब एक हजार मानिस सहभागी थिए । तर त्यतिञ्जेल तिब्बतमा दलाई लामाको ज्यान ठूलो खतरामा रहेको स्पष्ट भइसकेको थियो । त्यसैले दलाई लामा सीमा पार गरेर भारतमा शरण लिन चाहन्छन् भन्ने सन्देश भारत र अमेरिकालाई पठाइयो ।

सिआइएका वरिष्ठ अधिकारी जोन ग्रिनले मार्च २८ मा यो सन्देश प्राप्त गरेका थिए । उनले सन्देश पाउनेबित्तिकै तुरुन्तै दिल्लीमा सन्देश पठाएर दलाई लामाकोे बारेमा जानकारी दिए । यसभन्दा अघि मार्च २६ मा दलाई लामाले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सन्देश पठाएका थिए । सन्देशमा लेखिएको थियो, ‘भारतका जनता मानवीय मूल्यको समर्थनका लागि विश्वभर चिनिन्छन् । हामी सोना क्षेत्रबाट भारत प्रवेश गर्दैछौं । आशा छ कि तपाईंले भारतीय भूमिमा हाम्रो बस्ने व्यवस्था गर्नुहुनेछ । हामीलाई तपाईंको मेहरबानीमा पूर्ण विश्वास छ ।’

यसै दौरानमा दार्जिलिङमा बस्ने दलाई लामाका भाइ ग्याल्लो थान्डुपले प्रधानमन्त्री नेहरूसँग भेट गरेका थिए । उनी आफ्नो आत्मकथा ‘द नुडल मेकर अफ कालिम्पोङ’ मा लेख्छन्, ‘मैले जवाहरलाल नेहरूसँग उनको संसद् भवनको कार्यालयमा भेटे । यो भेट इन्टेलिजेन्स ब्यूरोका प्रमुख बिएन मलिकको सहयोगमा सम्भव भएको थियो । नेहरूले मलाई पहिलो प्रश्न दलाई लामा सुरक्षित त छन् भनेर सोधेका थिए । जब मैले उनलाई दलाई लामाको भारतमा शरणको लागि अनुरोध गरेको कुरा बताए, नेहरूले तुरुन्तै ‘हुन्छ’ भने ।’

भोलिपल्ट दलाई लामा झोरा गाउँ हुँदै कर्पोला पास पुगे । यसैबीच उनीहरूमाथि एउटा विमान उड्यो । चिनियाँहरूले दलाई लामाको बारेमा थाहा पाएको हुनसक्छ भन्ने भय सम्पूर्ण टोलीमा फैलियो ।

दलाई लामाका भाइ तेन्जिङ चोग्याल लेख्छन्, ‘हामी दुई समूहमा विभाजित भएर दुई दिन अगाडि बढ्यौं । यसबीच हामीले भारतीय सीमामा पठाएका सन्देशवाहकहरू आएर हामीसँग आएर भेटे । दलाई लामालाई भारतमा प्रवेश गर्ने अनुमति पाएको खबर पहिलो पटक हामीलाई जानकारी गराए ।

भनिन्छ नि जहाँ गाह्रो त्यही साह्रो । भारततर्फ अघि बढ्दै गर्दा टोलीलाई अर्को समस्याले गाज्यो । दलाई लामा बिरामी परे । उनलाई ज्वरो आएको थियो र पेट पनि खराब भएको थियो ।

मार्च ३१ मा टोली भारतीय सीमा नजिकै पुग्यो । टोलीका केही सदस्य तिब्बतमै बस्न चाहने थिए । लामाले तिनलाई भारी मनका साथ बिदाई गरे । उनीहरू पनि दलाई लामालाई बिदाईका हात हल्लाउँदै विस्तारै ओझेल परे । त्यतिबेला दलाई लामाले विशेषगरी दुई रेडियो सञ्चालक अथर र ल्होत्सेलाई विशेष धन्यवादसहित आशीर्वाद दिएका थिए ।

३१ मार्च १९५९ मा दिउँसो २ बजे दलाई लामा हालको अरुणाचल प्रदेशको तवाङ जिल्लाको छुटाङ्मुबाट चौँरीको पिठ्युमा चढेर भारतीय भूभागमा प्रवेश गरेका थिए ।

सीमामा उनलाई पर्खिरहेका सहायक राजनीतिक अधिकारी टिएस मूर्तिले उनलाई स्वागत गरे र प्रधानमन्त्री नेहरूको सन्देश दिए । यहाँ दलाई लामासँग सामान बोकेर गएका कामदारलाई तिब्बत फिर्ता पठाउने र उनको सामान अब भारतीय कामदारले उठाउने निर्णय भयो ।

दलाई लामा र उनका नजिकका परिवारबाहेक उनको टोलीका सबै सदस्यको हतियार भारतीय प्रशासनलाई बुझाइएको थियो ।

विमानले सामान खसाले

दलाई लामाको टोलीलाई तवाङका ठूला–ठूला घरहरूमा राखिएको थियो । दलाई लामाको जीवनीमा टिथोङ लेख्छन्, ‘दलाई लामा भारत पुगेकै दिन भारतीय वायुसेनाका विमानहरूले उनका चालक दलका सदस्यहरूका लागि पिठो, जुत्ता र दैनिक उपभोग्य वस्तुका बोराहरू खसालेका थिए ।’

उनले अगाडि लेखेका छन्, ६ अप्रिलमा तवाङका जिल्ला आयुक्त हरमन्दर सिंहले प्रधानमन्त्री नेहरूको सन्देश दलाई लामालाई सुनाए, ‘म र मेरा सहकर्मीहरू तपाईंलाई स्वागत गर्दछौं र भारतमा तपाईँ सुरक्षित साथ पुग्नुभएकोमा बधाई दिन चाहन्छौं । हामी तपाईंलाई, तपाईंको परिवार र तपाईंका दलका सदस्यहरू भारतमा आफ्नो बसाइँको लागि आवश्यक सुविधा उपलब्ध गराउन पाउँदा खुसी हुनेछौं । भारतका मानिसहरूले तपाईंलाई धेरै आदर गर्छन् र तपाईंलाई स्वागत गर्न पाउँदा धेरै खुसी हुनेछन् ।’

दलाई लामा र उनको टोली तवाङबाट १८५ किलोमिटर टाढा बोम्डिलामा केही दिन आराम गर्न चाहन्थे । आसम राइफलका सिपाहीहरूले दलाई लामालाई अरुणाचल प्रदेशको जङ्गल हुँदै बोमडिलामा लगे । त्यहाँ उनलाई भारतीय सेनाले गार्ड अफ अनर दिएको थियो ।

बोम्डिलामा केही दिन बसेपछि दलाई लामा १८ अप्रिलमा तेजपुर पुगेका थिए, जहाँ उनले भारतीय भूमिबाट पहिलो पटक बयान जारी गरेका थिए ।
यसमा भनिएको छ, ‘तिब्बतका जनताले सधैं स्वतन्त्रताको तीव्र इच्छा व्यक्त गरेका छन् । तिब्बतका जनता चिनियाँभन्दा अलग छन् । हामीलाई चीनले जबरजस्ती १७ बुँदे सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारेको थियो । ल्हासामा दलाई लामाको ज्यान खतारमा थियो । त्यसैले उनले ल्हासा छोड्ने निर्णय गरे । दलाई लामा भारतीय जनता र सरकारप्रति आभारी छ कि उहाँहरूले हामीलाई स्वागत मात्रै गरेनन्, हामी र हाम्रा अनुयायीहरूलाई आश्रय पनि दिनुभएको छ ।’

दलाई लामालाई शरण दिने भारतको निर्णयपछि चीन रुष्ट बन्यो । उसले तीव्र प्रतिक्रिया जनाउँदै कडा शब्दमा असन्तुष्टि जायर गरेको थियो ।

चीनको आक्रोश र नेहरूसँगको भेट

जवाहरलाल नेहरूले दलाई लामा र उनको दललाई मसुरीमा राख्ने निर्णय गरे । १८ अप्रिलमा दलाई लामा एक विशेष ट्रेनमा मसुरीको लागि प्रस्थान गरे । यसअघि अमेरिकाले दलाई लामालाई स्विट्जरल्याण्ड वा थाइल्याण्डमा राख्ने प्रस्ताव गरेको थियो । तर त्यसपछि यो निर्णय भयो कि भारत उनको बस्नको लागि उपयुक्त स्थान हुनसक्छ । किनकि यहाँबाट उनले तिब्बतमा रहने आफ्ना आफन्तहरूसँग सम्पर्कमा रहन सक्थे ।

मसुरी पुगेपछि दलाई लामालाई बिडला हाउसमा पुर्‍याइयो, जहाँ उनी एक वर्ष बसे । २४ अप्रिलमा नेहरू दलाई लामालाई भेट्न मसुरी आए । उनीहरूबीच तनावपूर्ण वातावरणमा चार घण्टासम्म कुराकानी भएको थियो ।

दलाई लामा आफ्नो आत्मकथा ‘माई कन्ट्री, माइ पिपल’ मा लेख्छन्, ‘ बातचितको क्रममा जब मैले नेहरूसँग ल्हासाबाहिर तिब्बतको सरकार बनाउने इच्छा प्रकट गरेँ, उहाँ धेरै पटक रिसाउनु भयो । जब मैले रगत नबगाईकन तिब्बतको स्वतन्त्रताको लागि कुरा गर्ने कोसिस गरेँ, उनले टेबलमा धेरै पटक आफ्नो हात बजारे ।’

दलाई लामाले त्यस्तो इच्छा लगातार देखाए पनि नेहरूले यो सम्भव छैन भनीे खारेज गरिदिए । उनले तिब्बतको तर्फबाट लड्न सम्भव नहुने कुरा स्पष्टसँग बताएका थिए । नेहरूले भनेका थिए, ‘यस्तो तरिकाको सुझावले पनि हाम्रो अभियानलाई धक्का दिनेछ । अहिलेको समयमा तिब्बतप्रति हाम्रो सहानुभूतिको मतलब यो होइन कि हामीले चीनको विरोधमा त्यसको गतिरोधमा मद्दत गर्न जाँदैछौं ।’

उता, चीनले दलाई लामा भागेको खबर पाएलगत्तै तिब्बती जनतालाई अत्याचार गर्न थाल्यो । मार्च १९ मा हजारौं महिला चीनको विरुद्धमा नारा लगाउँदै दलाई लामाको समर्थनमा सडकमा उत्रिए । सोही रात चीनले नौरबुलिंग दरबारमा गोली चलाएको थियो । यो क्रममा केही गोली दलाई लामाको निजी निवासमा पनि खसेका थिए ।

धेरै ठाउँमा दलाई लामालाई समर्थन गर्ने मानिसहरूमाथि गोली चलाइएको थियो । चिनियाँ गोलाबारीबाट १५ औं शताब्दीमा पहाडको चुचुरोमा बनेको तिब्बती मेडिकल कलेज पूर्ण रूपमा ध्वस्त भएको थियो ।

२३ मार्चमा, चिनियाँ सैनिकहरूले पोताला दरबारमा चिनियाँ झण्डा फहराए । २४ मार्चसम्म तिब्बती जनताको विद्रोह पूर्ण रूपमा कुचिएको थियो । मार्च २८ मा तिब्बतको स्थानीय सरकारलाई बर्खास्त गरियो र चीनको विरोध गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिइयो ।

चीनले दलाई लामा बेपत्ता भएपछि प्रतिक्रियावादी शक्तिले उनलाई जबरजस्ती अपहरण गरी भारत लगेको बताएको थियो । सेप्टेम्बर १९५९ मा दलाई लामाले दिल्लीमा नेहरूसँगको भेटमा तिब्बतको मुद्दा संयुक्त राष्ट्र संघमा उठाउन माग गरे, जसलाई नेहरूले ठाडै अस्वीकार गरे ।

दलाई लामाले भारतमा शरण लिएपछि करिब ८० हजार तिब्बतीहरूले उनलाई पछ्याउँदै भारत आए । उनीहरूलाई तेजपुर नजिक मिसामारी र भुटानको सीमा नजिकै बक्सदुवार शरणार्थी शिविरमा राखिएको थियो ।

पछि भारत सरकारले दलाई लामा र उनका साथीहरूलाई धर्मशालामा राख्ने निर्णय गर्‍यो ।

दलाई लामालाई भारतमा शरण दिनुको दूरगामी परिणाम


दलाई लामालाई भारतमा शरण दिएदेखि भारत–चीन सम्बन्धमा तिक्तता आउन थाल्यो । भारतका आम जनताको सहानुभूति पनि दलाई लामाप्रति थियो । तिब्बतमा भएको घटनाको विरोध गर्दै मुम्बईस्थित चिनियाँ वाणिज्य दूतावास अगाडि मानिसहरूले भवनको भित्तामा रहेको माओत्सेतुङको तस्विरमा टमाटर र सडेको अण्डा फालेका थिए । दिल्लीस्थित चिनियाँ दूतावासले विदेश मन्त्रालयलाई लिखित् नोटमा यसलाई चिनियाँ नेताको ठूलो अपमान भनेको थियो ।

भोलिपल्ट चिनियाँ उपविदेशमन्त्री जी पेङ फेईले बेइजिङका लागि भारतीय राजदूत जी पार्थसारथीलाई फोन गरी चीनको प्रिय नेता र राष्ट्र प्रमुखको अपमान गरेकोमा कडा आपत्ति जनाएका थिए । त्यसपछि भारत–चीन सम्बन्ध बिग्रँदै गयो र सन् १९६२ को भारत–चीन युद्धमा परिणत भयो ।