NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मधेसमा तालमेल गर्ने तयारीमा सत्तारुढ दल

जनकपुर । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज बस्न लागेको छ ।

चुनावी तालमेलका विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बैठक बस्न लागेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । बैठकमा सत्ता गठबन्धनमा आबद्ध जसपासहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष तथा केही शीर्षनेता सहभागी हुने अध्यक्ष यादवले बताए ।

बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिने लगायतका विषयमा छलफल हुने जनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ । सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ । मधेस प्रदेशमा एक महानगरपालिकासहित १३६ स्थानीय तह छन् ।