NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कार्यसम्पादनमा अब्बल धुर्कोट गाउँपालिकामा फेरि पनि कांग्रेस र माओवादीको गठबन्धन, एमालेलाई कठिन

काठमाडाैं । गुल्मीको धुर्कोट गाउँपालिकामा पनि चुनावी माहोल सुरु भएको छ । विगतमा कांग्रेस र माओवादी केन्द्र मिलेर यो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष जितेका थिए । अध्यक्षमा माओवादीका भूपाल पोखरेल र उपाध्यक्षमा कांग्रेसका शिवबहादुर खत्रीले जिते । अहिलेका जनप्रतिनिधि फेरि मौका पाए हुने भनेर बसेका छन् ।

विगतमा दोस्रो स्थानमा रहेको एमालेले यसपटक बाजी मार्ने भन्दै सांगठनिक अभियान चलाइरहेको छ । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट पाँचभित्र परेको यो गाउँपालिकामा धेरै राम्रा काम भएका छन् । अहिलेको नेतृत्वले बाँकी रहेका काम पूरा गर्न अझै एक कार्यकाल आफू नै चाहिने तर्क गरिरहेको छ ।

गाउँपालिकाको जनसंख्या र भौगोलिक अवस्था

लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साबिकका नयाँ गाउँ, पीपलधारा, हाडहाडे, जैसीथोक, वस्तु, धुर्कोट, रजस्थल र वाग्ला गरी सातवटा गाविस समावेश गरिएको छ । ८६.३२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ९९ रहेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार यहाँ १८ हजार आठ सय ७० मतदाता छन् । गाउँपालिकाको जनसंख्याभन्दा मतदाता बढी देखिएका छन् । अन्यत्र बसोवास गर्ने तर मतदाता नामावलीमा यही गाउँपालिकामा नाम रहेका कारण यस्तो देखिएको अध्यक्ष पोखरेल बताउँछन् । यस गाउँपालिकाको पूर्वमा रेसुंगा नगरपालिका, पश्चिममा मदाने गाउँपालिका, उत्तरमा मालिका र इस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन् । सातवटा वडा रहेको धुर्कोट गाउँपालिकाको केन्द्र वरबोट भन्ने स्थानमा राखिएको छ ।

गत चुनावको मत परिणाम

गत चुनावमा यो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका भूपाल पोखरेलले पाँच हजार एक सय १६ मत पाएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण घिमिरेले चार हजार सात सय ५३ मत ल्याए । उपाध्यक्षमा कांग्रेसका शिवबहादुर खत्रीले चार हजार नौ सय १९ मत ल्याएर जिते भने उनका प्रतिद्वन्द्वी एमालेका रिता काउछा थापाले चार हजार आठ सय ४२ मत ल्याइन् । सातवटा वडामध्ये कांग्रेस र एमालेले तीन–तीनवटामा जित निकाले । माओवादी केन्द्रले एउटा मात्रै वडा जित्यो ।

सम्भावित समीकरण र परिणाम

विगतको परिणाम हेर्दा यो गाउँपालिकामा एमाले सबैभन्दा ठूलो दल देखिन्छ । गठबन्धन नभए यसपटक एमालेले चुनाव जित्ने सम्भावना छ । तर, गठबन्धन बन्यो भने फेरि पनि एमाले समस्यामा पर्नेछ । चुनावमा कांग्रेस र माओवादीका लागि गठबन्धन नै मुख्य हतियार बन्ने निश्चित छ । तर, गठबन्धन गर्दा यसपटक कांग्रेसले अध्यक्षमा दाबी गर्न सक्छ । किनकि गाउँपालिकामा माओवादीभन्दा कांग्रेस बलियो छ । तर, अध्यक्ष पोखरेलको व्यक्तित्वका कारण माओवादी हाबी हुने गरेको छ । संघ र प्रदेशमा पनि पहुँच बनाएका पोखरेलले फेरि पनि उम्मेदवारीमा आकांक्षा राखेका छन् । कांग्रेससँग सहमति बनेमा उनी बलियो उम्मेदवार हुन् । एक्लाएक्लै लड्ने अवस्थामा भने एमालेले बाजी मार्न सक्छ । तर, अध्यक्ष पोखरेलले राम्रो काम गरेका कारण व्यक्तिगत रूपमा पनि धेरै मत तान्न सक्ने हैसियत बनाएका छन् । एमाले विभाजनको असर यो गाउँपालिकामा कम छ । केही युवा एकीकृत समाजवादीतिर लागेका छन् । शिक्षित मतदाता बाहुल्य रहेका कारण यहाँ कामका आधारमा पनि धेरै मत जाने गरेको छ । सांगठनिक रूपमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो अवस्थामा छन् । अन्य दलको खासै प्रभाव छैन । त्यसैले गठबन्धन बने फेरि एकपटक यहाँ एमालेले निराश बन्नुपर्ने हुन सक्छ ।

अध्यक्षका दाबेदार

गाउँपालिकामा एमालेबाट कृष्ण घिमिरे, लोकबहादुर केसी र नारायण पोखरेल ठूला नेता हुन् । अघिल्लोपटक कम मतान्तरले हारेका घिमिरे एमालेबाट फेरि पनि बलियो दाबेदार हुन् । पराजित भए पनि उनी गाउँपालिकामा संगठन निर्माणमा सक्रिय छन् । केसी र पोखरेलले पनि यसपटक अध्यक्षमा उम्मेदवार हुने आकांक्षा राखेका छन् । कांग्रेसबाट महेन्द्र भण्डारी र शिवबहादुर खत्री अध्यक्षका मुख्य दाबेदार छन् । युवा नेता भण्डारी विद्यार्थी राजनीतिबाट आएका हुन् । विभिन्न संघसंस्थामा समेत आबद्ध रहेका भण्डारीले लामो समयदेखि धुर्कोटमा राजनीति गरिरहेका छन् । तालमेल गर्दा अध्यक्ष पाए कांग्रेसबाट यी दुईमध्ये एक उम्मेदवार हुनेछन् । त्यसमा पनि भण्डारीको सम्भावना बढी देखिन्छ । माओवादीबाट अहिलेका अध्यक्ष पोखरेल नै मुख्य दाबेदार हुन् । उनले दोहोरिने आकांक्षा पनि राखेका छन् । यदि माओवादीले अध्यक्ष पाए उनी नै फेरि उम्मेदवार बन्नेछन् । अध्यक्ष नपाए प्रदेश सभा सदस्यका लागि प्रयास गर्ने उनको तयारी छ ।

बुद्धिजीवीको नजरमा जनप्रतिनिधिको काम

ऋषिराम पाण्डे, स्थानीय बुद्धिजीवी– यो क्षेत्रमा अहिलेका जनप्रतिनिधिले अत्यन्तै राम्रो काम गरे । यहाँ प्रतिपक्षभन्दा पनि सबै मिलेर काम गरेको देखिन्छ । आम नागरिकले स्थानीय सरकार भएको महसुस गरेका छन् । धेरै मतदाताको चाहना अहिलेकै पदाधिकारी दोहोरिए हुन्थ्यो भन्ने नै छ । राम्रो काम गरेर मात्रै नहुने राजनीतिमा पार्टीगत समीकरणले पनि प्रभाव पर्छ । राम्रोलाई पनि खुलेर प्रशंसा गर्न सक्ने वातावरण छैन । अब को उम्मेदवार हुन्छ र कसले जित्छ यसै भन्न सकिने अवस्था छैन ।