NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुर ।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउनु आवश्यक रहेको बताएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले महिलालाई सक्षम र योग्य नबनाएसम्म प्रदेश र समाज समृद्ध बन्न नसक्ने बताए ।

समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सबल र योग्य बनाउन सरकारले हरेक निकायमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गरे । उनले प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको दाबी गरे ।

“छोरी जन्मिएपछि आमाबुबा दु:खी हुने र छोरा जन्मिएपछि खुसी मनाउने परिपाटी देखिएको छ”, मुख्यमन्त्री राउतले भने, “समाजमा छोरीलाई हेरिने दृष्टिकोण परिवर्तन ल्याउन र छोरीलाई पनि छोरासरह सक्षम बनाउन छोरी बीमा कार्यक्रम, साइकल वितरण, लोकसेवा कक्षा सञ्चालनलगायत कार्य गर्दै आएको छ ।” प्रदेशको आठवटै जिल्लाका आठ हजार छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको मुख्यमन्त्री राउतको भनाइ थियो ।

छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन ल्याउन र छोरीलाई पनि सक्षम बनाउन सरकारले विधेयक ल्याएको उल्लेख गर्दै उनले विधेयक पारित गर्न आग्रह गरे ।